दिर्घरोगी, सुत्केरी र गर्भवती महिलाले स्वास्थ्य सेवा पाएनन्

रामेछाप । जिल्लामा कोरोना महामारी बढेसँगै यतिबेला अधिकासं सरकारी तथा निजि अस्पतालहरुमा कोरोना संक्रमितका बिरामीहरुले बेड भरिभराउँ भएपछि दिर्घरोगी, गर्भवती महिला र सुत्केरी महिलाहरुले सहज रुपले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण जिल्लाका गाउँगाउँबाट कोरोना संक्रमित बिरामीहरु उपचारको लागि सरकारी र निजी अस्पतालमा आउन थालेपछि अस्पतालहरुमा कोरोना संक्रमितको संख्या बढेको हो । कोरोना संक्रमित बढी मात्रामा अस्पतालमा उपचार लिन आउने भएपछि अन्य बिरामीहरु अस्पतालमा उपचार लिन आउनेको संख्यामा कमी भएको छ ।
कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै अस्पतालमा उपचार लिन आउने अधिकासं बिरामीहरु कोभिडको मात्रै भएको तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए । उनले भने– अस्पतालमा पहिला अधिकासं बिरामीहरु दिर्घरोगी, गर्भवती र सुत्केरी महिलाहरु र अन्य विभिन्न रोगले बिरामी भएर अस्पतालमा उपचार लिन आउँथे । तर अहिले कोरोनाका बिरामी बढी आउन थालेपछि अन्य बिरामीहरु उपचार लिन अस्पताल आउँन छाडेको अध्यक्ष घिमिरेले बताए ।
दमको रोगवाट ग्रसित भएर उपचार लिन अस्पताल पुगेका मन्थली नगरपालिका वडा न २ कठजोरका एकवहादुर बस्नेत उपचार बिनै घर फर्किएका छन् । उनले भने– अस्पतालमा जचाउँन गाको थिए, अधिकासं बिरामी कोरोनाका मात्रै भर्ना भएका रहेछन् । कोरोना सर्ला भन्ने डरले उपचार नै नगराई क्लिनिकवाट औषधी किनेर घर फर्किएको बताए ।
दैनिक रुपमा कोरोना संक्रमितको दर बृद्धि भएकाले जिल्ला अस्पताल रामेछापले जिल्लाका अधिकासं स्वास्थ्य संस्थाहरुमा उपचार लिन आउने गर्भवती र सुत्केरी महिलाहरुलाई भरसक अस्पतालमा नआउन आग्रह गरेको छ । सुत्केरी र गर्भवती महिलाहरुको स्वास्थ्यमा जटिल समस्या आएको खण्डमा मात्रै अस्पताल आउन सवै गर्भवती र सुत्केरी महिलाहरुलाई जानकारी गराएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्रकुमार कर्णले जानकारी दिए ।
उनले भने– यसअघि जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि ८ वटै स्थानिय तहहरुमा रहेका वर्थिङ्ग सेन्टरवाट गर्भवति महिला र सुत्केरी महिलाहरुलाई सेवा प्रदान गर्दै आएकोमा कोरोनाले गर्दा केही उनीहरुलाई उपचार लिन समस्या भएको हुनसक्ने डा.कर्णले बताए ।
अस्पतालहरुमा कोरोना संक्रमितहरु आउने भएपछि गर्भवती र सुत्केरी महिलाहरु उपचारको साटो घरमा बस्न विवश छन् । त्यस्तै दिर्घ रोगीहरुले समेत सहज तरिकाले स्वास्थ्य सेवा पाउन सकेका छैनन् । अस्पतालका चिकित्सकहरु बढी मात्रामा कोरोना संक्रमितहरुको उपचारमा व्यस्त रहेकाले अन्य रोगीहरुको उपचारमा उनीहरुले त्यति ध्यान समेत दिएका छैनन् ।
रामेछापमा जिल्ला अस्पताल, तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, मन्थली पोलिक्लिनिक गरि चार वटा अस्पतालहरु रहेका छन् । यी सवै अस्पतालहरुमा यतिखेर कोभिडका बिरामीहरुले अस्पतालका वेडहरु खचाखच भरिएका छन् । यसवाहेक गाउँगाउँमा रहेका स्वास्थ्यकेन्द्रहरुमा समेत कोभिडका बिरामीहरु बढी मात्रामा उपचार लिन जाने गरेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।