गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस नेता पोखरेल नियुक्त

अनु महर्जन
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेता पोखरेललाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी दिए । प्रदेश प्रमुखको कार्यालयले दिएको जानकारी अनुसार पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उलेख गरेको छ । मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।
स्रोतका अनुसार गुरुङको मुख्यमन्त्री दाबीप्रति एमालेमै असन्तुष्टि थियो । माधवकुमार नेपाल समूहका इन्द्रलाल सापकोटा संगै केपी शर्मा ओली पक्षका महेन्द्र थकाली र रोशन थाहा मगरले पनि गुरुङको दाबीमा असन्तुष्टि जनाएका थिए । मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले आजै सपथ ग्रहण गराउने भएकी छन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शुक्रबार दाबी पेश गर्न २४ घन्टाको समय दिएका थिइन् ।
शनिबार दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरिएको थियो । यसबीचमा निवर्तमान मुख्यमन्त्री गुरुङले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर, शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ सांसदले नयाँ सरकार गठनका लागि बहुमत पुर्याएर प्रदेश प्रमुखलाई दाबी पत्र बुझाइसकेका थिए ।

Facebook Comments Box