काठमान्डौंमा सुन चोरेर भागेका मगर रामेछापबाट पक्राउ

रामेछाप । राजधानी काठमाण्डौंका विभिन्न स्थानमा लाखौं मूल्य बराबरको सुन चोरेर फरार रहेका एक युवकलाई रामेछाप प्रहरीले रामेछापवाट पक्राउ गरेको छ ।

काठमाण्डौंमा सुन चोरेर फरार रहेका रामेछापको दोरम्वा गाउँपालिका वडा नं ४ गौश्वाराका ३८ बर्षिय सञ्जय थापामगरलाई प्रहरीले उनकै घर गौश्वारावाट पक्राउ गरेको हो । थापामगरले करिव ५ महिना अघि काठमाण्डौंका एक व्यक्तिको घरमा ६० लाख मूल्य बराबरको सुन र नगद चोरी गरेका थिए । घटनापछि पिडीतले प्रहरी समक्ष किटानी  जाहेरी दिएका थिए ।

चोरी पछि प्रहरीमा आफ्नो नाममा किटानी जाहेरी परेको थाहा पाएपछि मगर राजधानीवाट भागेर आफ्नै गाउँमा आएर बस्दै आएका थिए । उनी गाउँमै बस्दै आएको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा पुगेपछि उनलाई पक्राउ गरेर पठाउन जिल्ला प्रहरी कार्यालय रामेछापलाई पत्राचार गरेको थियो ।

महानगरिक प्रहरी अपराध महाशाखाको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापवाट खटेको प्रहरी टोलीले शुक्रवार उनकै घरवाट पक्राउ गरेको हो । पक्राउ परेका थापामगरलाई शुक्रवार राती नै महानगरिक प्रहरी अपराध महाशाखामा काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box