उद्योग बाणिज्य संघको नेतृत्वमा बजार सरसफाई

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघ रामेछापले प्रजातन्त्र दिवसको पूर्वसन्धया पारेर बिहिवार बिहान मन्थली बजार सरसफाई गरेको छ ।
रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको बजार सरसफाई कार्यक्रम मन्थली नगरपालिकाको वडा नं–१ को कटहरवोट देखी बसपार्क, ट्राफिक बिट हुँदै तीनलाल पार्क र हाटेचौरसम्म सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारी र कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको समेत उपस्थिती रहेको थियो ।


उद्योग वाणिज्य संघले मन्थली बजारलाई पूर्णरुपमा सफा र सुन्दर बनाउन आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु समेत गर्दै जाने रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नबिनकुमार केसीले जानकारी दिए । उनले भने– यसअघि पनि पटक–पटक मन्थली बजार सरसफाईको लागि रामेछाव उद्योग बाणिज्य संघका पहलमा थुप्रै किसिमका कार्यक्रमहरु भएका छन् । बजार सफा राख्न सबै बजारवासीको पनि उतिकै महत्वपूर्ण जिम्मेवारी भएकाले सवैजनालाई कार्यक्रममा सहभागी गराइएको अधिकृत केसीले बताए ।
सरसफाई कार्यक्रम समापनको अवसरमा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले मन्थली बजार पूर्णरुपमा सफा राख्न आम बजारवासीले आ–आफ्नो घरआँगन र सडक सफाईमा ध्यान दिनु जरुरी रहेको भन्दै सरसफाई गर्दा निस्एिको फोहोरलाई यत्रतत्र नछरी व्यवस्थित तवर राख्न र फोहोर उठाउन आउने गाडी आएपछि मात्रै घरवाट निकाल्न बजारवासीलाई आग्रह गरे ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशवब्रसाद घिमिरेले बजार सरसफाई कार्यक्रममा सहभागी भई सहयोग पुर्याएको भन्दै सहभागीहरुप्रति कृतज्ञता व्यक्त गरे । उनले भने– सबै जनाले आ–आफ्नो घर अगाडी फोहोर मैला नगर्ने हो भने बजार सधै सफा हुन्छ, भएको फोहोर मैला जसको घर अगाडी छ, त्यो घरधनीले सफा गर्ने हो भने बजार सधै सफा र स्वच्छ रहन्छ ।

Facebook Comments Box