आगलागि पिडीतलाई सिडियोले दिए राहात

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं–२ ठोसेमा गत सोमवार राती घरमा आगलागी भई ज्यान गुमाएकी ८० वर्षिय बृद्धा पासाङलेकी शेर्पाका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले घरमै पुगेर राहात रकम प्रदान गरेका छन् ।
गत सोमवार राती घरको अँगेनामा बालेको आँगो सल्कदै गई शेर्पाको घर पूर्णरुमा जलेको थियो भने सोही आँगोमा परि ८० वर्षिया शेर्पाको ज्यान गएको थियो । शुक्रवार आगलागीमा परि ज्यान गुमाएकी शेर्पाको घरमै पुगेर जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शर्माले मृतक परिवारका सदस्यालाई २ लाख १५ हजार रकम प्रदान गरेका छन् ।
त्यसवाहेक पिडीत परिवारलाई नेपाल रेडक्रस सोसाइटीवाट लत्ता कपडा, त्रिपाल, भाँडाकुडा लगाएतका सामाग्रीहरु समेत प्रदान गरिएको छ । त्यस्तै गोकुलगंगा गाउँपालिकाको कार्यालयको तर्फवाट मृतकका परिवारलाई ५० हजार नगद र खाद्यान्न लगाएतका सामाग्रीहरु वितरण गरेको थियो ।
घर आँगलागीमा परि ३ लाख नगद र अन्य घरायसी सामाग्री गरि करिव ५ लाख रुपैयाँ बरावरको धनमाल जलेर नष्ट भएको थियो । पिडीत परिवारलाई राहात दिन रामेछापका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढंगाना, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरु समेत पिडीतको घरमा पुगेका थिए ।