बोन्साई हुर्काएर छायाँको अपेक्षा ?

विचार / ब्लग

 पेशल आचार्य
साहित्यकार मित्र विवश वस्तीजीले बोन्साईको तस्वीरका साथ माथिको वाक्यांश लेखेर पोष्ट गरेपछि अर्का मित्र साहित्यकार माधव सयपत्रीजीले बोन्साईका बारेमा जिज्ञासा राख्नु भयो ।
वहाँले सो वृक्ष कलालाई ‘उसो त बोन्साई भनेको सीमित माटो, सीमित परिवेश र सिमित हावापानीमा रमाउने वृक्षांश हो ।’ भनेर जवाफ फर्काउनासाथ मेरा मनमा आज किन यही विषयमा लेख नलेख्ने भन्ने सोच आयो र मैले लेखक वस्तीजीसँग आफू सोही वाक्यांशमा लेख लेख्ने भएकाले शीर्षक सापटी मागेँ ।
वहाँले स्वीकृतिका शब्दचरु होम्दै भन्नु भयो –‘अघि बढ्नुस् ।’
‘बोन्साई’ । ‘यो जापानी कला हो । पहिला चीनबाट शुरू भए पनि पछि भने जापानिजहरूले यो कलालाई पछ्याए । एउटा वृक्षबाट पनि कलात्मक सिर्जना पस्किन सकिन्छ भन्ने उत्कृष्ट उदाहरण हो, बोन्साई ।’
तर मेरो आशय भने अलि फरक छ ‘यतिखेर नेपाली शासन व्यवस्था बोन्साई वृक्षको नियति भोगिरहेको छ ।’ यो मैले लेखेको प्रतिक्रिया भयो । कुरोको चुरो यहीँबाट शुरू गरेँ । अहिले नेपाली राजनीतिमा क्रियाशील अभिभावक भनिएका राजनीतिक पार्टीहरू नै बोन्साईका आवरणमा छन् । छन् त सबै पार्टीहरूका व्यवस्थित संगठन छन् । नेता, नीति, कार्यक्रम, विचार र कार्यकर्ताहरूका लहर पनि छन् । नेपाल कम्युनिष्ट पार्टीका देशैभरि गरी तीसौंै लाख पार्टी कार्यकर्तारु छन् । सत्तरी लाख भोटर र त्यतिकै संख्यामा शुभेच्छुकहरू पनि छन् ।
अर्कातिर नेपाली काँग्रेसकै पनि संसदमा केही कम सिट उपस्थिति भए तापनि बीसौं लाख पार्टी कार्यकर्ता देशैभरि छन् । विचारमा सपाट खालको वीपीको विचार र प्रजातान्त्रिक समाजवादको अवधारणा छ । पार्टी छ । विधान छ । नेता र कार्यकर्ताहरूको विशाल पंक्ति पनि छ । दर्शन, कार्यक्रम र विचारको कुनै कमि छैन ।
यसैगरी संघीय समाजवादीदेखि लिएर विवेकशील, साझा, नेमकिपा, राप्रपा र अन्य झिना मसिना दलहरूको पनि परिचयका मुखौटाहरू छन् । नीति, विचार र अनेक स्टायलका दर्शनहरू त हुने नै भैगए ।
तर के अहिलेको यो कोरोना महामारीमा देशमा पार्टीहरू देश र जनताका लागि अभिभावकको भूमिकामा छन् त ? प्रतिपक्षले आफ्नो निष्पक्ष धर्म निभाएको छ त ? नागरिक समाज, बौद्धिक वर्ग, शिक्षक, प्राध्यापक, पत्रकार र वकिलका संघसंगठनहरूले देशमा रहेका गरिब, गुरुवा, दीनदुःखी, छेउलागेका वर्ग, दलित, मधेशी र सम्पूर्ण मुक्तिकामी चेतनशील जनतका नाममा नयाँ, सिर्जनशील, भरथेगको काम गर्ने सोच ल्याएर मृत्युको नौटङ्कीका बीच केही राहत र ढाडस दिने कामहरू गरे त ?
गरेनन् । किन गरेनन् भन्दा यी पार्टीहरू अहिले जापानीज बोन्साई कलाझैँ चाउरिएका छन् । टाक्सिएका छन् । मुर्झाएका छन् र आफैँभित्र गुटउपगुट निर्माण गरेर बेपत्तासँग दायित्वबाट क्रमशः पन्सिरहेका छन् । अहिलेको नेपालमा धेरै ठूलो कोलाहल छ । पहिलो कोलाहल देशैभरि ६६२ वटा त विविध हाँच र शक्तिका सरकारहरू क्रियाशील छन् । तिनीहरू अहिले मात्र दुइटा शब्द र एउटा योजकको उल्झनमा परेका छन् –समृद्धि र विकास ।
नेपालका अहिलेसम्म सत्तामा गएका, जान खुट्टा उचालेका, नगएका, भविष्यमा जान चाहनेहरू जो सुकै हुन् तिम्रो देशले अबको १०,२०, र ३० वर्षमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, पूर्वाधार विकास, पर्यटन, कृषि, उद्योगधन्दा, प्रशासन र न्यायका क्षेत्रमा केके विकास गर्नेछन् ः? तिमीहरूले सो कुराको खाका बनाएर राखेका छौ कि छैनौ ? देशका स्रोतहरूलाई अत्यधिक उपयोग गर्दै आगामी दशकमा देशलाई भोक, रोग र शोक मुक्त बनाउनु केके उपाय अवलम्बन गरेका छौ भनेर मसक्क आँटेर प्रश्न सोध्ने हो भने तिनीहरूको अनुहार नीर घोलिएको पानीजस्तो हुन्छ । नीलो हुन्छ ।
यस्तो अवस्थामा हामीले बोन्साईको स्मरण गर्नु निकै सान्दर्भिक भएको छ अहिले । बोन्साई कला होला रे तर त्यसले घामको राप छेक्न र सिँयाल दिन सक्दैन भने त्यो कलाले कुनै पनि नेपालीको पेट भरिँदैन ।
अहिले नेपालीलाई यी खाल खालका नेता, प्रकार प्रकारका दार्शनक अनि किसिम किसिमका विचारहरू केवल सोकेसमा सजाउने गुडिया मात्र भएका छन् । जो आँखाका लागि चिटिक्क परेर सजिएका छन् । भुँडीमा मुसा कुदेका बेला कुनै काम नलाग्ने ।
राजधानीमा केही सामाजिक संघसंस्थाहरू मिलेर गरिब गुरुवालाई निःशुल्क भोजनादि कार्य गरेका थिए । काठमाडौँ महानगरपालिका र मेयर विद्यासुन्दर शाक्यले देखि सहेनन् । उनले त हाकाहाकी नै भने –‘खाना नै खुवाउने हो भने पार्टी प्यालेसमा लगेर खुवाउन सकिन्छ । यसो गर्दा महानगर र देशको इज्जत रहन्छ । खुलामञ्चमा खुवाएको खानाले देशकै बेइज्जत भयो ।’
पार्टी प्यालेसको कुरा आउने बित्तिकै त्यहाँ कमिसन र आफ्ना मानिसलाई दिने कामको कुरा हुन्छ । तर अहिले खुलामञ्चमा गएर खाना दिने र खाना खाने मानिसले केही गल्ती महानगरको र केही गल्ती देशको पनि गरेका छैनन् भने माझै मुखले महानगरका पिता भएका र देशको मुटु राजधानीका अभिभावकले जनता तँ भोकै बस् । खाना नखा भन्न मिल्छ । यो त सरासर बाँच्न या खान पाउने मानवअधिकारको सोझै उलङ्घन भएन र भन्या ?
हामीले चुनाव जिताएर पठाएका नेता, कार्यकर्ता र शासकहरूको बुद्धि किन यसरी बिग्रिएको हो । के जनतालाई तत्तत् महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूले काम र माम दिन सक्दैन । यदि सक्दैन भने हामीले दुःख गरेर ल्याएको यो लोकतन्त्रले कसको सेवा गरिरहेको छ त्यो अब विचार गर्ने बेला आयो ।
अहिले जनस्तरबाट स्थानीय समुदायलाई निरन्तर दवाव दिएर राम्रो काम गराउने बेला छ । अहिले देशले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा मात्र राम्रो काम गर्न सक्यो भने त्यो आफैँ सार्वजनिक शिक्षाको बाटो भएर, सार्वजनिक स्वास्थ्यको बाटो भएर र सार्वजनिक यातायातको बाटो भएर देशमा समृद्धि र विकास लिएर आउँछ । यसमा दुई मत छैन ।
साहित्यकार मित्र विवश वस्तीजीको फेसबुक पोष्टको आशय पनि हल्का श्याम व्यङ्ग्यका रुपमा देशकै वर्तमान बेथिति, अराजकता र कोलाहललाई देखाइएको पाएँ । हामी नेपाली जनताले आम रुपमा शान्ति, सुरक्षा, अमनचैन र स्वतःस्फूर्त रुपको विकास कहिले पाउने ?
कि हामीले बोन्साई लोकतन्त्रको बिरुवालाई बचाएर बिना ताप, विना सिँयाल पानी र मल हालिरहनु पर्ने हो ? प्रश्न यतिखेर यक्ष प्रश्नका रुपमा खडा भएको छ ।
ड्ड

Facebook Comments Box
ad