मेरो देश

विचार / ब्लग

म मेरो देशलाई श्रद्धा र आदरपूर्वक दण्डवत् गर्न चाहन्छु । मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ । रामायण भन्ने महाकाव्यमा भनिएको छ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ (जन्म दिने आमा र जन्मिएको धर्ती स्वर्गभन्दा पनि प्यारा लाग्छन्) । मलाई मेरो देशप्रति अति माया र ममता छ किनकि म यो देशमा जन्मन पाएँ । मेरो देश नभएको भए म कहाँ जन्मिन्थे कहाँ ? मलाई मेरो देशको नागरिक हुन पाएकोमा आफैँलाई गर्वानुभूति भएको छ ।
म मेरो देशका साथै मेरा बाआमालाई अति नै आदर गर्छु । मेरा बाआमा नेपाली भएकैले म नेपाली हुन पाएको हूँ । मलाई मेरो देशको सुन्दरतामा गर्व गर्न मन लाग्छ । मेरा सबै गुरुहरू भन्नुहुन्छ मेरो देश संसारकै अति नै राम्रो देश हो । यहाँ संसारमा नपाइने कतिपय प्राकृतिक सुन्दरता पाइन्छन् । मेरो देश भौगोलिक रूपमा सानो भए पनि मेरा लागि भने यो अति नै ठूलो छ । मलाई मेरो देशका हिमाल, पहाड र तराईका सुरम्य भूभागहरू असाध्यै मन पर्छन् । मलाई मन पर्ने नदीनाला, हिमाल, गुफा, ताल, कुण्ड, हिमनदी, सम्म चौरहरू र वनजङ्गल नै हुन् ।
मैले बर्दियाको काँसेघारीमा झ्याउरे गाउँने विचार गरेको छु । म इलामको चियाबारीमा उँधौली उँभौलीको गीत गाउँन चाहन्छु । मलाई काठमाडाँैको वसन्तपुरमा नेवारी संस्कृतिमा रमाएर इन्द्रजात्रा हेर्ने धोको छ । म तराईका सम्म फाँटमा बैशाखमा सिरुवा मेला घुम्न चाहन्छु । म मेची खोलामा गएर तरबुजा खान चाहन्छु । मलाई भद्रपुरको बुधबारे हाटमा गएर राजवंशीनी दिदीले पकाएको भक्का खान मन लागेको छ । मलाई सप्तरी बरमझियाका पेडाले भुतुक्कै बनाएका छन् । मलाई चितवनको भरतपुरमा गएर सुस्वादिष्ट तास (मासुको एक परिकार) खाने चौचौ रहर छ । भक्तपुरको जुुजुधौ त मेरो मुखमा झुण्डिएको धेरै भयो । मलाई त्रिशुलीका माछा र ककनीको कुइरो लागको दृश्य अति नै मन पर्छन् । म नगरकोटबाट सूर्योदयको दृश्य हेर्न अति मन पराउँछु भने इलामको श्रीअन्तु डाँडाबाट पनि मलाई सूर्योदय र सूर्यास्तको दृश्यावलोकन अति नै मन पर्छ । मलाई रसुवाको धुन्चेदेखि माथि लेकैलेक हिँडेर गोसाइकुण्ड पुग्न मन छ अनि मलाई जीवनमा एकपटक मुस्ताङ्को मुक्तिक्षेत्र र सुर्खेतको क्राँक्रेबिहार पुग्ने लालसाले अति नै सताएको छ ।
म लुम्बिनीमा गएर ओम मणि पद्मे हूँ भन्दै बुद्धको मन्त्रोच्चारण गर्न चाहन्छु । मलाई नबलपरासीमा गएर भृकुटी कागज कारखाना आँखा भरिभरि हेर्ने रहर छ । म बारा र पर्सा जाँदा मदरसामा गएर नमाज पढ्न चाहन्छु । म जाउलाखेलको क्याल्भरी चर्चमा शनिबार शनिबार बाइबल पढ्न मन पराउँछु भने मलाई कन्काइको तीरमा रहेका देवधाममा गई गुरुकूलमा वेदका ऋचा सारस्वर सहित गाउँने अतुल इच्छा छ । म ताप्लेजुङ्मा गई सिरिजङ्गाको सालिकमा उभिएर मुन्धुम वाचन गर्न रूचाउँछु । मलाई लमजुङको घले गाउँमा गएर गुरुङ भेषभुषामा रोदी गाउँने धोको छ । मलाई धरानको चारकोसे झाडीमा सालका पात पिपिरी बजाउँदै हिँड्न जति मजा आउँछ त्यति नै मजा सप्तकोसीका जलकपुर माछा खाँदा आउँछ । मलाई कोसीटप्पु वन्यजन्तु आरक्षभित्र हात्तीमा चढेर अर्ना हेर्ने अति नै रहर छ । म चितवनको सौराहामा वर्षाको सिमसिमे पानीमा हौदा कसिएका हात्तीमा चढेर जङ्गल सयर गर्न र गैँडा हेर्न चाहन्छु । मलाई मकालु वरुण वन्यजन्तु आरक्षमा गएर हाब्रेको दृश्यावलोकन गर्न मन लागेको छ । मेरो जीवनमा एक पटक सोलु गएर सेर्पीनी दिदीको आङ्गीमा सजिएर छम्छम् सेलोको भाकाभित्र स्वरलहरी घन्काउने धोको छ ।
मलाई धनकुटा र कास्की पोखराका सुन्तला जति मिठा लाग्छन् त्यति नै सिन्धुली र रामेछापमा जुनारहरू रसिला लाग्छन् । मैले नुवाकोटको स्ट्राबेरीलाई कहिले बिर्सनु हुँदैन भने धादिङको काफललाई पनि म त्यतिकै माया गर्छु । मलाई सिरहा र सुनसरीका माल्दह आँपको जति माया छ त्यति नै नुवाकोटका ट्राउट माछाको स्वाद लिने मन छ । मलाई फिक्कलमा हिउँ चिप्ली खेल्न पाउँदा जति मेरो मन रमाउँछ त्यति नै मैले च्छो रोल्पाको दृश्यावलोकन गर्दा हुन्छ । मलाई जिरीको सिरीरी हावा चल्ने खावा डाँडा जति मन लगाएर घुम्ने इच्छा छ त्यति नै मलाई चरिकोटबाट उत्तरतिर मेरा खाली आँखाले गौरीशंकर हिमाल हेर्दा असीम आनन्द लाग्छ । मलाई भोजपुरे र चैनपुरै काँसे करुवाभित्र कञ्चन पानी हालेर कलकल पिउँने जति धोको छ त्यति नै धोको ललितपुरको कार्तिक नाँच हेर्ने रहेको छ ।
मलाई मेचीका धिमाल हुन् कि उदयपुरका दनुवार सबै जातजातिहरू मन पर्छन् । लिखुकोसी तीरका आदिवासी सुनुवारलाई म आफ्नै हृदयको उच्चासनमा राखेर अति आदर गर्छु भने मलाई दङाली थारूहरू पनि आफ्नै परिवारका सदस्यझैँ लाग्छन् । झापाका सतार, सुनसरीका झाँगड, सप्तरी–सिरहाका यादव, सर्लाहीका ठाकुर र दोलखाका जिरेललाई जति म माया गर्छु त्यति नै म सिन्धुपाल्चोकका तामाङ्लाई आदर गर्न मन पराउँछु । मकवानपुरका चेपाङ् वस्तीका केटाकेटीहरूलाई म असाध्यै माया गर्न चाहन्छु भने थाकखोलाका थकालीहरूको स्वादिष्ट भोजनबाट म लोभिएको छु । मलाई इलामको चिया, भक्तपुरको भादगाँउले टोपी मात्र होइन वीरगञ्जको ताप्के, टिकनी बोडेको चिउरा, खोकनाको तेल र धुनीबेसीका सख्खर असाध्यै मन पर्छन् । मलाई भोजपुरे खुकुरीमा सान देखाउन मन लागेको छ भने चित्लाङ्े र प्युठाने मुला अकबरे खोर्सानीमा नुन मिसाएर स्वाँस्वाँ गरी चाख्न मन लागेको छ । म रामेछापका तीनलाल (गंगालाल, पुष्पलाल र कृष्णलाल) लाई जति आदर गर्छु त्यति नै खोकु छिन्ताङका सहिदलाई सत्कार गर्न चाहन्छु । मेरो दिल सिन्धुपाल्चोकका पिस्कोर सहिदहरूप्रति जसरी आस्थाले चुलिएको छ त्यसैगरी म रोल्पाको जलजलालाई पनि सलाम गर्न चाहन्छु ।
मलाई धरानविराटनगरको भक्तिराजमार्गमा माइक्रोबसको यात्रा गर्दा जति आनन्द आउँछ त्यति नै मलाई जोगबनीका जिलेवी खाँदा र फर्किदाँ बलभद्र राजमार्गमा रिक्सा चढ्दा आउँछ । म चितवनको चेरेसदेखि गोरखाको मनकामनासम्म हावामा उडेझैँ केवुलकारमा चढ्दा जति रोमाञ्चित हुनसक्छु त्यति नै मलाई कर्णालीको पुलमा उभिएर निलोपानीमा आफ्नो आकृति हेर्दा तृप्ति मिल्ने गर्छ । म पासाङ् ल्हामु राजमार्गको सुन्दरता देखेर जति रोमाञ्चित हुँदै धुन्चे जान सक्छु त्यति नै पृथ्वी राजमार्गको चौडा सडकमा पोखरा जाँदा खुसी हुन्छु । मलाई नेपालको स्वर्ग भनेको पोखरा हो भन्ने लाग्छ । मलाई नेपालको अन्नभण्डार भनेको तराई हो लाग्छ भने नेपालको खानीभण्डार भनेकै पहाडी प्रदेश र हिमाली प्रदेशहरू लाग्छन् ।
मलाई मेरो देशको डाँफे र मुनालमा जति गर्व छ त्यति नै मलाई मेरो देशको कस्तुरी मृग र बर्दियाका कृष्णसारमा छ । म हिमाली याक र नाकलाई जति मन पराउँछु त्यति नै मलाई संखुवासभाका नाउर र निलगाईहरू मन पर्छन् । मलाई जति चितवनका बाघभालुहरूप्रति चासो र चिन्ता छ त्यति नै मात्रामा सप्तकोसीका डल्फिन र नारायणीका घडियाल गोहीको संरक्षणमा चिन्ता रहेको छ । मलाई मेरो संस्कृतिका टुङ्ना र विनायोमा जति गर्व छ त्यति नै मादल र नौमती बाजामा पनि छ । मलाई सतारको नृत्य मात्र होइन पूर्वी थारूको झिझिया नृत्य पनि अति नै मन पर्छ । मलाई लेप्चा जातिको पहिरन पनि मन पर्छ भने रामेछापका हायू र दोलखाका थामी तथा पहरीलाई पनि म माया गर्न चाहन्छु । मैले दैलेखको दुल्लुमा गएर सक्रीय ज्वालामुखी हेर्ने मेरो जीवनको एउटा उद्देश्य नै बनाएको छु त्यसैगरी मलाई सोलुको थाङ्बोचे गुम्बामा गएर बौद्ध लामा बन्न मन लागेको छ । म खप्तडको लेकमा गई देउडा गाउँन जति मन पराउँछु त्यति नै मलाई दुरा जातिको ठाडो भाकामा लोकगीत गाउँदा परमानन्दको अनुभूति हुने गर्छ । मलाई पूर्वी तराईका झाँगडहरूको नृत्यले जति मोहनी लगाएको छ त्यति नै मलाई धादिङेहरूको बालनले हुरुक्कै बनाएको छ ।
मलाई नेवारी समाजका चटामरी र योमरी जति मन लाग्छन् त्यति नै मलाई थारू समुदायको सुकराती पनि उत्ति नै मन पर्छ । म मेरो देशको प्राकृतिक, सांस्कृतिक, जातीय, भाषिक, पारम्परिक र मौलिक संस्कृतिमा गर्व गर्छु त्यति नै म मेरो राजनीतिक परिवर्तन, विद्यार्थी आन्दोलन र जनआन्दोलन प्रति गर्वको अनुभूति गर्छु । मलाई लोकतान्त्रिक गणतन्त्रप्रति अगाध आस्था छ । म स्वयम् कक्षा ९÷१० को विद्यार्थी भए पनि त्यो आन्दोलनमा सहभागी भएको थिएँ । हामीले हाम्रो देशको भाग्य र भविष्य बनाउने यस्ता राजनीतिक आन्दोलनमा भाग लिन चुक्नु हुँदैन । अबको समयमा हामी विद्यार्थीले चेतनाका संवाहक बन्नका लागि यस्ता खालका राजनीतिक परिवर्तनका आन्दोलनलाई नजिकैबाट नियाल्नु पर्छ । मलाई थाहा छ मधेश आन्दोलनले नै तराईलाई समग्रतः देशव्यापीरूपमा चिनाउँदै तराईको हक अधिकार लिन सफल हुनेछ ।
म मेरा अग्रज आमाबाबा, गुरु र मेरो देशका नेतानेतृलाई मान गर्न चाहन्छु जसले आफ्नो बल, बुता र बर्गतले यो मेरो देश नेपाललाई आफ्नो प्रतिभा र सीपले सिँचन गर्नु भएको छ ती सबै प्रतिभामा म आदरपूर्वक सम्मान गर्न चाहन्छु । जसले आफूभन्दा ठूलालाई आदर गर्दछ उसैलाई ठूलाले पनि मायाममता गर्छन् । म आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्नु मेरो कर्तव्य नै ठान्छु । यो चेतना मलाई मेरो शिक्षाले दिएको हो । जुन चेतना मेरो देशमा भर्खरभर्खर प्राप्त गरेको हूँ । यसर्थमा पनि म मेरो देशलाई शिर निहुरिएर अभिवादन गर्न चाहन्छु । म मेरो मातृभूमिलाई शततः नमन गर्छु ।

Facebook Comments Box
ad