मतगणनाले मालपोतको काम प्रभाबित, सेवाग्राही मारमा

प्रदेश ३ बिशेष समाज

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको मालपोत कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना गर्दा सो कार्यालयले दिदै आएको सेवा तीनदिन देखी प्रभावित हुँदै आएको छ ।

मालपोत कार्यालयको भवनमा मुख्य निर्वाचन कार्यालय स्थापना गरि सोही कार्यालयमा हाल प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना भइरहेको छ । मंसिर ४ गते निर्वाचनको लागि भन्दै सरकारले ४ र ५ गते सरकारी कार्यालयहरु सार्वजनिक विदा दिएको थियो । मंसिर ६ गते मंगलवारबाट जिल्लाका अन्य सरकारी खुलेता पनि रामेछापको मालपोत कार्यालय भने अझै बन्द रहेको छ ।

मुख्य निर्वाचन कार्यालयले मतगणना गर्ने नाममा मालपोत कार्यालयको सेवा नै अवरुद्ध गर्दा जिल्लाका दुर्गम गाउँवाट मालपोत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरु मारमा परेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका–२ वाम्तीवाट जग्गा नामसारीको काम लिएर सदरमुकाम मन्थली आइपुगेका मानविर बस्नेत कार्यालय बन्द भएकाले आफ्नो काम नहुँदा निराश बनेर घर फर्किएका छन् ।

उनले भने– कार्यालय खुल्ला नै होला भनेर दुई दिनको समय बिताएर हजारौं रुपैयाँ खर्चेर सदरमुकामसम्म आए । मालपोत कार्यालय बन्द छ भन्ने सूचना पाइन । एकातिर समयको बर्बाद भयो भने अर्कोतिर आफुसँगै अन्य घरका सदस्य समेत आएकाले खर्च धेरै भयो । कार्यालय बन्द गर्दा त कम्तीमा सार्वजनिक सूचना त निकाल्नु पथ्र्यो नि ? जनतालाई सहज सेवा दिनु कता हो कता कार्यालय नै बन्द गरेर सेवाग्राहीलाई झनै मारमा पारेको बस्नेले बताए ।


सरकारी कार्यालयले नियमित रुपमा नागरिकलाई सेवा दिनुपर्नेमा कार्यालय नै बन्द गराएर जनतालाई दुःख दिनु सारै नराम्रो कुरा भएको नागरिक समाजका अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले भने– मालपोत कार्यालय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले पहिलो कुरा त मुख्य निर्वाचन कार्यालयले मतगणनाको नाममा मालपोत कार्यालय बन्द गराउनु हुँदैन्थ्यो । सरकारी कार्यालय बन्द गराउँदा कम्तिमा पनि सबै नागरिकहरुले थाहा पाउने गरी सार्वजनिक सूचना जारी गर्नुपथ्र्यो । सूचना नै जारी नगरी सरकारी कार्यालय बन्द गराउँदा सेवा लिन जाने सवै सेवाग्राहीहरु मारमा पर्नु दुःखद कुरा भएको ढुंगेलले बताए ।

बर्षातको समयमा जिल्लाको ग्रामिण भेगवाट मालपोत कार्यालयमा सेवा लिन आउन नसक्ने नागरिकहरु बढी मात्रामा हिउँदको समय पारेर सेवा लिन आउने गर्दछन् । अहिले कार्यालय बन्द भएपछि दुरदराजका गाउँबाट सेवा लिने आउने सेवाग्राही सदरमुकाम आएर त्यतीकै फर्कनु परेको लेखापढी व्यवसायी हरिशरण सुवेदीले जानकारी दिए । उनले भने– सरकारी कार्यालय नै बन्द गर्नु गलत हो ? कार्यालय नै बन्द गराएर नागरिकलाई दिनु पर्ने सेवा सुविधा प्रभावित पार्दा सेवाग्राही मारमा परेको बताए ।

कार्यालय बन्द गर्दा धेरै सेवाग्राहीलाई समस्या परेको मालपोत कार्यालय रामेछापका मालपोत अधिकृत लिलाराज दाहालले जानकारी दिए । उनले भने– कार्यालयमा मतगणना भएकाले ठाउँको अभाव हुँदा समस्या भएको छ । मतगणना सकिनासाथ कार्यालय खोलेर नागरिकलाई सेवा दिन आफुहरु तत्पर रहेको दाहालले बताए ।

 

Facebook Comments Box