सप्तकोसीको बाँध फुटेपछि कयौं गाउँ डुबानमा,

अर्थ कृषि प्रदेश १ प्रदेश २ समाज संसद स्वास्थ्य

इटहरी । अविरलको वर्षासँगै आएको बाढीको कारण सप्तकोशी बाँध फुटेपछी ४ हजार भन्दा बढी घरहरु डुवानमा परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको हो । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको स्थानियले बताएको छ ।

नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए ।
सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए । सप्तकोसी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।

प्रभावितले पशुधन, लत्ताकपडा बोकेर गाउँ छोडेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ । उनीहरूले सुरक्षित स्थान खोज्दै गाउँ छोडे पनि कहाँ बस्ने भन्ने टुंगो लागि सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अहिले नदीले ५० मिटर बाँध कटान गरी बस्तीमा पसिसकेको छ । त्यस क्षेत्रका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार नगरपालिकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् । प्रभावित क्षेत्रका सबै नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा लैजान गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, नगरपालिका र स्थानीय स्वयमसेवको टोलीले प्रभावितको उद्धार गरिरहेको छ ।
वेलकामा मात्रै २० हजार बढी नागरिक विस्थापित हुने मेयर कार्कीको भनाइ छ । प्रभावितहरूका लागि अस्थायी निवासको खोजी कार्य भइरहेको छ ।

Facebook Comments Box