युरिया मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

अर्थ कृषि

युरिया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ । नेपाल कृषि सामग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’ बीच बिहीबार दोहोरो सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारले तीन महिनाअघि नै बंगलादेशबाट युरिया मल ल्याउने निर्णय गरे पनि बिहीबार मात्र औपचारिक सम्झौता भएको हो । सम्झौता अनुरुप बंगलादेशले अब नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने छ।
सम्झौता अनुसार बंगलादेशबाट नेपालले चार लटमा युरिया मल आयात गर्ने छ । पहिलो पटक सम्झौता भएको ३ महिनाभित्र मल नेपाल निर्यात गरिने छ । यो मल आयातसँगै नेपालमा रासायनिक मल अभाव समस्या तत्कालका लागि समाधान हुने कृषि मन्त्रालयको दाबी गरेको छ । यो सिजनमा खेती गरिने बालीलाई आवश्यक पर्ने मल पर्याप्त रहेको मन्त्रालयले बताएको छ । मल अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति समेत तयार भइरहेको जनाएको छ ।

Facebook Comments Box
ad