मन्थलीकाे पानी शुद्ध छ, ढुक्क भएर प्रयोग गर्नुस–समिति

प्रदेश ३ बिशेष समाज

रामेछाप । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले सदरमुकाम मन्थलीमा बितरण गरिएको खानेपानी शुद्ध भएको जनाएको छ ।

मन्थलीको आर्मि ब्यारेक्क भित्र रहेको टिटमेन्ट पोखरी (सोलोसेण्ड फिल्टर) को बिषयलाई लिएर केही उपभोक्ताहरुले उक्त पानी प्रदुषित, फोहोर रहेको र पोखरी खुल्ला रहेको भन्दै सामाजिक सञ्जालमा हालिएको भिडियो बाहिर आएसँगै खानेपानी उपभोक्ता समितिले उक्त घटनाप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको भन्दै सो पोखरीमा जम्मा रहेको पानी शुद्ध रहेकाले आम उपभोक्ताहरुले भ्रममा नपरी उपभोग गर्न अनुरोध गरेको छ ।

उपभोक्ता समितिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै केही व्यक्तिले आम उपभोक्तालाई भ्रमित बनाउन गलत प्रचारप्रसार गरेको भन्दै पोखरीमा जम्मा गरिएको पानी प्राविधिकको स्टमेट अनुसार निमार्ण गरिएको पोखरीमा जम्मा गरिएको र उक्त पानी तीनवटा पोखरी मार्फत शुद्धिकरण हुँदै रिजर्भ ट्याङ्कीमा जम्मा हुने गरेको उक्त विज्ञप्तीमा उल्लेख छ ।

समितिका अध्यक्ष पुर्णवहादुर सुबेदी द्धारा हस्ताक्षरित उक्त विज्ञप्तीमा भनिएको छ मुहानवाट पाइपको माध्यमबाट ल्याइएको पानी पहिलो पोखरीमा पानी झर्ने र सो पश्चात गिट्टी, ढुङ्गा र वालुवा भएको अर्को दुईवटा पोखरीमा पानी जम्मा भई शुद्धिकरण भएपछि मात्रै रिजर्भ ट्याङ्कीमा जम्मा हुने र उक्त पानी मेन लाइन पाइप मार्फत उपभोक्ताहरुको धारामा पठाइने गरेको सो विज्ञप्तीमा जनाइएको छ ।


मन्थलीमा हाल सुनारपानीको मचवारी खोला र भलुवाजोरको गुवा खोला मुहानको पानी सिधै पाइप मार्फत ल्याइएको र यसवाहेक तामाकोशी नदी छेउको भूमिगत पानी विद्युतीय लिफ्ट सिस्टम मार्फत तानेर दैनिक रुपमा उपभोक्ताहरुलाई बितरण गरिदै आएको छ । वर्षातको समयमा मचवारी र भलुवाजोर मुहान गरी ल्याइएको पानी केही धमिलो हुने गरेको भएता पनि उक्त पानी रिजर्भ ट्याङ्कीमा जम्मा गरेपछि पियुष, बिलथिन पाउडर लगाएतका व्याक्टेरिया मार्ने पाउडर प्रयोग गरी शुद्ध पानी उपभोक्ताहरुको धारामा पठाइने गरेको मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ढाकल बहादुर थापाले जानकारी दिए ।

उनले भने– मन्थलीमा वितरण गरिएको पानी एकदम नै शुद्ध छ । जहाँसम्म पोखरीमा लेउ जमेको, पोखरी भित्र ढुङ्गा, गिट्टी र वालुवा भएर पानी प्रदुषित पो होकी भन्ने उपभोक्ताले राखेको चासो जायज भएकाले समितिले आम उपभोक्ताहरुलाई पानी सुद्धिकरण गर्ने बिधिको बारेमा बुझाउनु पर्नेे सचिव थापाले बताए ।


उपभोक्ताहरुले खुल्ला पोखरीको पानी प्रदुषित भएको र उक्त पानी उपभोग गर्दा बिरामी परेको भन्दै सामाजिक सञ्जालमा हालेको भिडियो सान्र्दभिक नभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सव–इन्जिनियर सन्तोषकुमार ठाकुरले जानकारी दिए । उनले भने– सिधै पाइपवाट आएको पानीमा धेरै किटाणुहरु हुने हुँदा उपभोग गर्न मिल्दैन । त्यसैले ती किटाणुहरुलाई मार्नको लागि टिटमेन्ट पोखरी निमार्ण गरिएको हो । पोखरीमा जम्मा गरिएको पानीमा ९९ प्रतिशत व्याक्टेरिया मर्ने गर्दछन् । पोखरीवाट पानी शुद्धिकरण गरी रिजर्भ ट्याङ्कीमा पठाइने र उक्त ट्याङ्कीमा पुग्ने १ प्रतिशत व्याक्टेरिया मार्न पानीमा बिलथीन पाउडर मिसाएपछि मात्रै उपभोक्ताको धारामा शुद्ध पानी पठाउने गरेकाले उपभोक्ताले ढुक्क भएर पानी प्रयोग गर्न मिल्छ सब–इन्जिनियर ठाकुरले बताए ।


सदरमुकाम मन्थलीमा हाल सरकारी कार्यालय, सामाजिक संघसंस्था, व्यक्तिगत गरि करिव १ हजार २ सय भन्दा बढी खानेपानीको धारा बिरतण गरिएको छ । उपभोक्ता समितिले हाल मन्थली वजार, सानीमदौ, हाटेचौर, बसपार्क, आकाशे, दाहालगाउँ र नालामीडाँडा समेत दैनिक राती र बिहानको समयमा गरी पानी बितरण गरिदै आएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका ब्यवस्थापक जगदीश सुबेदीले जानकारी दिए ।

Facebook Comments Box