औषधी खरिदमा मनपरी, रेकर्ड लिनै मुस्किल

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । सरकारले मातृ–शिशु स्वास्थ्यमा प्रयोग हुने जीवनरक्षक औषधी निःशुल्क रुपमा दिदै आएको भएता पनि स्थानिय तहले भने उक्त औषधी फरक–फरक मूल्यमा खरिद गरेर अनियमितता गर्दै आएका छन् ।

मातृ– शिशु स्वास्थ्यमा प्रयोग हुने औषधीहरु मध्ये अक्सिटोसिन, मिसोप्रोस्टोल र म्याग्नेसियम सल्फेट खरिद गर्दा स्थानिय तहका कर्मचारीहरुले मनगाग्दी मूल्यमा खरिद गरेका छन् । यिनै औषधीहरु प्रदेश सरकारले खरिद गर्दा अक्सिटोसिन इन्जेक्सन ९ रुपैयाँ प्रति गोटा, म्याग्नेसिमय सल्फेट इन्जेक्सन १५ रुपैयाँ प्रति गोटा र मिसोप्रोस्टोल चक्की ३ रुपैयाँ ७५ पैसा प्रति चक्की मूल्यमा खरिद गरेको छ ।

यता रामेछापका स्थानिय तहका कर्मचारीहरुले तिनै औषधीहरु खरिद गर्दा घोटाला गरेका छन् । रामेछाप नगरपालिकाले अक्सिटोसिन इन्जेक्सन गोटाको १२ रुपैयाँ ७५ पैसा मूल्यमा २ सय ५० पिस र म्याग्नेसियम सल्फेट इन्जेक्सन गोटाको ३५ रुपैयाँको दरले १ सय २० वटा टेण्डर विना नै सिधै खरिद गरेको छ । वाँकी अन्य औषधीहरु जिल्ला स्वास्थ्य कार्यालय मार्फत निःशुल्क रुपमा प्राप्त भएको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु कार्कीले जानकारी दिए ।

त्यसैगरी उमाकुण्ड गाउँपालिकाले अक्सोटोसिन इन्जेक्सन गोटाको ३२ रुपैयाँ र म्याग्नेसिमय सल्फेट इन्जेक्सन प्रति गोटा १२ रुपैयाँको दरले खरिद गरेको जनाएको छ । खरिद गरिएका सामाग्री टेण्डर मार्फत गरिएको भएता पनि के–कती सामाग्री खरिद गरियो भन्ने रेकर्ड खोज्न समय लाग्ने सो गाउँपालिकाले जनाएको छ ।

त्यस्तै सुनापति गाउँपालिकाले अक्सिटोसिन इन्जेक्सन गोटाको २९ रुपैयाँको दरले खरिद गरिएको सुनापति गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए । यता रामेछापका ८ वटा स्थानिय तहहरु मध्ये मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, दोरम्वा गाउँपालिका, गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिकासँग विवरण माग गरिएकोमा समय लाग्ने भन्दै बिवरण उपलव्ध गराएका   छैनन् ।

यी सवै कार्यालयले मातृ शिशु स्वास्थ्यमा प्रयोग हुने औषधीहरु भने खरिद गरेका छन् । पालिकाले औषधी खरिद गरेको छ । तालिममा पालिका भन्दा बाहिर रहेकाले माग गरिएको विवरण दिन नसकिएको गोकुलगंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागिर रायले जानकारी दिए ।

Facebook Comments Box