रामेछापमा १३ स्थानमा चोरी, नागरिक त्रसित

प्रदेश ३ समाज

रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालु र गोकुलगंगा गाउँपालिका–४ बेतालीमा दुई दिनमा १३ वटा घर श्रृखदाबद्ध रुपमा चोरी भएका छन् ।

मन्थली नगरपालिका–४ सालुमा घर र पसल गरी ८ वटामा चोरी भएको छ । स्थानिय हरिवहादुर थापा, कृष्ण वहादुर पाण्डे, हरिकृष्ण काफ्ले र चित्रवहादुर पाण्डे लगाएतको घरवाट ४ लाख ६५ हजार नगद र सुन गरी करिव १४ लाख बराबरको सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

त्यसैगरी गोकुलगंगा गाउँपालिका–४ बेतालीमा सहकारी संस्था गरी ५ स्थानमा चोरी भएको छ । चोरले बेताली बचत तथा ऋण सहकारी संस्था, कृष्ण वस्नेत, बिकास बुढाथोकी र राज बुढाथोकी लगाएतको घरवाट करिव ६३ हजार नगद, गरगहना र पसलवाट रिचार्ज कार्ड समेत लगेको छ । रातीको समयमा घर तथा पसलमा चोरी भएपछि स्थानियले प्रहरीमा खबर गरेका छन् ।

घटनापछि प्रहरीले चोरी भएको आसपासको क्षेत्रमा प्रहरी गस्ती वढाएको छ । प्रहरीले बिशेष गरी रातीको समयमा गाउँका वजार क्षेत्रहरुमा बढी मात्रामा निगरानी राख्दै आएको छ । केही दिन अघि मन्थली नगरपालिका–४ सालुमा रहेको वडा कार्यालय र नेपाल विद्युत प्राधिकरणको युनिट कार्यालयमा समेत तोडफोड भएको छ । कार्यालय तोडफोड कसले गर्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

गाउँमा एकपछि अर्को गर्दै चोरी का घटनामा बृद्धि भएसँगै स्थानिय नागरिकहरु रातभरी जाँगै बस्न थालेका छन् । दिनभर काम गरेर थकाई लागेपछि रातीको समयमा फेरी घर चोरी हुने होकी भन्ने चिन्ताले रातभरी जाँगै बसेर गस्ती गर्न थालिएको मन्थली नगरपालिका–४ सालुका कृष्णहरी खत्रीले जानकारी दिए । चाेरीमा संलग्न चोरहरुले १३ वटै स्थानमा कुनै पनि सबुत प्रमाण नछाडेकाले प्रहरीलाई चोर पत्ता लगाउन समस्या भएको छ । प्रहरी एक अधिकृतले भने चोरहरुले कुनै पनि सबुद छाडेका छैनन् ।

गोकुलगंगाको बेतालीको सहकारी संस्थामा सिसि क्यामरा जडान गरेको भएता पनि उक्त सिसिक्यामेराको फुटेज हेर्दा चोरहरुले टाउँकोमा टोपी, रातीको समयमा पनि आँखा चस्मा, हातमा पन्जा र त्यही अनुसारको कपडा लगाएको देखिन्छ । उक्त सिसिक्यामेराको फुटेज हेर्दा चोरहरु पेशेवार नै रहेको पुष्टि भएकाले त्यही अनुसार प्रहरी खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box