पार्टी सभापति बिरुद्ध, काँग्रेस पदाधिकारीले गरे बैठक बहिस्कार

प्रदेश ३ राजनीति

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको सातौं बैठकमा पार्टी सभापति कान्छाराम तामाङले एकलौटी गरेको भन्दै पदाधिकारीहरुले बैठक बहिस्कार गरेर बैठक हलवाट बाहिर निस्किएका छन् ।

काँग्रेसको सातौं पदाधिकारी बैठक सोमवार खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा बजारमा बसेको थियो । बैठक शुरु भएपछि पार्टी सचिव दीपक खड्काले आफ्ना धारणा राख्दै गर्दा पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले पार्टी प्रवक्ताको जिम्मेवारी मनोनित सदस्य नारायण बोगटीलाई दिएको पत्र सचिब खड्कालाई थमाउँदै उक्त पत्र बैठकमा पढेर सुनाउन निर्देशन दिएपछि बहुमत सदस्यले बैठक बहिस्कार गरेर बैठक स्थलवाट बाहिरीएका हुन् ।

पार्टी सभापति कान्छाराले पार्टी भित्र कुनै पनि सल्लाह र छलफल नै नगरी एकलौटी ढंगले पार्टीको विधान विपरित आफुखुशी पार्टीको प्रवक्ता जस्तो पदमा मनोनित सदस्यलाई जिम्मेवारी दिएको भन्दै असन्तुष्ट पदाधिकारीहरु बैठक छाडेर निस्किएका हुन् । बैठक बहिस्कार गर्नेहरुमा पार्टी सचिव दीपक खड्का, सह–सचिव ध्रुव चौलागाई र सदस्यहरुमा सिताराम कार्की, हिमाल ढुंगेल, नवराज घिमिरे, गोमा कार्की, कमल प्रकाश सुनुवार, कमल कार्की, सिताराम कार्की, संजिक विक र हस्त लामा रहेका छन् ।

त्यसैगरी सभापतिले गरेको व्यहारप्रति असन्तुष्ट जनाउँदै बैठक वहिस्कार गर्ने अन्य सदस्यहरुमा मन्दिरा घिमिरे, शिव बस्नेत, ढाकल थापा, घननारायण श्रेष्ठ, गुञ्जवहादुर कार्की र कल्पना खड्का रहेका छन् । उनीहरुले यसअघि जिल्लाका विभिन्न स्थानीय तहहरुमा भएका छ वटा वैठकमा समेत पार्टी सभापति कान्छारामले एकलौटी ढंगले निर्णय गर्दै आएको, वैठकमा पदाधिकारीहरुले दिएको सल्लाह सुझाव समेत अटेर गर्दै आएको भन्दै पार्टी सभापति प्रति बहुमत सदस्यहरुले असुन्तुष्टि जनाउँदै आएका थिए ।

पार्टी सभापति कान्छारामले चौधौ महाधिवेशन पछि भएका ७ वटा बैठकसम्म आइपुग्दा पदाधिकारी र पार्टीका अन्य सदस्यहरुलाई अपमानीत हुने तल्लो स्तरका शव्दहरु बोल्ने, होच्याउने गर्दै आएको साथै पार्टीका दिग्दज नेताहरुलाई समेत अपमान गर्ने कार्य गर्दै आएको भन्दै सभापति कान्छारामले गरेको व्यवहार सहिनसक्नु भएकाले आफुहरुले बैठक बहिस्कार गर्नुपरेको पार्टी सचिव दीपक खड्काले बताए । उनले भने– मैले पार्टी सभापतिले गरेका गलत बिषयलाई बैठकमा उठाए । मैले उठाएका बिषयमा अन्य पदाधिकारी साथीहरुले पनि सहमती जनाएपछि हामीहरु बैठक स्थलवाट बाहिरिएको हौ ।

बैठकमा सहभागी बहुुमत सदस्यले बैठक बहिस्कार गरेर हिडेपछि पार्टी सभापति कान्छाराम सहित १३ जना अल्पमत सदस्यहरुको बैठक चलिरहेको र बैठकमा के निर्णय भयो भन्ने बिषयमा जानकारी लिन टेलिफोन सम्र्पक गर्दा पार्टीका अर्का सचिव विनोद कार्कीले अहिले बैठक चलिरहेको र बोल्न नमिल्ने बताए ।

नेपाली काँग्रेसको चौधौ महाधिवेशनमा पार्टी सभापति कान्छाराम तामाङ निर्वाचित भएपछि पालिका स्तरमा नेपाली काँग्रेसको उपस्थिती जनाउन गाउँगाउँमा पार्टीको वैठक संचालन गर्दै आएका छन् । सभापति कान्छारामले गाउँगाउँमा पार्टीको वैठक राख्खा आफुले राखेको प्रस्ताव मान्ने सदस्यलाई वैठकमा बोलाउने र उनको प्रस्ताव नमान्ने सदस्यलाई वैठकमा नै नबोलाउने गर्दा पदाधिकारीहरु बिच खटपट शुरु भएको हो । पार्टी सभापति कान्छारामले पार्टीका सदस्य र अन्य कार्यकर्ताहरुलाई गरेको व्यवहारको बिषयमा यसअघि पनि पार्टी पंक्तीमा चर्चा चल्दै आएको थियो ।

Facebook Comments Box