निर्वाचन खर्च विवरण पेश नगर्ने उमेरद्वार अब के गर्ला ? चुनाबमा भाग लिन

प्रदेश ३ बिशेष राजनीति समाज

रामेछाप । रामेछापका ९ सय १ जना २०७४ सालमा भएको स्थानीय निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले निर्वाचन कार्यालयमा खर्च विवरण पेश गरेका छैनन् । निर्वाचन सम्पन्न भएको छ महिना भित्र निर्वाचन खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था भए पनि रामेछापका विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिएका धेरै निर्वाचित र निर्वाचनमा भाग लिएर पराजय भएका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश नगरेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।
निर्वाचन कार्यालयमा निर्वाचन सकिएको ६ महिना भित्र निर्वाचन खर्च नवुझाउने उम्मेदवारले ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने निर्वाचन आयोग ऐन २०७३ मा व्यवस्था रहेको छ । निर्वाचन आयोग ऐन २०७३ अनुसार दफा २५ को उपदफा १ बमोजिम निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यसरी पेश गरेको विवरणमा सोही दफाको उपदफा ३ को उपदफा २ बमोजिम निर्वाचन खर्च निर्वाचन भएको मितिले ६ महिनासम्म नबुझाउने उम्मेदवारलाई आयोगले तत्कालै लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ भनिएको छ ।
रामेछापमा २०७४ सालमा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, लगायत अन्य दल र स्वतन्त्र उम्मेदवार गरी १ हजार २ सय ५४ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका मध्ये ९ सय २ जनाले अझैसम्म निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छैनन् । निर्वाचन खर्च निर्वाचित जनप्रतिनिधिदेखि निर्वाचनमा पराजय व्यहोरेका उम्मेदवारहरुले समेत बुझाएका छैनन् । निर्वाचन खर्च विवरण एमालेका सबै भन्दा बढी उम्मेदवारहरुले बुझाएका छैनन् ।
सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), बाट भाग लिएका ३ सय १६ जना उम्मेदवार मध्ये २ सय ३० जना उम्मेदवारहरुले खर्च विवरण पेश गरेका छैन । एमालेबाट गाउँ नगर प्रमुखका उम्मेदवार ३ जना, उपप्रमुख पदका उम्मेदवार ३, वडा अध्यक्ष पदका उम्मेदवार ४४, महिला सदस्य पदका उम्मेदवार ५०, दलित पदका उम्मेदवार ४६, खुल्ला सदस्य पदका ८४ जना उम्मेदवारहरुले खर्च विवरण पेश गरेका छैनन् ।
नेपाली काँग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिएका ३ सय १८ जना उम्मेदवार मध्ये बाट १ सय ११ जनाले खर्च विवरण पेश गरेका छन् भने २ सय ७ जनाले अझै पेश गरेका छैनन् । नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार ४, उपाध्यक्ष पदका उम्मेदवार ५, वडा अध्यक्ष पदका उम्मेदवार ३७, महिला सदस्य पदका उम्मेदवार ३८, दलित सदस्य पदका उम्मेदवार ३८, खुल्ला सदस्य पदका उम्मेदवार ८५ जना गरी २ सय ७ जनाले पेश गरेका छैनन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट २०७४ सालको स्थानीय निर्वाचनमा भाग लिएका ३ सय २१ जना उम्मेदवार मध्ये १ सय ८९ जना उम्मेदवारहरुले खर्च विवरण पेश गरेका छैनन् भने १ सय ३२ जनाले खर्च विवरण पेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्ष पदका उम्मेदवार १, उपाध्यक्ष पदका उम्मेदवार २, वडा अध्यक्ष पदका उम्मेदवार ३३, महिला सदस्य पदका उम्मेदवार ३७, दलित सदस्य पदका उम्मेदवार ३६, खुल्ला सदस्य पदका उम्मेदवार ८० जनाले खर्च विवरण पेश गरेका छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ सय ८५ जनाले २०७४ सालको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका १ सय ८५ जना मध्येबाट २० जनाले मात्र निर्वाचन खर्च निर्वाचन आयोगमा पेश गरेका छन् भने १ सय ६५ जनाले पेश गरेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका उम्मेदवार ५,उपाध्यक्ष पदका उम्मेदवार ५, वडा अध्यक्ष पदका उम्मेदवार ३६, महिला सदस्य पदका उम्मेदवार २६, दलित सदस्य पदका उम्मेदवार २९ र खुल्ला सदस्य पदका उम्मेदवार ६४ गरी १ सय ६५ जना उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी १ सय ११ जना उम्मेदवारहरुले निर्वाचन खर्च पेश गरेका छैनन् भने अन्य ४ पदका उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन् । निर्वाचन खर्च पेश नगर्ने उम्मेदवारले भाग लिन नपाउने ब्यवस्थालाई कार्यान्वयन गरेको खण्डमा रामेछापका धेरै राजनीतिक दलका नेताहरु २०७९ साल बैशाख ३० गते हुने भनेको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने छैनन् । जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले निर्वाचन कार्यविधि नआएकोले के हुन्छ भन्ने विषयमा अहिले भन्न नसकिने बताएका छन् ।

स्रोत पालिका आवाज साप्ताहिक

पालिका आवाज ईपेपर

Facebook Comments Box