गाउँमै रोजगारी पाएपछि महिला दङ्ग

अर्थ कृषि प्रदेश ३ समाज

रामेछाप । गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेछि गाउँमै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुशिले दङ्ग परेका छन् ।


जुनारको दानाबाट जुस बनाउने उद्योग संचालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने (छेल्ने) काम पाएका हुुन् । उनीहरुले जुनारको दाना तास्ने कामवाट प्रतिव्यक्ति मासिक २० देखी ३० हजार रुपैयाँसम्म कमाउने गरेको रामेछाप नगरपालिका–७ सुकाजोरकी साबित्रा कार्कीले जानकारी दिइन ।

उनले भनिन्– हामी महिलाहरु घरको चुलो चौको गरेर बसेका थियौ । आम्दानीको श्रोत नहुँदा सधै घरखर्च घरका मुलीसँग माग्नुपर्ने वाध्यता थियो । अहिले गाउँमै जुनारको जुस उद्योग खुलेपछि छोटो समय भएपनि काम पाएका छौं । बिहान र बेलुकाको घरको सबै काम सकेर बाँकी फुर्सदको समयमा जुनारको बोक्रा तास्ने कामबाट मासिक ३० हजार रुपैयाँसम्म कमाउन पाउँदा आफुहरु ज्यादै खुशि भएको कार्की बताउँछीन् ।


यतिखेर सुकाजोरका १ सयजना महिलाहरुले उक्त उद्योगमा रोजगारी पाएका छन् । कलेज पढ्ने छात्राहरुले पनि बिहान कलेज पढेर फर्केपछि दिउँसोको फुर्सदको समयमा जुनार उद्योगमा नै काम गर्दै आएका छन् । आफैले कमाएको पैसाले आफ्नो पकेट खर्च र कजेलको फिस बुझाउन समेत आफ्नै कमाइले गर्दै आएको रामेछाप नगरपालिका–७ सुकाजोरकी रेजीना कार्कीले जानकारी दिइन ।

उनले भनिन्– पहिला गाउँमा केही गरौ भन्दा पनि काम गर्ने अवसर पाएका थिएनौ । अहिले जुस उद्योग संञ्चालनमा आएको छ । जुस बनाउनको लागि जुनारको दाना छेल्ने काम केही महिना भएपनि पाएका छौं । बिहानको समय कलेज पढेर फर्कने र दिउँसोको खाली समयमा उद्योगमा आएर काम गर्दा आफुलाई पुग्ने पैसा आफै कमाइ गर्दा धेरै खुशि छौं । अहिले घरका अभिभावकसँग खर्च माग्नु पर्ने अवस्थाको अन्त्य भएको कार्की बताउँछीन ।


जिल्लामा जुनार भण्डार गर्ने चिस्यान केन्द्र नहुुँदा जुनार पाक्ने सिजनमा मंसिर देखी माघसम्म तीन महिना मात्रै गाउँका महिलाहरुले रोजगारी पाउने गरेका छन् । जुनाार पाकेपछि पछिसम्म राख्ने स्टोर नहुँना जुनार कुहिने डरले एकै पटक जुनार पेलेर जुस राख्ने गरिएको मन्थली डिलक्स एग्रो फरेष्टी प्रा.लि.का प्रोपाइटर लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले भने– जिल्लामा चिस्यान केन्द्र निमार्णको क्रममा छ, कहिले सम्पन्न हुन्छ थाहा छैन् । चिस्यान केन्द्र नहुँदा जुनार पाकेको सिजनमा एकैपटक बोटबाट टिप्नुपर्ने र तत्काल नै पेली हाल्नुपर्ने अवस्था छ । जुनार धेरै समय राख्दा कुहिने डरले चाडै पेल्नुपर्ने समस्या छ । चिस्यान केन्द्र भएपछि यो समस्यावाट मुक्ती मिल्ने र रोजगारी पनि बाह्रै महिना दिन सकिने श्रेष्ठ बताउँछन् ।


जुनार पाक्ने सिजनमा जुनारको जुस बनाएर राख्ने र यसवाट केही केमिकलको मात्रा र पानी मिलाएर जुस बनाउने उक्त जुस प्लाष्टिकको बोतलमा राखेर बाह्रै महिना बजारमा विक्रीको लागि लैजाने गरिन्छ । जुनारको जुस पाहुनाकोमा जाँदा कोसेलीको रुपमा लैजाने र बाहिरी जिल्लावाट भ्रमण आएका पाहुनालाई जिल्लाको पहिचानको रुपमा जुस बिक्रीबितरण गरिदै आएको छ ।

Facebook Comments Box