समृद्ध नेपालको आधार दक्ष युवाजनशक्ति र शिक्षा

अर्थ बिशेष

 

राष्ट्रिय युवा परिषद्ले परिभाषित गरे अनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु नेपालको कूल जनसंख्याको ४०.३५ प्रतिशत रहे्को छ। उत्साही दक्ष युवाजनशक्तिको  सक्रिय सहभागिता विना समृद्ध नेपाल सुखि नेपालीको नारा सार्थक हुन सक्दैन्।

रोजगारी र शिक्षा बीच हुने अन्योन्यास्रित सम्बन्धलाई आत्मसात गर्दै राष्ट्रिय युवा परिषद्ले रोजगारमूलक शिक्षा प्रबद्र्धनका लागि विभिन्न नीति तथा रणनीति प्राथमिकताकासाथ अघी सारेको छ।  उच्च माधयमिक तह सम्मको शिक्षालाई निशुल्क, नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक संपदाको उच्चतम सदुपयोग र संरक्षणमा टेवा पु¥याउने कर्मठ र उद्यमशील स्वाभिमानी युवाजनशक्ति उत्पादन गर्ने नीति परिषद्ले लिएको देखिन्छ।

समयानुकुल रोजगारमूलक उद्यमशील शिक्षाको अभावका कारण लाखौं ऊर्जाशील युवाजनशक्ति दिशाविहिन भै बरालिएको, आफ्नो भविष्य स्वदेशमा नदेखेर विदेश जान भौंतारिएको, विदेशमोहले गाँऊ वस्तीमा मलामी र जन्ती जाने तन्नेरीको अभाव तथा श्रमीक अभावले कृषीयोग्य जमिन बन्जर बनेको अहिलेको नियती बनेको छ। लाखौंको संख्यामा विदेशीएका युवा जनशक्तिलाई स्वदेश मै थेग्न युवा परिषद्ले विविध कार्यक्रम संचालन गर्दै आएको जगजाहेर नै  छ।

बढ्दो बेरोजगारी समस्यालाई संवोधन गर्दै देश विकासमा युूवा जनशक्तिको अधिकतम उपयोग गर्न परिषद्ले अघि सारेको युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना र राष्टिय युवानीति २०७२ को सफलता सरोकार पक्षसँगको सदभाव, सहयोग, सहकार्य, समन्वय, स्वामित्व र समीक्षा (७ स)मा भर पर्ने तर्फ हेक्का राख्न विर्सनु हुदैन्। रोजगार सिर्जना र युवा सशक्तिकरणका लागि संघीय संरचना अनुसारका तीनै तहका सरकार र युुवा परिषद् बीच सुमधूर सम्बन्ध र सहकार्य अपरिहार्य रहन्छ । दक्ष युवा जनशक्ति तयार गर्नको लागि मानव जीवन र शैक्षिक यात्राको प्रस्थानविन्दु मानिएको विद्यालय शिक्षाको चर्चा गर्ने प्रयाश समेत गरिएको छ।

रोजगार प्रतिको धारणा

रोजगारीको लागि नेपालीहरु कस्तुरीले आफुमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिंएर हिडेजस्तै मृगतृष्णाको रुपमा आफ्नै देशमा उपलव्ध पेसा अंगाल्न हिच्किचाउँदै हजारांै, लाखौं रुपैयाँ खर्च गरेर खाडी मुलुकको  प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफुलखेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाड मछाडका साथ पुगेका छन् ।  अर्कोतर्फ छिमेकी देशहरुबाट  रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न शहर बजारमा मात्र नभएर विकट गाउँहरुमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ। तर गर्वकासाथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ? त्यो भन्दा तल्लोस्तरको कामगर्न मुङ्गलाननै पस्नु पर्ने किन ? यस्तो नकारात्मक मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला? आफ्नो देशमा रोजगारी नपाएमा चारैतीर अभावै अभाव्बाट छटपटीई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन कष्टकर र अमानविय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? आदी प्रश्नहरुको विश्लेषणात्मक अध्ययन अनुसन्धान गरी सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुदैन ।

वर्तमान रोजगारीको नीतिगत व्यवस्था र अवस्था

नेपालको संविधानको धारा ३३ र ३४ ले प्रत्येक नागरिकको रोजगारी र श्रमको हक सुनिश्चित गरेको छ। राष्टिय युवा परिषद्ले युवाहरुको समग्र विकास र विस्तारका लागि दश वर्षे रणनीतिक योजना र कार्यक्रमका पाँच स्तम्भ तोकेको छ। यी स्तम्भहरुको सबल र सफल कार्यान्वयन गर्न सकेमा निश्चय नै युवाहरुको जीवनस्तर मात्रै परिवर्तन नगरेर देशको मुहार नै फेर्न अहम भूमिका खेल्नेमा दुईमत हुन सक्दैन्।  केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण २०७४।७५अनुसार नेपालमा बेरोजगारीको दर ११.४ प्रतिशत मध्ये पुरुष  १०.३ र महिलाको १३.३ प्रतिशत रहेको छ। सर्वेक्षणाले १५वर्ष वा सो भन्दा माथिको उमेरका जनसंख्या २करोड ७लाख ९४हजार मध्ये ७०लाख ८६हजार जनसंख्या रोजगारीको क्षेत्रमा संलग्न देखाएको छ।

रोजगारीमा शहरी क्षेत्र ६९.२ र ग्रामीण क्षेत्रमा ३०.८ छ। सर्वेक्षणअनुसार ३७.८ प्रतिशत औपचारिक र ६२.२ प्रतिशत आनौपचारिक क्षेत्रका आर्थिक क्रियाकलापमा रहेको पाइन्छ। र्आपचारिक क्षेत्रको रोजगारीको हिस्सा १५.४ र अनौपचारिकको ८४.६ प्रतिशत रहेको छ। आर्थिक बृद्धिका लागि श्रमशक्ति खपत हुने गरी रोजगार सिर्जना हुन सकेको छैन्।  राष्टिय योजना आयोगको १५औं योजनाको आधारपत्रमा औपचारिक क्षेत्रको रोजगारी हिस्सा ५०.० प्रतिशत पु¥याउने र बेरोजगारी दर ६.० प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।  पछिल्लो समय शिक्षित बेरोजगारी संख्या भयावहरुपमा बढेको छ। शिक्षाले सीपमूलक र उद्यमशलिता भन्दा पनि ज्ञानमूलक र सैद्धान्तिक बढी जोड दिइयो। शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखानाकोरुपमा परिभाषित हुदै जानु विकासको लागि शुभसंकेत होइन।

सरकारले श्रम र रोजगारलाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७६।७७को बजेटले  प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगार सेवा केन्द्रहरु मार्फत बेरोजगारहरुलाई विकास निर्माण काममा लगाउने नीति लिएको छ। वेरोजगार लक्षित सीप विकास र उद्याशीलता प्रवद्र्धन गर्न स्थानीय तहसँगको सहकार्यमा तालीमको व्यवस्थाले मौजुदा अवस्था सुध्रिने अपेक्षा गरिएको छ।

साथै युवाको जाँगर समृद्धिको आधार सार्थक बनाउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको  मनाउने अठोट गरी विभिन्न निकाय मार्फत युवा परिचालन गरिने नीति लिएको छ। राष्टिय युवा परिषद् र युवा स्वरोजगार कोषको संरचना परिवर्तन गरी युवाहरुलाई व्यवसायी नेतृत्व लिने गरी क्षमता अभिवृद्धि गर्ने लगायतका संकल्प बजेटमा समावेश गरिएको छ। सरकारको नीति तथा कार्यक्रमको सफलता असफलता कार्यान्वयवनमा संलग्न  जनशक्तिको इमान्दारिता र कार्यदक्षतामा भर पर्ने वास्तविकता हो।

युवा विकास र गुणस्तरीय तथा व्यावसायिक शिक्षा

युथभिजन २०२५ले आत्मसात गरेको युवा विकासका पाँच आधार स्तम्भ मध्ये गुणस्तरीय व्यावसायिक शिक्षा पहिलो र प्रमुख मानिएको छ। खासगरी युवाहरुको योग्यता क्षमता र राज्यको आवश्यकतालाई मध्यनजर राखी विश्व श्रमबजारमा खरो प्रतिष्पर्धी युवाजनशक्ति उत्पादन गर्ने लक्ष्यसहितको व्यावसायिक शिक्षा प्रदान गर्ने नीति युथ भिजनको देखिन्छ।

व्यावसायिक शिक्षालगायतका आधारस्तम्भहरु सशक्त कार्यान्वयनका लागि सरोकार राख्ने सरकारी गैर सरकारी निकाय बीच सहकार्यको महत्व उत्तिकै रहन्छ। युथ भिजनका ५ आधारभूत स्तम्भमा समावेश कार्यक्रमहरु अन्य मन्त्रालय र सरकारी गैरसरकारी निकायले पनि संचालन गर्ने नीति लिएको पाइन्छ। गुणस्तरीय व्यावसायिक शिक्षाको लक्ष्य प्राप्तिका लागि शिक्षा मन्त्रालय र मातहतका निकायसँगको सहकार्यको अपरिहार्यतालाई नकार्न सकिन्न। व्यावसायिक शिक्षा प्रदान गरेर दक्ष युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य सुगमतापूर्वक हासिल गर्न शिक्षाको जगको रुपमा रहेको  विद्यालय तहको शिक्षा व्यवहारिक र गुणस्तरीय  हुनु पर्दछ।

विद्यालयतहको शिक्षाको व्यवस्था र अवस्था

स्वरोजगार बन्ने बनाउने शिक्षा नीतिको अभाव खट्किएको देखिन्छ। आजको एकाइसांै शताब्दीमा विज्ञान र प्रबिधिमा भएका नयाँनयाँ आविष्कारले मानिसको जीवनशैलीलाई दिनदिनै परिमार्जन र परिष्कृत गर्दै लगेको छ ।

तर हाम्रा शिक्षण संस्थाहरुमा बर्षौं अगाडी बनाइएका पाठ्यक्रम पाठ्यपुस्तकका विषयवस्तुको पठन पाठन हुन्छन । यस्ता बासी विषयवस्तु र परम्परागत शिक्षण विधिबाट प्रतिष्पर्धी नागरिक उत्पादनको कल्पना गर्न सकिन्न । उच्च प्राप्तांकलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार तथा भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिईने प्रगतिशिल शिक्षा भन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउने तर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो ।

जसले श्रमको मर्यादा राख्दै भेदभावरहित भावना र व्यवहार भएको संस्कारयुक्त्र तथा कुनै कुरा सिकेपछी त्यसको आधारमा अन्य कुराहरु रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिष्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने  शिक्षा आजको आवश्यकता हो । संस्कृति र प्रकृतिलाई संरक्षण एवं परिमार्जन र परिष्कृत गर्दै समृद्ध समाज र देश बनाउने शिक्षा नीति र नियत गुणस्तरीय शिक्षा लक्षित हुनु पर्दछ ।

शिक्षणसंस्थामा साधानस्रोत जुटाउन राज्यले धक फुकाएर लगानी गर्न हिच्किचाउन हुदैन् । अनि अनुशासित र लगनशील विद्यार्थी, सचेत अभिभावक, समर्पित शिक्षक, कुशल नेतृत्व, चुस्त व्यवस्थापन, भविष्यदर्शी शैक्षिक योजना समसामयिक पाठ्यक्रम, जागरुक समुदाय गुणस्तरीय शिक्षाका लागि न्यूनतम् शर्त हुन ।

शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशिल जीवनोपयोगी आदी विशेषणबाट सम्बोधन गरिएको पार्ईन्छ । गुणस्तरीय शिक्षाको विकास र विस्तारमा राजनीति साधाक नभई बाधक भएको गुनासा र आरोपहरु वास्तविकताको नजिक छन् । गुणस्तर व्यावहारिक ज्ञानामा आएको परिवर्तन भन्दा पनि प्राप्ताङ्कको आधारमा निक्र्योल गर्ने प्रचलन प्रशस्तै  छ ।

जसको कारणबाट आमा बुबाको अर्थ नबुझने तर डयाड ममको संस्कारमा हुर्कने, दुध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदीको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिक भन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार  गरेर सिक्ने खालको शिक्षा नीतिको अवलम्वन गरिनु पर्दछ ।  शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ ।

दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको भविष्यदर्शी शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने बानीबेहोरा, चालचलन, चरित्रको आधारमा गुणस्तरिय शिक्षा परिभाषित गरिनु न्यायोचित हुन्छ । पेपर पेन्सील परीक्षाको आधारमामात्रै विद्यार्थीको उपलब्धीस्तर प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्म अनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्यांकन गर्ने उपायहरु खोजिनु पर्दछ ।

उच्च अंक प्राप्त गर्नेले त्यसको  औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्यांकन पद्दति कसरी विश्वसनीय र बस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकी एकसय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्दतिलाई पुर्नवालोकन गरिनुपर्दछ ।

त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ । अर्कोतर्फ विशिष्ट श्रेणीमा उतीर्ण भएकाहरु जसलाई उच्च गुणस्तर भनिन्छ, उनिहरुको व्यवहार अपेक्षाकृत सकारात्मक भएको  देखिन्न । सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साहि, ऊर्जाशिल  नागरिक वनाउने खालको व्यवहारिक पौरिख गरिखाने शिक्षा आजको आवश्यकता हो ।

शिक्षाले श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै उनीहरुको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदीलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तिव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रबिधिलाई कक्षा कोठामा प्रवेश परिवेश सिर्जना गरिनु पर्दछ । शिक्षण अन्य पेसा भन्दा मर्यादित छ ।

शिक्षकको चरित्रलाई अन्य पेसाहरु भन्दा उच्च र निस्कलंक हुन्छ भन्ने आदर्श दृष्टिकोण पौराणिक काल देखि नै आएको छ । गुरुलाई ब्रह्मा, बिष्णु, महेश्वरसंग गर्दै आएको जगजाहेर छ। तर अहिले कतिपय शिक्षकको कार्यशैली र चरित्रको कारणबाट शिक्षक प्रतिको सम्मान धमिलन थालेको छ । जवाफदेहिता र जिम्मेवारीको सवालमा पनि शिक्षण पेसा अन्य पेसा भन्दा महत्वपूर्ण नै छ । किनकी एकजना डाक्टरले गल्ती गरेमा एक दुइ जनाको ज्यान जान सक्छ, एकजना इन्जिनियरले गल्ती गरेमा घर, बाटो, पूल आदी भौतिक संरचना भत्केर केही व्यक्तिको जीऊधन जोखिममा पर्न सक्छ तर यदी एक जना शिक्षकले पेसागत धर्मबाट विचलित भएर गलत शिक्षा दिएमा एक पुस्ताको मात्रै नभएर देश कै  भविष्य डामाडोल हुन्छ। यी माथी उल्लेखित पेसा लगायत सबै पेसाको जननी शिक्षण पेसा नै हो ।

त्यसकारण शिक्षण पेसालाई मर्यादित र आदर्श बनाउन सरोकार  सबैले कुनै कसर बाँकी राख्नु हुन्न । शिक्षकले मर्यादा र गरिमा मागेर हैन व्यवहारबाट आर्जन गर्नुपर्छ ।

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक  विभिन्नतालाई उच्च मूल्यांकन गरेर सोही अनुसार अधिकतम संवोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनु पर्दछ । अतः शिक्षकले सर्वप्रथम वालवालिकाको पृष्ठभूमिलाई पढनु पर्छ, अनि मात्र त्यसलाई संवोधनगर्ने गरी शिक्षणका विषयवस्तु र विधिको छनौट गरिनुपर्दछ । अभिभावकले अंगालेको पेसालाई सम्मानपुर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनु फलदायी हुन्छ ।

विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जूमा र सम्पन्न गर्न जिम्मेवारीपुर्वक सक्रिय सहभागि गराउने परिस्थिती बनाउनु पर्दछ । विद्यार्थीले सामान्यतया ६ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदाय प्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरुमा गरिनुपर्र्र्र्र्र्र्र्दछ ।

विद्यालयले घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यार्थीको पठनपाठन बारेमा अभिभावकासँग निरन्तर सम्पर्क राख्ने नीति लिइनु पर्दछ । पारिवारिक  वातावरण पनि बालबालिकाको रुची क्षमता अनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भैराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्न सहज अवसर पाउने खालको हुनुपर्दछ । उनीहरुको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशालि बनाउँदै  निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो।

बालबालिका भन्दा हामी जान्ने छौं हामीले भनेको मात्र उनीहरुले मान्नु पर्दछ भन्ने  पुरातनवादी सामन्ति सोचका आधारमा उनीहरुलाई जबरजस्त लादने खालको विषयवस्तु र विधी भन्दा पनि उनीहरुको क्षमताको माग अनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादनको पहिलो शर्त हो। कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकता अनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठयक्रम निर्माण र कार्यान्यवन गरिनु पर्दछ। व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरुमा आत्मवल र आत्मविश्वास बढाउने खालको  शैक्षिक नीति तथा कार्यक्रमको जरुरी पर्दछ ।

बालबालिकाको सक्रिय सहभागिता विद्यालय भित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्ष रुपमा  बढाउन बालक्लबलाई स्थापना गरी सक्रिय बनाउनु बुद्धिमानी हुन्छ । उनिहरुमा आत्मबल र आत्मविश्वासको बृद्धि र विकास गर्न  सामाजिक तथा परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागि हुन  प्रोत्साहित गरिनु पर्दछ। किनकि विद्यार्थीहरु भविष्यका कर्णाधार र वर्तमानका साझेदार हुन भन्ने मान्यता अनुरुप उनीहरुको सलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्दछ ।

अन्त्यमा,

मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । जीवन र जगतसँग साक्षात्कार गर्दै घोकन्ते भन्दा पनि अभ्यास र अनुभवबाट हासिल गरेको व्यावहारिक ज्ञान र सीप दिगो हुने वास्तविकता हो ।

सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र ंसमायानुकुल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकारात्मक नागरिक शिक्षाले  उत्पादन गर्नुपर्दछ । ठूलोमान्छे भन्दा पनि असल नागरिक बन्न प्रे्ररित अर्थात  आफ्नो खुट्टामा उभिने पौरखी नागरिक बन्ने  अभ्यास गर्ने थलोकोरुपमा शिक्षणसंस्था विकसित गर्न सकेमा मात्र गुणस्तरीय रोजगारमूलक शिक्षकोा सुनिश्चित गर्न सकिएला ।  शिक्षाले दैनिक जीवनमा आईपर्ने चुनौतीलाई सहजरुपमा सामना गर्न सक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नु पर्दछ ।

परावलम्बी भन्दा पनि श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादनगर्नेे उद्देश्यकेन्द्रित शिक्षा नीति तथा कार्यक्रम हुनुपर्दछ । रोजगारीको लागि अरुको मुख ताक्ने नभई रोजगार सिर्जना गर्न सक्ने आत्मबल र आत्मविश्वास भएको उत्साही बहुआयमिक क्षमता देखाउने जनशक्ति उत्पादन गर्ने शिक्षाको मार्गचित्र हुनुपर्दछ ।

सन्दर्भ सामग्री

       कानून किताब व्यवस्था समिति २०७२, नेपालको संविधान, काठमाडौं।

       राष्टि युवा परिषद् २०७३, राष्टिय युवा परिषद् ऐन, २०७२ तथा राष्टिय युवा परिषद् नियमावली,२०७३ लेखक।

       राष्टिय युवा परिषद् तथा निर्देहक दस्तावेजहरु २०७४, लेखक ।

       युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना र राष्टिय युवा नीति २०७२, लेखक।

Facebook Comments Box

ad ad