मन्थली बचतको मुनाफा ५८ लाख भन्दा बढी

अर्थ प्रदेश ३ समाज

रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ५८ लाख १४ हजार ८ सय ६२ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

संस्थाले एक वर्षको अवधिमा उक्त मुनाफा कमाउन सफल भएको हो । संस्थो आफ्नो २४ औं वार्षिक साधारणसभाको अवसरमा मन्थलीमा आयोजीत कार्यक्रममा उक्त विवरण सार्वजनिक गरेको हो । साधारणसभामा एकवर्षको अवधिमा संस्थाले कर्मचारी र संस्थाको विभिन्न शिर्षकमा गरेको सम्पूर्ण खर्च कटाएर मुनाफा कमाएको जानकारी संस्थाका कोषाध्यक्ष टीकाप्रसाद भट्टले कोषाध्यक्षको प्रतिवेदन मार्फत जानकारी दिए ।

उनले २४ वर्ष अघि ११ जना शेयर सदस्यहरुले १÷१ हजार रुपैयाँबाट आरम्भ गरेको उक्त संस्थाको शेयर पूँजी हालसम्म ९ करोड ६ लाख ६८ हजा २ सय पुगेको छ । त्यस्तै बचत संकलनतर्फ ८२ करोड ५० लाख ९५ हजार २ सय ३१ रुपैयाँ पुगेको छ । त्यसैगरी ऋण लगानीतर्फ ६४ करोड ३९ लाख २९ हजार ७८ रुपैयाँ गरि कूल सम्पती ९८ करोड ७७ लाख ३९ हजार ३ सय ६० रुपैयाँ रहेको जानकारी पनि कोषाध्यक्ष भट्टले गराए ।

त्यसैगरी साधारणसभामा संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गर्दै सचिव गोबिन्दप्रसाद घिमिरेले हालसम्म संस्थाले मन्थली नगरपालिकाको वडा नं १ देखी १४ सम्मका साबिकका सबै गाविसहरु, रामेछाप नगरपालिकको वडा नं ७,८ र ९, लिखुतामाकोशी गाउँपालिकाको वडा नं ३,४,५ र ७ तथा खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ लाई कार्यक्षेत्र बनाउँदै आएको जानकारी गराए ।

जसकाकारण २४ वर्षको विचमा कूल १४ हजार शेयर सदस्यहरु पुगेको र अहिलेसम्म संस्थाप्रति शेयर सदस्यहरुले देखाएको सद्भावप्रति धन्यवाद समेत व्यक्त गरे । प्रतिवेदनका अनुसार विगतमा भएको कोरोना संक्रमणको अवस्थामा पनि संस्थाले आफ्ना शेयर सदस्यहरुको हितमा उल्लेख्य काम गरेको जानकारी गराए ।


संस्थाको सक्रियताका कारण केही मात्रामा भएपनि उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न उत्तिकै महत्वपूर्ण भूमिका रहेको भन्दै संस्थाले “मन्थली बचतको चाहना सदस्यको आर्थिक सम्बृद्धिको कामना” भन्ने मूल नारालाई अगिंकार गरेको कारण शेयर सदस्यको हितमा संस्थाले अब्बल काम गर्न सफल भएको भन्दै यसलाई अझ उचो बनाउन संस्थाले थप अभियान चलाउने पनि सचिवको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसका लागि यसवर्ष मन्थली र रामेछाप नगरपालिकाका बाँकी रहेको सबै वडाहरुमा कार्यक्षेत्र विस्तार गर्न लागेको जानकारी दिदै घिमिरेले त्यस बापत कूल ५ हजार जना शेयर सदस्यहरु थप गर्ने निति संस्थाले लिएको बताए । संस्थाले आफ्ना शेयर सदस्यहरुको लागि बेलाबेलामा पाठेघरको शल्यक्रिया, हाइड्रोशिल, मोतिया बिन्दुको शल्यक्रिया लगाएतका कामहरु गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप सुविधा दिन लागेको पनि आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा आफ्ना शेयर सदस्यहरुलाई चालू आर्थिक वर्ष २०७८÷८९ मा उल्लेखित सुविधाको अलावा हार्डजोर्नी, नाक कान घाँटी, मृगौला र दाँत सम्वन्धी परीक्षण गर्नका लागि आवश्यक प्रक्रिया अवलम्वन गर्ने पनि बताए । त्यसबाहेक तामाकोशी अस्पतालमा दिदै आएको उपचार शुल्कमा १५ प्रतिशत छुटको प्रावधानलाई निरन्तरता दिने, सरकारी स्वास्थ्य विमाको कार्यक्रमलाई शेयर सदस्य मैत्री बनाउँदै संस्था विमा कार्यक्रमा सहभागीता बृद्धि गर्ने जस्ता काम गर्ने लगाएतका ३० वटा बुँदामा काम गर्न लागेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक टंकप्रसाद दाहालले लेखा सुपरीवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गरेका राम्रा कामहरुको बारेमा उल्लेख गर्दै ऋण लगानी, भाका नाघेको ऋण तथा किस्ताको असुली, सदस्यको स्वरोजगार आम्दानी बृद्धि तथा एक्सेस मापदण्डको सवै सूचकहरुमा आवश्यक अनुसारको सबै सुझावहरु प्रतिवेदनमा उल्लेख गरिएको थियो ।


कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली बचत तथ ऋण सहकारी संस्था जिल्लाकै अग्रणी सहकारी भएकाले उसले जिम्वेवारी पूर्वक तरिकाले काम गर्नुपर्ने बताए । उनले ११ जना शेयर सदस्हरुले ११ हजार बाट शुरु गरेको संस्थाले आफ्नो कारोबारमा अर्ब नघाउनु गर्भको विषय भएको भन्दै संस्थाको विकासको लागि आफुले पनि सहयोग गर्ने बताए ।

साधारणसभामा प्रमुख बस्नेतले आफुले साढे चारवर्षको अवधिमा नगरपालिकामा गरेको कामको विवरण पेश गरेका थिए । उनले आफ्नो कार्यकालमा सबै क्षेत्रको विधामा केही न केही काम गरेको सन्तुष्टि व्यक्त गर्दै सहकारीको सुधारको लागि पनि थप काम गर्न आफु तयार रहेको बताए । संस्थाका अध्यक्ष ध्रुवप्रसाद सुवेदीको अध्यक्षतामा भएको उक्त साधारणसभाले गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा आगामी ४ वर्षको लागि नयाँ नेतृत्व समेत गठन गरेको छ ।

जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः चन्दा खड्का, हिमाल ढुंगेल र टीकाप्रसाद भट्ट रहेका छन् । सर्वसम्मत रुपमा भएको उक्त समितिका सदस्यहरुमा क्रमशः महेश घिमिरे, गौतमकुमार श्रेष्ठ, नविन के.सि. र नानीमैया माझी रहेका छन् । साधारणसभाले टंकप्रसाद दाहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति पनि गठन गरेको छ ।

Facebook Comments Box