रामेछाप । वडामा एम्वुलेन्स नहुँदा विरामी भएका नागरिकहरुले उपचारको लागि अस्पताल जान समस्या झेल्दै आएपछि रामेछाप नगरपालिकाले २ वटा एम्वुलेन्स खरिद गरेर दिएको एम्वुलेन्स गाउँमा पुगेपछि वडाबासीमा खुशियाली छाएको छ ।
यसअघि एम्वुलेन्स नहुँदा सास्ती खेप्दै आएका रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरका नागरिकहरुले अव बिरामी पर्दा उपचारको लागि अस्पतालसम्म सहजै जान पाउने भएका छन् । रामेछाप नगरपालिकाले भन्सार छुट सहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैयाँ रकम खर्चेर दुईवटा एम्वुलेन्स खरिद गरि दुईवटा वडालाई मंगलवार एम्वुलेन्स हस्तान्तरण गरेको हो ।
उक्त एम्वुलेन्सको साँचो रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगर र उप–प्रमुख सृजना खड्काले सयुक्तरुपमा वडा नं १ का वडा अध्यक्ष नरवहादुर थापामगर र वडा नं ५ का वडा अध्यक्ष भिमवहादुर तामाङ्गलाई हस्तान्तरण गरेका हुन् । वडा कार्यालयमा एम्वुलेन्स नहुँदा गाउँमा विरामी परेको बखत, भाडाका सवारीसाधन कित बोकेकै भरमा विरामीलाई अस्पतालसम्म लैजानु पर्ने वाध्यता बाट बल्ल मुक्ती मिलेको वडा नं ५ का वडा अध्यक्ष भिमवहादुर तामाङ्गले जानकारी दिए ।
उनले भने– एम्वुलेन्स नहुँदा गाउँका नागरिकहरुले यसअघि धेरै सास्ती खेपे । कतिपय गर्भवती महिला ब्यथा लागेर उपचारको लागि अस्पतालसम्म लैजादै गर्दा बिच वाटोमा नै अकालमा ज्यान गुमाउनु परो भने कतिपय जेष्ठ नागरिकहरुलाई उपचारको लागि लैजादै गर्दा अस्पताल नै नपुगी धेरैले ज्यान गुमाए । बिगतलाई फर्केर हेर्दा अबका दिनमा वडा भित्रका नागरिकहरु कसैले पनि उपचारको अभावमा ज्यान गुमाउने छैनन् ।
गाउँमा गम्भिर प्रकृतिका विरामी भएमा ती विरामीको उपचारको लागि अस्पतालसम्म लैजान यसअघि डोको, ओलिनकाठको प्रयोग गरिदै आएका थियौ । पछि गाउँमा सडक संचालनमा आएपछि महङ्गो मूल्य तिरेर भाडाका गाडिमा विरामीलाई अस्पतालसम्म लैजानु पर्ने वाध्यता थियो । बिरामीका आफन्तले पैसा तिर्छु भन्दा पनि भनेको समयमा यातायातका साधनहरु गाउँमा पाउन नसक्दा उपचार बिना नै अकालमा धेरै नागरिकहरुले ज्यान गुमाउनु परेको पिडावाट अब मुक्ती मिलेको रामेछाप नगरपालिका वडा नं १ का वडा अध्यक्ष नरवहादुर थापामगरले जानकारी दिए ।