मासु भाग नमिलेको भन्दै बिबाद ः चिर्पटले हानि एकको हत्या

प्रदेश ३ समाज

सिन्धुली । मासु भाग लगाउने क्रममा मासु घटी बढी भएको भन्दै बिवाद भएपछी चिर्पटले हान्दा एक युबकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ छतिवन बस्ने २१ वर्षीया बिक्रम लामगादे , सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर बिच बिबाद भएको थियो । लामगादेलाई बिबादको क्रममा चिर्पट प्रहार गरि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिएको छ ।
बुधबार फूलपातीको अवसरमा गाउँमै स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा लामगादेमाथि दाउराको चिर्पट प्रहार गर्दा लामगादे गम्भीर घाइते भएका थिए । घाइते भएपछी लामगादेलाई उपचारको लागी जिल्ला अस्पताल सिन्धुलीमा लगि भर्ना गरिएको थियो । लामगादेको उपचारको क्रममा बुधबार दिउँसो २ बजे जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको एसपि थपलियाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् । हत्या सम्बन्धी थप अनुसन्धान भइरहेको एसपि थपलियाले बताए ।

Facebook Comments Box