प्रशासनको फितलो अनुगमन– सरकारी कार्यालयमा ज्यादती बढ्दो

Uncategorized

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै सरकारी कार्यालयमा बेलाबेलामा गर्नुपर्ने अनुगमन फितलो गरेका कारण सरकारी कार्यालयमा कार्यरत कार्यालय प्रमुख देखी सरकारी कर्मचारीको समेत ज्यादती बढ्दै गएको छ ।

प्रशासनको नियमित अनुगमन नहुँदा जिल्लाका अधिकासं सरकारी कार्यालयका कर्मचारीहरु कार्यालय समयमा उपस्थित नहुने र कार्यालय समय नसकीदै घर जाने पुरानो परम्परा अझै छदैछ । अर्कोतिर नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयमा जडान गरिएका ल्याडलाइन टेलिफोन नउठ्दा सेवाग्राहीहरु मारमा परेका छन् । सरकारी कार्यालयले प्रदान गर्ने सेवा सुविधाका विषयमा जानकारी लिन पटक–पटक कार्यालयमा टेलिफोन गर्दा समेत टेलिफोन उठ्दा सेवाग्राहीले हैरानी व्यहोर्दै आएका छन् ।

सरकारी कार्यालयका टेलिफोन नउठ्दा टेलिफोन वाटै पाउनु पर्ने सुविधावाट समेत नागरिकहरु वञ्चित हुनु परेको नागरिक समाजका अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले भने– सरकारी कार्यालयको टेलिफोन नउठ्नु भनेको कार्यालय प्रमुखको गम्भिर लापरवाही हो । स्थानिय प्रशासनको कडाईका साथ अनुगमन र कार्वाही नहुँदा सरकारी कार्यालयका कर्मचारीले प्रशासनको डर समेत मान्न छाडेका नागरिक समाजका सदस्य ढुंगेलले बताए ।


प्रायजसो सरकारी कार्यालयको नाममा जडान भएका अधिकासं टेलिफोन उठ्दैनन् । यसवाहेक जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै सरकारी कार्यालयमा सूचना अधिकारी राखेको छ । ती सवै सूचना अधिकारीलाई प्रशासन कार्यालयले टेलिफोन नम्वर सहितको सिम कार्डको व्यस्थापन गरेको छ । प्रशासन कार्यालयले सूचना अधिकारीलाई चौविसै घण्टा कुनै पनि नागरिकले कार्यालयको सेवा र सूचनाको विषयमा जानकारी माग्दा दिन निर्देशन दिएको भएता पनि सूचना अधिकारीले प्रशासनको निर्देशन लत्याउँदै आएका छन् ।

अहिले प्रशासनले सूचना अधिकारीलाई दिएको टेलिफोन नम्वरमा फोन गर्दा धेरै मोवाइल स्वीच अफ छन् भने कतीपय सूचना अधिकारीको नम्वरमा टेलिफोन लागे पनि फोन समेत नउठ्दा सेवाग्राहीहरु सेवा लिनवाट वञ्चित हुनु परेको छ । मालपोत कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई (स्थानिय पूर्वाधार), जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय र नापी कार्यालय लगाएतका कार्यालयमा पटक–पटक टेलिफोन गर्दा पनि टेलिफोन नउठ्दा हैरानी खेप्नु परेको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरवासका सुकराम घिसिङ्गले जानकारी दिए ।

उनले भने– गाउँका सबै नागरिकहरुको सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारीको नम्वर लिनसक्ने पहुँच हुँदैन । नागरिकहरुले बल्लबल्ल कार्यालयको नम्वर पत्ता लगाएर सेवा र सुविधाको विषयमा जानकारी लिन खोज्दा पटकपटक टेलिफोन गर्दा पनि कार्यालयको टेलिफोन उठ्दैन । जसका कारण सेवाग्राही गाउँवाट सदरमुकाम मन्थलीसम्म धाएर आउँछन् त्यहीँ बेला कार्यालय प्रमुख जिल्ला वाहिर हुने गर्दा सेवाग्राही त्यतीकै रित्तो हात फर्कन वाध्य हुनु परेको गुनासो पनि घिसिङ्गले बताए ।


जिल्लाका सवै सरकारी कार्यालयले अनिवार्य रुपमा कार्यालय समयमा टेलिफोन उठाउनु पर्ने, टेलिफोन उठाउन नभ्याएको खण्डमा सेवाग्राहीको नम्वर हेरी ब्याककल गर्नुपर्ने रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले जानकारी दिए । उनले भने– सरकारी कार्यालयका सूचना अधिकारीले टेलिफोन स्वीच अफ गर्नै पाउँदैनन् । यस विषयमा तत्काल सवै सरकारी कार्यालयलाई परिपत्र गर्ने पनि प्रजिअ सैजुले बताए ।

सरकारी कार्यालयको टेलिफोन नउठाएकोे बिषयमा यसअघिका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक कार्यक्रमहरुमा पनि चर्को आवाज उठेको थियो । सार्वजनिक कार्यक्रममा उठेका विषयलाई लिएर जिल्ला प्रशासनले तत्काल सवै सरकारी कार्यालयलाई अनिवार्य रुपमा कार्यालयको टेलिफोन उठाउन निर्देशन दिएको थियो । प्रशासनले दिएको निर्देशन केही समय लागु गरेका सरकारी कार्यालयका कर्मचारीले पछिल्लो समय लथालिङ अवस्थामा कार्यालय चलाउँदै आएका छन् ।

Facebook Comments Box
ad