एउटै गाउँमा ४० जना संक्रमित, गाउँनै शिल गरेर उपचार शुरु

प्रदेश ३ स्वास्थ्य

रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ लामागाउँमा कोरोना परिक्षण गर्ने क्रममा ४० जनामा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि उक्त गाउँनै शिल गरेर उपचार शुरु गरिएको रामेछाप नगरपालिकाले जनाएको छ ।
लामागाउँमा धेरै व्यक्तिमा जरो आउने, टाउँको दुख्ने, शरिरका विभिन्न भागहरु दुख्ने जस्ता लक्षण देखापरेको भन्दै स्थानियहरुले जानकारी गराएपछि रामेछाप नगरपालिका स्वास्थ्य शाखा मार्फत चिकित्सक सहितको टोली गाउँमा पुगेर एन्टिजेन परिक्षण गरेको थियो । सो परिक्षणमा गाउँका ४० जनालाई नै कोरोना संक्रमण पुष्टि भएको रामेछाप नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिष्णुवहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार– रामेछाप वजार नजिकै रहेको उक्त गाउँमा एकैपटक ४० जनामा कोरोना संक्रमण पुष्टि भएकाले दश दिनसम्मको लागि पुरै गाउँ शिल गरिएको छ । संक्रमित विरामीहरुको लागि आवश्यक औषधी र रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी समेत बितरण गरिएको छ । गाउँमा आवतजावत गर्दा कोरोना अन्य व्यक्तिमा पनि सर्न सक्ने भन्दै गाउँनै शिल गरिएको स्वास्थ्य प्रमुख कार्कीले बताए ।
कोरोना संक्रमित विरामीहरुलाई वितरण गरिएको औषधी अपुग भएमा वा संक्रमित विरामीको स्वास्थ्यमा थप समस्या भएमा तत्काल अस्पताल ल्याउने तयारी समेत स्वास्थ्य शाखाले गरेको छ । संक्रमित विरामीलाई अस्पताल ल्याउन २४ सै घण्टा एम्वुलेन्स र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन मिलाइएको रामेछाप स्वास्थ्य शाखाले जनाएको छ ।


नौ वटा वडा कार्यालय रहेको रामेछाप नगरपालिकामा हालसम्म २ सय ६३ जनामा कोराना संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म १ सय ६२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । त्यसैगरी ८७ जना हाल होमआइसोलेसनमा बसेर कोरोनासँग लड्दै गरेका छन् । नगरपालिका भित्र कोरोना संक्रमित भएर रोगलाई जित्न नसक्दा कोरोनाले ४ जनाको ज्यान लिएको छ ।
रामेछाप नगरपालिकाले कोरोना संक्रमितको लागि एम्वुलेन्स, स्वास्थ्य कर्मचारी तयारी अवस्थामा राखेको छ । त्यसैगरी कोरोना संक्रमित विरामीहरुलाई रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले टेलिफोन मार्फत दैनिक जसो जानकारी लिने गरेका छन् । विरामीलाई समस्या परेको बखत तत्काल स्वास्थ्यकर्मी विरामीको घरघरमा पठाउने गरेको रामेछाप नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
ad