माझीले दिए प्रहरीलाई निःशुल्क जग्गा दान

प्रदेश ३ समाज

रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका थलमान माझीले आइतवार आफ्नो नाममा रहेको १ रोपनी क्षेत्रफलको जग्गा प्रहरी चौकी लुभुघाटको नाममा मालपोत कार्यालयमा आएर रजिष्ट्रेसन पास गरेर दिएका छन् ।

जग्गा अभावमा व्यक्तिको घरमा भाडा लिएर बस्दै आएको प्रहरी चौकीलाई आफ्नै भवन हुँदा काममा सहज हुने देखेर आफ्नो नाममा रहेको जग्गा निःशुल्क रुपमा रजिष्ट्रेसन पास गरेर जग्गाधनी प्रमाण पूर्जा जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई वुझाएको जग्गादाता थलमान माझीले बताए । उनले भने– जग्गा अभाव खेप्दै आएको प्रहरी चौकीलाई मैले जग्गा दिएको छु, अब त प्रहरीको भवन बन्छ की भन्ने आशामा छु ।

लामो समयदेखी खाँडादेवीको लुभुघाटमा रहेको प्रहरी चौकीले आफ्नो नाममा जग्गा नभएको भन्दै भवन निमार्ण गर्न सकेको थिएन । भवन अभावमा पनि लुभुघाट प्रहरी चौकी हाल व्यक्तिको घरमा भाडा लिएर बस्दै आएको छ । छिमेकी जिल्ला काभ्रे र रामेछापको सिमानामा पर्ने लुभुघाट प्रहरी चौकी सुरक्षाको हिसावले संवेदनशिल क्षेत्रको रुपमा लिइन्छ ।

प्रहरी चौकीको आफ्नै जग्गा नहुँदा भवन वनाउने प्रक्रिया अघि वढाउन सकिएको थिएन । स्थानिय थलमानले दिएको जग्गा प्रहरी चौकीको नाममा प्राप्त भएपछि हामीलाई भवन निमार्ण गर्ने प्रक्रिया अघि वढाउन सहज भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले जानकारी दिए ।

Facebook Comments Box

ad ad