बोयर बाेकाकाे माग बढ्दो, बाख्राको पेटमा भएको पाठापाठी नजन्मदै बैना

कृषि प्रदेश ३
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामेछाप । पहिलो पटक अफ्रिकाबाट बोयर जातको बाख्रा तथा बोका पालन शुरु गरेको सुनौला बाख्रा फार्म मन्थलीले किसानको माग अनुसारको बाख्रा तथा बोका पुर्याउन सकेको छैन् ।
पछिल्लो समयमा बोयर जातको बाख्रा तथा बोकाको माग अत्याधिक आउन थालेको छ । यतीसम्म कि किसानहरुले बाख्रा नब्याउँदै बाख्राको पेटमा भएको पाठापाठीको समेत बैनासम्म गर्ने गरेका छन् । बोयर जातको बाख्रा उन्नत जातको हुने र यसवाट उत्पादित पाठापाठी बढी तौलको हुने भएकाले रामेछापका पशुपालक किसानहरुको रोजाईमा बोयर जातका बाख्रा परेको हो ।
बाख्रापालक किसानहरुको आय आर्जनमा अभिबृद्धि गर्ने तथा पशुजन्य खाद्यय पौष्टिक पदार्थको पहुँच र उपलव्धतामा सुधार ल्याउने उद्धेश्यले सुनौला बाख्रा फार्मले अफ्रिकावाट बाख्रा खरिद गरि जिल्लामा बाख्रा फार्म संञ्चालन गरेको हो । बोयर जातको बोकावाट लोकल बाख्रामा क्रस गराएर जन्मने पाठापाठीको माग अत्याधिक मात्रामा रहेको सुनौला बाख्रा फार्मका प्रोपाइटर साधुराम ढुंगेलले जानकारी दिए ।
उनले भने– बोयर जातका बाख्रा र बोकाको जिल्लामा अत्याधिक मात्रामा माग रहेको छ । जिल्ला बाहेक ओखलढुङ्गा, दोलखा, काभ्रे, सिन्धुली, सोलु, सिन्धुपाल्चोक र भक्तपुर लगाएतका ३५ वटा जिल्लामा फार्मवाट उत्पादित बोका तथा बाख्राहरु विक्रीवितरण गरिसकेका छौं । यसवाहेक अहिले पनि त्यतिकै मात्रामा माग भएकाले किसानको माग अनुसार बाख्रा पुर्याउन सकेका छैनौ प्रोपाइटर ढुंगेलले बताए ।
सदरमुकाम मन्थलीमा संञ्चालित सुनौला बाख्रा फार्मले अफ्रिकावाट ल्याएको बोयर जातको बाख्रा तथा बोका गरि हालसम्म ४० वटा विक्रिवितरण गरेको छ । त्यसैगरी फार्मले लोकल बाख्रासँग बोका क्रस गरि जन्माएका १ सय भन्दा वढी बाख्रा र बोका विक्री गरि करिव १ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको जनाएको छ ।


स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले पहाडी जिल्लाहरुमा बोयर जातको प्रजनन बोकाको माग अत्याधिक रहेको पशु सेवा शाखा मन्थलीका पशु प्राविधिक रोहिणीराज चापागाईले जानकारी दिए । उनले भने– अन्य जातको बोका भन्दा बोयर जातको बोका चाडै फस्टाउने भएको र मासुजन्य उत्पादनका लागि समेत उपयुक्त हुने भएकाले पनि यसको माग दिनप्रतिदिन बढेको पशु प्राविधिक चापागाईले बताए ।
बोयर जातको बोका प्रतिदिन ३ सय ग्राम देखी ३ सय ५० ग्रामसम्म दैनिक बढ्ने र मासुजन्य उत्पादनमा पशुपालक किसानहरुलाई बढी फाइदा हुने भएकाले किसानहरुको रोजाईमा बोयर जातको बोका परेको हो । बोयर जातको बोकाको प्रतिकिलोग्राम बजार मूल्य जिउँदै एक हजार सम्म पर्ने गरेको छ ।


पछिल्लो समय रामेछापका किसानहरु प्रजनन बोयर जातका बोका पालनमा आकर्षित हुन थालेका हुन् । बोयर जातका बोका छोटो समयमा छिटो फस्टाउने र मासुजन्य उत्पादनमा बोयर जातको बोकाको माग अत्याधिक रहेको र स्थानिय जातको बोकाको भन्दा बजार मूल्य र माग वढेपछि जिल्लाका किसानहरु प्रजनन बोयर बोका पालनमा आकर्षित भएको मन्थली नगरपालिका वडा नं १ किसान पिताम्वर श्रेष्ठले जानकारी दिए ।
जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरि करीव दश दर्जन भन्दा बढी स्थानमा अहिले बाख्रा फार्म दर्ता गरि व्यवसायिक रुपमा संञ्चालन गरिएको छ । सबै बाख्रा फार्मका सञ्चालकहरुको माग बोयर जातको बोका र पाठी रहेको छ । सबैको रोजाईमा उन्नत जातका बाख्रा र बोयर जातका बाख्राको माग बढ्दै गएपछि पुराना तथा रैथाने बाख्रा हराउँदै जान थालेका छन् ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad