तीनजना युवतीहरुको आक्रमणमा परेका नेपाली चालकलाई ५० हजार डलर सहयोग, भिडियो सहित

विश्व

काठमाडौँ, नेपाली चालक शुभाकर खड्कामाथि तीनजना युवतीहरुले दुर्व्यवहार गरेको भिडियो विश्वर भाइरल भए संगै खड्कालाई ५० हजार
अमेरिकन डलस सहयोग जुटेको छ । ललितपुर घर भएका चालक खड्का सन् २०१२ मा अमेरिका पुगेका थिए ।
अमेरिकाको सन फ्रान्सिस्कोमा उबर (एक प्रकारको ट्याक्सी जस्तै सवारी साधन) चालक रहेका शुभाकर खड्कामाथि तीनजना युवतीहरुले गत आइतबार दुर्व्यवहार गरेका थिए । नेपाली युवक ३२ वर्षीय खड्का उबर चालक हुन् । उनको सवारीमा तीन जना महिला यात्रु चढेका थिए तर ती महिला यात्रुलाई चालक खड्काले मास्क लगाउन अनुरोध गर्दा उनीमाथि उल्टै आक्रमण भएको हो ।
खड्कामाथि भएको त्यो आक्रमण र दुर्व्यवहारको भिडियो र सो बारेको समाचार अहिले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाएको छ । चालक शुभाकरले नियमअनुसार मास्क लगाउन अनुरोध गर्दा युवतीहरुले अटेर गरेका थिए । मास्क नलगाएमा आफूले सेवा नदिने बताएपछि ती मध्य एक युवतीले उनीमाथि आक्रमण गरेकी हुन् ।
चालक खड्काले आफूमाथि दुर्व्यवहार भएको भन्दै फ्रान्सिस्को प्रहरीमा छानबिनका लागि उजुरी दिएका थिए । प्रहरीले ती आक्रमणकारी युवतीको पहिचानका लागि छानबिन सुरु गरिसकेको बताइएको छ ।
खड्काले आफूलाई रंगभेदी आशयले आक्रमण गरिएको भन्दै दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका छन् । ट्याक्सीका ती यात्रुहरुको पहिचानका लागि प्रहरीले अनुसन्धान र खोज सुरु गरिसकेको सन फ्रान्सिस्को प्रहरीका प्रवक्ताले जनाएको छ ।
आप्रवासी नागरिकले अमेरिकामा रंगभेदी दुर्व्यवहार खेप्नुपरेको भन्दै अहिले खड्काको सहयोगमा रकम संकलन अभियान नै चलाइएको छ । चालक खड्कालाई सहानुभुति दिने र उनका लागि सुरु गरिएको आर्थिक सहयोग संकलन अभियानमा सहयोग रकम दिनेहरु बढिरहेका छन् ।
अमेरिकी भूमिमा दुर्व्यवहारको सिकार भएका नेपाली चालक खड्काको सहयोगार्थ क्राउड फन्डिङमार्फत ५० हजार डलरभन्दा बढी रकम संकलन भइसकेको छ । गोफन्डमी डट ओआरजीमा यो समाचार तयार पार्दासम्म (बिहीबार बिहान) ५० हजार ३५१ डलर सहयोग रकम संकलन भैसकेको छ ।
सियान बनिस्टर नामक एक प्रयोगकर्ताले गो फन्ड मी मा खड्काको तर्फबाट उक्त सहयोग रकम संकलन अभियान चलाएका हुन् । सो अभियानमार्फत २० हजार डलर संकलनको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा दोब्बर बढी सहयोग संकलन भइसकेको छ ।

Facebook Comments Box

ad ad