बाँसको माग बढ्दो

अर्थ कृषि
  • 87
    Shares

रामेछाप । पछिल्लो समय बाँसको माग बढ्दो छ । बाँसबाट विभिन्न सामाग्रीहरु निमार्ण हुने भएकाले गाउँमा उत्पादित बाँसको बिक्रीबाट मूल्य राम्रो आउन थालेपछि किसानहरुमा खुशीयाली छाएको हो ।
जिल्लामा उत्पादित बाँस जिल्लामा नै खपत हुने गरेको छ । किसानहरुले आफ्नो जमिनको खोलाखोल्सामा लगाएका बाँस गाउँमै विक्री हुने र मूल्य पनि राम्रो आउने भएपछि किसानहरु पछिल्लो पटक बाँस खेती तर्फ लागेका छन् । बाँसको घाँस वस्तुभाउँलाई खुवाउँदा पोषिलो हुने हुँदा घाँसको रुपमा प्रयोग गर्ने गरिन्छ ।
त्यस्तै बाँसवाट गाउँघरमा प्रयोग हुने कटेज, कुखुरा र बाख्राको खोर निमार्ण, अस्थायी रुपमा प्रयोग गरिने तरकारी खेती र गोलभेडाको टनेल निमार्ण गर्न, मुडा, टेवल र दराज राख्न र घर निमार्णमा खट निमार्ण, डोको बुन्न, नाङ्लो, चाल्नो र घरछाउने बाता काट्न प्रयोग गरिन्छ । यसरी बाँसवाट धेरै काम हुने हुँदा बाँसको माग बढ्दै गएको मन्थली नगरपालिका वडा नं–१३ फुलासीका किसान मिनबहादुर अधिकारीले जानकारी दिए ।
किसानहरुले लगाएको बाँस प्रति गोटा एकसय रुपैयाँ देखी डेढसय रुपैयाँसम्ममा घरमै विक्री हुने गरेको छ । किसानले आफ्नो घरमा प्रयोग गरेर बचेको बाँस बिक्रीवाट समेत मनग्ये आम्दानी लिन थालेपछि गाउँका अन्य किसानहरुले पनि आफ्नो पाखो वारीको कान्ला र खोल्सामा बाँस लगाउन शुरु गरेका छन् ।
गाउँघरमा मात्रै हैन् शहरवजारमा समेत घर निमार्ण गर्दा खटको रुपमा बाँसको प्रयोग गर्ने गरिन्छ । फलामको पाइप खरिद गर्दा महङ्गो पर्ने हुँदा घर निमार्णको लागि खट वनाउन बाँस सवैको रोजाइमा पर्ने गरेको छ । किसानहरुले उत्पादन गरेको बाँस लिन ठूलाठूला मालवाहक सवारीसाधन लिएर व्यवसायीहरु घरघरमै पुग्ने गरेको अर्का किसान ओमकार अधिकारीले जानकारी दिए ।

Facebook Comments

  • 87
    Shares