जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप दिइने

बिशेष समाज

काठमाण्डौं । सरकारले यही फागुन २३ गतेदेखी ६० वर्ष वा सोभन्दा माथिका जेष्ठ नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखी जेष्ठ नागरिकहरुलाई खोप लगाउन शुरु गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । नेपाल सरकारलाई छिमेकी मुलुक भारत सरकारले उपलव्ध गराएको कोभिड–१९ बिरुद्धको “कोभिशिल्ड” नामक खोप गत माघ १४ गतेदेखी लगाउन शुरु गरिएको हो ।
कोरोना बिरुद्धको खोप पहिलो चरणमा प्राथमिकतामा परेका अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शबबाहन चालक तथा सह–चालक, महिला स्वास्थ्य स्वयंसेविका लगाएतकालाई यहीँ माघ १४ गतेदेखी २४ गतेसम्म लगाइएको थियो । त्यस्तै माघ २६ गतेदेखी ३० गतेसम्म काठमाण्डौंमा रहेका कूटनीतिक नियोगका पदाधिकारीहरु र कर्मचारीहरु साथै पत्रकारहरुलाई समेत खोप लगाइएको थियो ।
त्यसैगरी यहीँ फागुन २ गतेदेखी दोश्रो चरणमा प्राथमिकतामा परेका जिल्ला सरकारी कार्यालयका कर्मचारी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीहरु, पत्रकार र स्थानिय तहमा कार्यरत कर्मचारीहरुलाई उक्त खोप लगाउन शुरु गरिएको हो । स्वास्थ्य मन्त्रालयको रेकर्ड अनुसार हालसम्म २ लाख ६३ हजार ४ सय ८२ जनाले खोप लगाइसकेको सो मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रबक्ता जागेश्वर गौतमका अनुसार हालसम्म प्रदेश नं १ मा ७२ प्रतिशत, प्रदेश नं २ र बागमती प्रदेशमा ८४ प्रतिशत, गण्डकी प्रदेशमा सतप्रतिशत, लुम्बिनी प्रदेशमा ८४ प्रतिशत, कर्णाली प्रदेशमा ७२ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९१ प्रतिशतले पहिलो चरणमा खोप लगाइसकेको जनाए । प्रबक्ता गौतमका अनुसार कोरोना बिरुद्धको खोप ढुक्क भएर लगाए हुन्छ ।

Facebook Comments Box
ad