महिला पत्रकारलाई आबास गृहको ब्यवस्था

समाज

काठमाण्डौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संञ्चारग्राम काठमाण्डौंमा महिला पत्रकारहरुका लागि छुट्टै आबास गृहको व्यवस्थापन गरेको छ ।
देशका विभिन्न जिल्लाहरुवाट कामको सिलसिलामा उपत्यका काठमाण्डौं आउँदा महिला पत्रकारहरुलाई बस्न सहज होस् भन्ने हेतुले पत्रकार महासंघ केन्द्रीय कार्यालयको परिसर भित्र रहेको एक भवनमा महिलाहरुलाई आबास गृहको व्यवस्थापन गरेको हो । उक्त आबास गृहको उद्घाटन मंगलवार नेपाल पत्रकार महासंघकी संस्थापक उपाध्यक्ष राधा बुढाथोकीले गरेकी हुन् ।
आबाश गृह उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाथोकीले महिला पत्रकारहरुको लागि क्षमता अभिबृद्धि तालिम दिनु पर्ने, उनीहरुको सुरक्षा र सुविधाको बिषयमा बिशेष रुपमा नेपाल पत्रकार महासंघले ध्यान दिनुपर्ने धारणा राखेका थिइन । उनले भनिन्– अहिले महिला पत्रकारले धेरै संञ्चारगृहबाट पाउनु पर्ने मासिक तलब र सेवा सुविधा नपाएको बिषयमा गुनासोहरु आइरहेकाले यसतर्फ पनि सम्वन्धित पक्षले ध्यान दिनुपर्ने बताइन ।
उपत्यका बाहिरवाट आउने महिला पत्रकारहरुले जुनसुकै समयमा पनि आएर उक्त भवनमा वस्न पाउने भएका हुन् । पत्रकार महासंघले महिला आबास गृहमा बस्ने जुनसुकै महिलाहरुले पनि सामान्य शुल्क रकम बुझाएर उक्त भवनमा बस्न पाउने गरि व्यवस्थापन मिलाइएको नेपाल पत्रकार महासंघकी सचिव लक्ष्मी पुनले जानकारी दिइन ।

Facebook Comments Box

ad ad