अन टेष्टेड राजनीतिज्ञको खोजी

विचार / ब्लग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 पेशल आचार्य
संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा निर्णयार्थ प्रस्तुत भएका छन् । करिब दर्जनभन्दा बढी त रिट नै परेका छन् । यो बेलामा सम्मानित सर्वोच्च अदालतको मूल्य, मान्यता र निर्णय प्रक्रियामा आँच आउने कुनै कुराहरू पनि बोल्नु, लेख्नु वा आशयमा प्रकट गर्नु हुँदैन । तर यसो भन्दैमा एउटा चेतनशील नागरिकको दायित्वबाट पन्छिने कुरा पनि भएनन् । नागरिकका मनमा लागेका कुराहरू बोल्न, लेख्न र अभिव्यक्तिका रूपमा प्रकट गर्नका लागि कुनै पनि बेला नागरिकहरू खुला समाजमा स्वतन्त्र हुन्छन् । खैर त्यस्ता अभिव्यक्तिहरूले अदालतको न्याय निरोपणमा गम्भीर प्रभाव भने पार्नु हुँदैन ।
अहिलेको टिनेज पुस्तालाई अहिलेको राजनीतिको बूढो पुस्ताले गन्दैन÷मान्दैन । अहिलेको टिनेज पुस्ताले पनि यो अहिलेको राजनीतिको बूढो पुस्तालाई उसैगरी गन्दैन÷मान्दैन । आखिर किन यिनीहरूमा यस्तो चिसोपन देखिएको हो त ? खोजी गरिएकै छैन । यिनीहरू दुवैको आफ्नो स्टाटस आआफ्नो ठाउँमा ठिक छ । टिनेज पुस्तामा प्रविधिको प्रचुर नलेज छ । ऊ देश विदेशका कुराहरू बुझ्न र बुझाउन सक्षम छ । उसलाई अहिलेका जस्ता पुराना सोच र ढर्रा भएका नेता, यहाँको प्रक्रियामुखी झन्झटिलो शासन र नेताका बाह्र सत्ताइस आश्वासनहरू फुट्टी कौडी मन पर्दैनन् ।
राजनीतिमा रहेको र देश हाँकिरहेको पुस्तालाई पनि यो टिनेज पुस्तासँग किन विश्वास छैन भने यो पुस्तामा ज्ञानको कमि छ । इतिहास पढ्दैन । भूगोल बुझेको छैन र राजनीति शास्त्रको सामान्य कखरा पनि जानेको छैन । यसरी नै भ¥च्युअल प्रविधिमा जीवन बिताउँदै जाने हो भने एक दिन आफ्नो देशको साँध सिमानाको पनि ख्याल समेत हुँदैन र समस्या आएमा यो पुस्ताले गुगलमै हेर्नु पर्ने हुन्छ ।
सूक्ष्म विश्लेषण गरेर हेरेको खण्डमा यी दुवै पुस्ता मनोरोगी हुन् । एक मानेमा दुवै ठीक र अर्को मानेमा दुवै गलत देखिन्छन् । दुवै किन ठिक हुन् भने दुवैले हासिल गरेको ज्ञान÷विज्ञान आआफ्ना जीवन निर्वाहका लागि काफी छन् । दुवैले दुवैलाई जीवन निर्वाहका लागि चाहिने ज्ञान सिकाउनु पर्दैन । ज्ञान सँगालेको अहिलेको सत्तासीन पुस्ताले आफूलाई चाहिने ज्ञानको कोटरी हासिल गरिसकेको छ । उसले धेरथोर संस्कृत पढेको छ । १०÷२० वटा संस्कृतका श्लोकहरू कण्ठस्त गरेर भन्न सक्छ । सोही श्लोकले दिएका दृष्टान्तलाई सुनाएरै ऊ आफू पढेलेखेको, बुज्रुक र विद्वान्मा गनिन चाहन्छ । किनकि त्यही श्लोक र ज्ञान अहिलेको पुस्तामा छैन ।
नयाँ वा आइटी पुस्तालाई कतिपयले त ‘चाउचाउ पुस्ता’ पनि भन्दछन् । यो पुस्ताले खाजामा जाउलो, बासी भात, चिया चिउरा र भुटेका मकै कहिले खान पाएन । गाउँमै भए पनि यो पुस्ता डिउ र कोक खाएर हुर्कियो । अझ अर्बान एरिया र सहरतिर भए त झन् यसले माथि भनिएका खानेकुरा कहिल्यै खाएन होइन देख्ने चान्स पनि पाएन । त्यसैले आफूले प्रयोग नगरेको र उपभोग नगरेका कुराहरूमा आफ्नो ज्ञानको पकड हुने कुरा नि भएनन् ।
त्यसैले यो पुस्ता आफ्नो दर्शनमा पृथक छ । नौल्याइँ ज्ञान र तरकिबका कुरा यिनीहरूलाई भलिभाँती थाहा छ । अहिलेका मानिसले संस्कृतका १०÷२० वटा श्लोक खररररर्अ पार्नुभन्दा बरू आइटीमा साक्षर भएको बेस् । गुगलमा सर्च गरेर आफूलाई चाहिएका कुराहरू पटापट खोज्न जाने हुन्छ । नेट, मेल, फेसबुक, टुइटर, मेसेन्जर, भाइबर र इमो जान्यो भने त्यो काफी हुन्छ । जीवन सुलुलुलु गरेर आफैँ चल्छ । हल्ला गर्नै पर्दैन । घर बसीबसी नाथे बीस÷पचास हजारको काम गर्न सक्छ । अहिले यिनीहरूकै जमाना छ । आइल्स र स्याट गरेर यिनीहरू नै विदेश जान सक्छन् । यिनीहरूलाई नै क्यानाडा, अष्ट्रेलिया र युएस्को भिजा लाग्न सहज हुन्छ । यिनीहरू कोही आफ्ना ठाउँमा गलत छैनन् । छँदै छैनन् ।
यिनीहरू दुवै समूह ठीक छन् । त्यसो भए कसरी यी दुवै ठिक भए त ? त्यो पनि केही विश्लेषण गरौं । ‘स्वट एनालाइसिस्’ का शैलीमा ।
अहिले राजनीतिमा भएको भनिएको पुस्ता राजनीतिमा मात्र विराजमान छैन । यो पुस्ताको उमेर, विचार र कार्यशैलीको समकक्षी पुस्ता उद्योगधन्दा, जागिर, खेल, शिक्षण, पत्रकारिता र वकालतमा पनि छ । भन्न खोजिएको कुरा यो पुस्ताले नेपालका हकमा उसको जीवनमा यति धेरै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनलाई उथलपुथल गर्ने खालका घटनाहरू देख्यो÷भोग्यो कि त्यसको फेहरिस्त बताउन थाल्यो भने त्यो चानचुने हुँदैन । यमानको लामो हुन्छ ।
यो पुस्ताले पञ्चायतका विपक्षमा आन्दोलन गरेको छ । मकै भटमास खाएर आफ्नो वैचारिक संगठन निर्माण गरेको छ । चाहे त्यो काँग्रेसको नेता होओस् वा कम्युनिष्टको । उसको धरातलीय यथार्थ एउटैएउटै हो । राजनीति गर्ने जनमतको आधार भनेको उस्तैउस्तै हो । समाज यही हो । सामाजिक मूल्य र मान्यता पनि यिनै हुन् ।
यी सबै कुरा मिलेपछि यिनीहरू चाहे प्रजातान्त्रिक समाजवादका हिमायती भएर आफूलाई नेपाली काँग्रेस नै किन नभनाउन वा अर्को कित्तामा रहेका, धेरथोर माक्र्सवाद खारेका, लेनिनवाद अँगालेका वा जनताको बहुदलीय जनवादलाई आफ्नो संसदीय प्रजातन्त्रको मूल मन्त्र मान्ने कम्युनिष्टकै नेता नै किन नहुन ।
यिनीहरूले भूमिगत जीवन बिताएका छन् । जेलनेल भोगेका छन् । पुलिसका अनेकौं प्रताडनाहरू सहेका छन् । निर्वासनमा बसेका छन् । आफ्नो व्यक्तिगत जीवन नभनीकन पार्टी, नेता र संगठनका लागि नै जीवन उत्सर्ग गरेका छन् । यिनीहरूलाई अहिलेका पुस्ताले अचाडु देखे पनि बास्तवमा त्यो सही होइन । कसैले माने या नमाने पनि यिनीहरूकै वैचारिक र सांगठनिक लगानीमै अहिलेको परिवर्तन सम्भव भएको हो । यो पङ्क्तिमा लाग्ने थुप्रै मानिसहरू छन् । तिनीहरूमध्ये कोहीकोही मात्र सत्तामा रहेका होलान् प्रायः धेरैजसो त सत्ताको गुलियो चाट्नबाट बञ्चित नै रहेका होलान् । सत्ताबाट बाहिर नै होलान् ।
दक्षिण अफ्रिकामा काला र गोराको लडाइँपछि कालाले जिते । नेल्सन मण्डेला २७ वर्षको काराबास सजायपछि बाहिर आए । उनी त्यहाँ पहिलो अश्वेत राष्ट्रपति भए । उनले आफ्नो पहिलो उपराष्ट्रपति पद आफूहरूमा शासन गर्ने गोराहरूका प्रतिनिधि एफ्.डब्लु.डेक्लार्कलाई दिए । मन्डेलाले बाप वैरी साँधेका भए उनले त्यसरी आफूलाई जीवनभर सास्ती दिने बोथा सरकारका प्रतिनिधिलाई आफ्नो सत्ता साझेदार बनाउँदैनथिए होलान् । भन्न खोजीएको कुरा के भने उनले एक कार्यकाल राष्ट्रपतिको कार्यभार सम्हालेपछि आफ्ना राजनीतिक उत्तराधिकारीका रूपमा थाबो एम्बेकीलाई पदभार सुम्पिए । आफू एल्डर्स क्लब (बूढाहरूको संगठन) मा आबद्ध भए । उनैले भनेको सिद्धान्त हो –‘संसार बनाउनु छ भने युवालाई काम र वृद्धलाई आराम दिनुपर्छ ।’ उनले सोचेका कुरा दक्षिण अफ्रिकामा लागू गरे र सफल भए ।
नेपालमा उनले भनेका कुरा लागू हुँदैनन् र नेपाली नेताहरूले त्यो मान्दा पनि मान्दैनन् । नेपाली नेताहरू हामीले २०४६÷४७ र २०६२÷०६३ को परिर्वतन पछि जुनसुकै पार्टीका नेता भए पनि उसले आफ्नो हातमा आएको पद÷अवसरलाई म भन्दा पछिल्लो पुस्ता काबिल छ, अब म बूढो भएँ । उसलाई मैले काम गर्ने अवसर दिनुपर्छ भनेर कसैले भनेको इतिहास छैन । पदमै मर्ने धेरै प्रधानमन्त्रीहरू नेपालमा थिए । अहिले पनि मौका पर्दा पदमै मर्नका लागि यत्तिको रडाको गरिरहेका हुन् ।
यति भनिसकेपछि अब युवा पुस्ताको कुरा केही मिहीनतर्कका साथ विश्लेषण गर्नुपर्छ । युवाले सिद्धान्तका भरमा नागरिकमाथि शासन गर्ने उद्देश्य कहिल्यै राख्दैनन् । उनीहरू आफूलाई मेनेजरियल पुस्ताका रूपमा हेर्न चाहन्छन् । हिजोको पुस्ता पुरातन र शास्त्रीय शैलीमा शासन गर्ने शासक हुन चाहन्छ भने आजको नयाँ पुस्ता व्यवस्थापकको भूमिकामा रम्न चाहन्छ । ऊ नागरिकका सुख या दुःखमा समान सहभागिता बत्र्याउन चाहन्छ भने विकास, निर्माणका यावत् कार्यहरूमा आफू मेनेजरको भूमिका निर्वाह गर्न पाउँदा पउल खुसी हुन्छ ।
अहिलेको विश्वमा त्यस्तै सोच, प्रविधि, व्यवस्थापन र शैलीका नेताहरू नै सफल भएका छन् । शासकको भाँतीमा रहेर लुई चौधौं र सोह्रौंजस्ता पुरातन मान्यताका शासकहरू होइनन् कि वर्तमान युरोपेली देशका युवा, चुस्तदुरुस्त पुस्ता र जिम्मेवारी स्वीकार्ने आँट भएका पुस्ताहरू हाम्रोजस्तो देशलाई चाहिएको छ । अहिलेको जस्तो राजनीतिक गन्जागोल, अस्तव्यस्त र सुनामीजन्य फोहोरी खेलमा मेनेजरियल पुस्तालाई शासनको बागडोर सम्हाल्न दिने हो भने बेडा पार लगाउन सक्थे कि भन्ने कल्पना पनि आउँछन् घरीघरी ।
तर यहाँनेर दुवै पुस्ताले दुवै पुस्तालाई शंका गरेको स्थिति छ । नेपालीमा एउटा उखान छ नि ‘बाहुनलाई देख्दा भैँसी तर्सियो अनि भैँसीलाई देख्दा बाहुन तर्सिए ।’ आइटी पुस्ताले पुरानो पुस्तालाई सबै प्रकारका सरकार र विचारधाराको दुहाई दिँदा पनि राजनीतिमा सफल हुन नसकेको टेष्टेड पुस्ता भनेर विश्वास गर्न सक्दैन भने पुरानो पुस्ताले अहिलेको आइटी पुस्तालाई यो पुस्ताले शासनको बागडोर आफ्नो हातमा लिएकै छैन, अनुभवहीन पुस्ताको हातमा देशको भविष्य सुम्पेर दिनु भनेको आलोकाँचो ड्राइभरको हातमा गाडीको साँचो र स्टेरिङ् सुम्पनु हो भन्छ । पुरानो पुस्तालाई नयाँ पुस्ताप्रति रत्तिभर विश्वास छैन ।
अहिलेको हामी शासित पुस्ताको समस्या भनेको यही हो । पुरानो पुस्तालाई हामी प्रयोग गरिसकेको पुस्ता भनेर विश्वास गर्न तयार छैनौं भने नयाँ वा आउँदो पुस्तालाई त्यो पुस्ता पनि अन टेष्टेड भनेर आश्वस्त भई सत्ताको चाबी दिने मनस्थितिमा पनि छैनौं । यो अवस्थालाई चिर्नका लागि नेपाली राजनीतिक आकासमा चाँडै नै नयाँ, कामयाब र चुस्तदुरुस्त पुस्ता राजनीतिमा सकारात्मक हस्तक्षेपका साथ आउनु नै पर्छ । अब यो कुराको कुनै विकल्प छैन ।

Facebook Comments Box

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ad ad