प्रधानमन्त्री पद एक हाते भैंसी हैन् प्रधानमन्त्री ज्यू

बिशेष विचार / ब्लग

– टी अन्जान

सम्माननीय प्रधानमन्त्री ज्यू
तपाई भन्दा केहि पूर्वको जिल्लाबाट यो पत्र लेख्दैछु । मैले पत्र लेख्दै गर्दा तपाई सुदुर पश्चिम तिर चटकी भाषण गरेर आफन्तलाई हसाईरहनु भएको होला । दिनमा कम्तिमा पनि एक सो चटकी कार्यक्रम तपाईले नदेखाउंदा अव नेपालीहरु हास्न पाउने छैनन् । जताततै पिडा भएका बेला कम्तिमा तपाईले कहिले पूर्व त कहिले पश्चिम पुगेर नागरिकलाई हसाई दिनु भएको छ । भलै तपाईको भ्रमणमा राज्यकोष खर्च भएपनि नेपालीहरुले हास्यव्यंग्यका लागि टिकट काट्नमा पैसा खर्चनु परेको छैन । सौभाग्यको कुरा यहि छ ।
तपाईलाई दिनहु उखान टुक्का र चटक देखाउने वातावरण अरु कसैले नभई तपाईनै वनाउनु भएको हो । लोकतान्त्रिक विधि अन्तरगत आम बालिग मतदाताले मत मार्फत तपाईको पार्टीलाई स्पष्ट बहुमत दिएका थिए । विधिको शासन बमोजिम जो बहुमतमा हुन्छ, त्यहि पार्टीले सरकार बनाउने हो । बहुमत पाएपछि सहजै तपाई पार्टीको संसदीय नेता छानिनु भयो र प्रधानमन्त्री पदमा निर्वाचित हुनुभयो । संविधान बमोजिम सरकार गठन गर्नुभयो र काम थाल्नु भयो ।
चुनावमा समिकरण गरेको पार्टी तत्कालिन माओवादी पनि तपाई सगैं थियो । तपाईहरुले दुई पार्टी एकिकरण गर्नुभयो । राम्रै भयो । नेपालीहरुका लागि धेरै पार्टी भन्दा थोरै पाटी भएकै जाति । नेपालीहरु खुसी भए । संघ, प्रदेश र स्थानीय सरकार तपाइहरुकै भारी बहुमतका साथ चले, संचालन भए । तपाईहरु संग चुनाव हारेका विपक्षी दलहरुको हविगत भयो । चारै तिर तपाईहरुकै सरकारको दव्दबा भयो । जे सुकै निर्णय गर्दा पनि तपाईहरुकै ढलिमलि भयो । जे गरेपनि हुने , जे भनेपनि हुने जस्तो भान पर्ने गरी सर्वत्र तपाईहरुकै राज भयो ।
प्रतिपक्ष दल कांग्रेसले तपाईहरुका गल्ति कमजोरीलाई कसिलो स्वरमा प्रश्न समेत उठाउन सकेन । कांग्रेसले सदनमा बोलेको सानो स्वर तपाईहरुले सुन्दै सुन्नु भएन । सडकमा निस्कन उस्ले त्यति दम राखेन । अरु दल कांग्रेस भन्दा हविगतमा थिए । विचरा तिनले के विरोध गरुन । लगभग प्रतिपक्ष विहिनको अवस्थामा एकछत्र तपाईहरुको शासन देशमा चलेको थियो ।
यहि विचमा तपाईलाई लाग्यो , अव यो मुलुक सवै मैले जे भन्यो त्यहिमा दुनियाले हो मा हो मिलाउछ । मेरा विरुद्ध कोहि छैनन् । कसैले बोल्ने तागत राख्दैनन् । जो बोल्छ, त्यो सकिन्छ । मेरा दलबल छन्,। सेना प्रहरी मात्र हैन, सधैं ‘बा’ भनेर चाकरी गर्नेहरु वरीपरीनै छन् । तपाईको मुखबाट बोली फुस्कुनु भन्दा पहिल्यै हास्ने बानी परेका तपाईका छोरा भनाउदाहरुको बग्रेति तपाईको अघीपछि भएको बेला तपाईले आफ्नै पार्टीका अरुलाई देखिरहन के दरकार राख्नु हुन्थ्यो र ? चाहे कुम हल्लाउने कार्यकारी अध्यक्ष होस, या लेग्रो तान्ने नेता । तपाईको अगाडि सवै फिक्का र निकम्मा भए । उनिहरुका विधि सम्मत कुरा पनि तपाईका अघी विरोधि कुरा भए । उनिहरुले वोलेको बेमौसमको बाजा जस्तै भयो । काग कराउदै गर्छ, पिना सुक्दै गर्छ भनेझै तपाई एकोहोरो काम थाल्नु भयो । तपाईको कदममा लाग्थ्यो – पार्टी भनेको तपाई, सरकार भनेको तपाई , नेता भनेको तपाई, संविधान भनेको तपाई, अदालत भनेको तपाई, गणतन्त्र भनेको तपाई, सम्बृद्धी भनेको तपाई । सवै सबैं तपाई ।
तपाईका लागि अहिलेको अवसर धेरै राम्रो थियो । एकातिर सरकार झण्डै दुई तिहाईको थियो । अर्को तिर विगतका सरकारले थालेका दर्जनौं राष्ट्रिय गौरबका आयोजना तपाईका पालामा वन्ने वाला थिए र तिनको जस तपाईलाई जानेवाला थियो । तपाईले सेटिङमा देशको ढुकुटीबाट जे जस्ता कार्यक्रम आफ्ना मान्छेलाई दिए पनि विगतका सरकारले पहिले देखि थालेका गौरबका आयोजना सकिना साथ तपाईलाई अरु केहि चाहिदैनथ्यो । त्यहि भजाएर अर्को चुनावमा पनि तपाईलाई जनताको माझ जान हुन्थ्यो । भैरहवा र पोखरा विमानस्थल, हुलाकी राजमार्ग, मदनभण्डारी र मध्यपहाडि राजमार्ग, माथिल्लो तामाकोशी र मेलम्ची आयोजना, तराई – काठमाण्डौ दु्रत मार्ग जस्ता योजना सकिना साथ तपाईका लागि चुनावि मसला पुग्थ्यो । तपाई भन्दा अघीका प्रधानमन्त्रीले थालेका योजना सकिदा तपाई जस्तो चटकीले त्यसमा अलिकति मसला थपेर भाषण गर्दा राम्रो ताली पाउन सक्नुहुन्थ्यो । तर त्यसमा तपाईको चासो गएन । त्यसले तपाईलाई नपुग्ने भयो ।
दल विहिन पञ्चायति व्यवस्थामा समेत विरोधिका कुरा सुनिथ्यो । पञ्चायतमा राजाका भक्त मात्र प्रधानमन्त्री हुन्थे । राजाको गोजिको मान्छे भएन भने प्रधानमन्त्री हुनै गाह्रो थियो । राजाको मान्छे भनेर जान्दा जान्दै पनि प्रधानमन्त्रीको विरोधमा संविधानमा व्यवस्था भए बमोजिम अविश्वासको प्रश्ताव पञ्चायति संसदमा दर्ता हुन्थ्यो । राजाका रुचिका प्रधानमन्त्री पक्कै पनि तपाई भन्दा धेरै शक्तिशाली हुनुपर्ने हो त्यसबेला । तर संविधान र कानुनका अघी उनिहरुको केहि लाग्दैनथ्यो । संसदमा दर्ता भएको अविश्वासको प्रश्ताव फेस गर्नुको विकल्प थिएन । किनकी त्यो विधि थियो, कानुन थियो । उनीहरुले मान्थे ।
तर तपाई राजाका प्रधानमन्त्री अर्थात भनौं पञ्चायतको प्रधानमन्त्री भन्दा पनि निरंकुश भएर देखिनु भयो । तपाईका विरुद्ध कसैले अविश्वास ल्याउदै छ रे भन्ने हल्ला चलेकै भरमा संविधानमा हुदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरीदिनु भयो । तपाईले विधिको कुरा विर्सनु भयो । मानौ तपाई भएन भने नेपालमा अरु कसैले संसदमा प्रधानमन्त्री हुन पाउदैन् । तपाईको दलमा अरु कोहि त्यो हैसीयतमा छ्रैन । संविधानमा प्रधानमन्त्री चुनिने धारा तपाईलाई भनेरै वनाइएको हो । बहुमत पुग्दा तपाई आफु प्रधानमन्त्रीमा चुनीन पाउने तर अरु कसैको बहुमत पुग्दा उ चांहि चुनिन नपाउने ।
तपाईले प्रधानमन्त्रीको पदलाई एकहाते भैंसी सम्झनुभयो । एक हाते लागेको भैंसीले अरुलाई दुध दिदैन । अरुलाई चिन्दैन । बुरुक्क उफ्रन्छ । नियमित दुहुनेलाई सुई सुई दुध दिन्छ, । अडिन्छ ।
तर माफ गर्नुहोला प्रधानमन्त्री ज्यू ,एक हाते भैंसी जस्तो प्रधानमन्त्रीको पद हैन । तपाईले मात्र खान पाउनुपर्छ भन्ने केहि छैन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तपाई हैन । जनताले ५ बर्ष तपाई प्रधानमन्त्री भनेर चुनेको भए कुरा उठने थिएन नै । तपाईलाई दलले प्रधानमन्त्री बनाएको हो । पार्टी भित्र तपाईले बहुमत पु¥याउन्जेल तपाईलाई हो, अरुले पु¥याउदा तपाईले बाटो प्रशस्त गरीदिनु पर्छ । त्यहि हो लोकतान्त्रिक विधि । तपाई आफु प्रधानमन्त्रीमा रहदा चौपट्ट काम हुने, अरुले वस्दा कामै गर्न नसक्ने भन्ने तपाईको तर्कलाई अहिले सम्मका तपाईका कामले लोप्पा ख्वाईरहेको छ । तपाई जत्तिको काम अरुले यतिविधि हल्ला नगरीकन गर्न सक्छन् । मैले गर्दा मात्र यति काम भयो भनेर सोच्नु भएको छ भने तपाई यो भ्रमबाट मुक्त हुनुभए हुन्छ ।
तपाईको कार्यकालमा एक पछि अर्को काण्डको जवाफ तपाईले दिन सक्नु भएको छैन । ओम्नी र यति समूहको चंगुलमा परेर तपाईले गरेका काम कसैका आंखामा छिपेका छैनन् । हुदां हुदा कोरोनाको औषधि ल्याउदा तपाईको सेटिङले राम्रै मसला बन्ने मौका पायो । तपाईले भ्रष्टाचारको आरोप लागेका तपाईका छोरा भनाउदाहरुलाई ढाकछोप गर्दै उस्ले भ्रष्टाचार गरेको हैन्, छैन् भन्दै सुनपानी छर्किदिनु भयो । बालुवाटार जग्गा काण्डका मतियारलाई टॉढ माथि लानुभयो । देशका स्थानीय निकायमा भ्रष्टाचार र बेतिथि हुदा पनि तपाईले निर्वाचित जनप्रतिनिधिलाई जागिरे जस्तो गरी तलव दिएर मुलुकको चालु खर्च स्वाहाः वनाउनु भयो । विकास र सम्वृद्धि तपाईको मुखमा झुण्डिए पनि तपाईको काम गराईको तौर तरिका कमाउ र विकाउमा हुदां मुलुक उधोगतिमा गइरहेको छ भन्ने कुरा ८० प्रतिशत चालु खर्चले देखाईरहेको छ । २० प्रतिशत विकास खर्चले तपाईले भनेको जस्तो मुलुक सम्बृद्ध हुन सक्दैन् , राष्ट्रियता तपाईको अर्को देखाउने दाँत हो । चुच्चे नक्शा निकालेर र पनि कुनामा थन्क्याउन तपाईकै सरकारले गरेको परिपत्रले त्यहि देखाउने दाँत टुक्रिएको छ ।
यो पटक देशमा संकट निम्त्याउने तपाई बाहेक अरु कोहि होईनन् । तपाईका पार्टीका अर्का अध्यक्ष या बरिष्ठ नेताहरुलाई तपाईले दोष दिन मिल्दै मिल्दैन् । उनिहरुले भाग खोजे होलान् । गनगन् गरे होलान । भाग खोज्ने र गनगन गर्ने उनिहरुको अधिकारै हो । पार्टीकोे मुली तपाई हो । घर मुलीले घर मिलाउन सक्नुपर्छ । आफ्नो भाग दिएर भएपनि घर मिलाउन सक्ने हामीले थुप्रै बा हरु समाजमा देखेका छौं । तर तपाई यस्तो बा पर्नुभएछ कि घर झगडा मिलाउनु भन्दा घरै सिध्याउने, डढाउने, भत्काउने । तपाईको कार्यले एउटा उखानको याद आयो । घर भित्रको गु‘डमा वसेका गौथली पोल्नका लागि आगो लगाई ढोका थुनेर ‘अवत काहां जाउली गौथली ’ भन्दै बाहिर मादल बजाउदै गर्दा एक जनाले घरै जलाएका थिए रे । प्रधानमन्त्री ज्यू, तपाई यो उखानका पात्र भन्दा के फरक हुनु भयो र ? अहिलेका लागि ।
तपाईले संसद विघटन गर्नु पर्ने कारणमा संवैधानिक निकायको बैठक वस्नै नसकेको कुरा गर्नुभएको छ । उक्त वैठकका सदस्यले आफ्ना केहि मान्छेलाई संवैधानिक पदमा लान अवश्य खोज्छन् । तपाई बाहिर भएको भएपनि खोज्नु हुन्थ्यो । उनिहरुको काम बैठकमा गएर तपाईले भनेका मान्छेलाई नियुक्ती दिने मात्र हैन् । त्यसो गर्न उनिहरु किन गईरहनु ? अहिले भएको त्यहि हो । तपाई धेरै उखान टुक्का गर्नुहुन्छ । गाउं देखि राष्ट्रिय अन्तराष्ट्रिय कुरा जानेको भएपनि तपाईले केहि कुरा भाग लगाएको जस्तो लागेन । भाग कसरी लाउने भन्ने कुरा तपाईले सिक्नुपर्ने देखियो । सवैलाई मिलाएर लगेको भए तपाईको यो अवस्था आउने थिएन , न देशले अनायास चुनावमा होमिनु पर्ने थियो । मन्त्री मिलाउनु, राजदुत मिलाउनु, संवैधानिक निकायका नियुक्ती मिलाउनु, पार्टी भित्रका पद र प्रोटोकल मिलाउनु तपाइकै काम हो । ति पदहरुमा आफ्नो अनुकुल मात्र नियुक्ती गर्दा संकट आउछ, अरुले मैले भन्दैमा ल्याप्चे लगाउने काम सधैं गर्दैनन् भन्ने कुराको हेक्का राखेको भए सडकमा तपाईका टाटेपाङग्रे पुत्ला देखिने थिएनन् । तपाईको ढलीमलि एकछत्र सरकार थियो, फेरी चुनाव तपाईहरुकै पार्टीले जित्ने अवस्था थियो ।
तर बिडम्बना प्रधानमन्त्री ज्यू, तपाईले चाहे जस्तो अवका दिन हुने छैनन् । तपाईले मुलुकलाई गम्भिर संकटमा होम्नु भएको छ । तपाईको पार्टी विभक्त हुदाको पिडा तपाई र तपाई संग फुटेका भाईहरुलाई मात्र हुदैन । अरु समाजका धेरै बर्ग समुदायमा त्यसको असर पर्छ । आर्थिक रुपमा, सामाजिक रुपमा, सांस्कृतिक रुपमा र सामाजिक रुपमा तपाईको कदमले असर पारेको छ । यति मात्र हैन, भोली तपाईहरुको पार्टीको अन्तरकलहले देश विगतको जस्तो गम्भिर द्वन्दमा जाला कि भन्ने अड्कल पनि केहिले गरेका छन् । भलै मैले त्यतातिर सोचेको पनि छैन । राजनीतिक अस्थिरताले हिजोको दिनमा ति काला दिनको सामान गरेर आएका हामी फेरी राजनीतिक अस्थिरता तिर देश डोरीदा त्यस्तो सोच्नु अनर्थ पनि हैन् ।
अदालतको पर्खाल भित्र पुगेको संवैधानिक प्रश्नको उत्तर कहिले आउला बांकीनै छ । तपाईको कुरा पत्याईदिने हो भने त संसद पुनस्र्थापना हुदै हुदैन् । तपाईले बोल्दा अदालतलाई प्रभाव पारेको हुदैन । आजै ४ जना पूर्व प्रधानन्यायाधीशले पुनस्र्थापना हुनुपर्छ भनेर बोल्दा तपाईका कार्यकर्ताबाट अदालतलाई प्रभाव पार्ने काम भयो भन्ने आरोप लाग्यो । धन्य, प्रधानमन्त्री ज्यू । हामी यस्ता कुरा सुन्दै जान्छौं र आफ्ना धारणा वनाउदै जान्छौं । आगे जे होला ।

Facebook Comments Box
ad