३ सय २ घरधुरीलाई हिलटेक ट्याङ्की बितरण

रामेछाप । गाउँमा भएका परम्परागत खानेपानीका मुहान सुक्दै गएपछि वर्षेनी खानेपानीको अभाव झेल्दै आएका रामेछाप नगरपालिका वडा नं–८ वावियार्खक र भंगेरीका गरि ३ सय २ घरधुरीलाई ५ सय लिटरको हिलटेक ट्याङ्की वितरण गरिएको छ ।
पानीको मुल सुकेपछि वर्षातमा परेको आकाशे पानी र पधेँराको पानीलाई समेत जम्मा गर्न सहज पुगोस् भन्ने हेतुले रामेछाप नगरपालिका वडा नं ८ रामेछापले वडा भरका नागरिकहरुलाई एकघर एक हिलटेक ट्याङ्की वितरण गर्ने अभियान आर्थिक वर्ष २०७६÷०७७ बाट शुरुवात गरेको थियो ।
वडा कार्यालयले पहिलो चरणमा गएको आर्थिक वर्ष २०७६÷०७७ मा सल्ले र डुम्रीखर्कका १ सय ८९ घरधुरीलाई ५ सय लिटरको हिलटेक ट्याङ्की वितरण गरेको थियो । सोही अभियानलाई निरन्तरता दिदै गएको आर्थिक वर्षमा गत वर्ष छुट भएका भंगेरी र बाबियार्खकका ३ सय २ घरधुरीलाई हिलटेक ट्याङ्की बितरण गरिएको रामेछाप नगरपालिका वडा नं ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिए ।
उनले भने– वडाका नागरिकहरुले पानी अभाव भएको र पानी राख्न ट्याङ्की माग गरेकाले सबै नागरिकहरुको अनुरोधमा रामेछाप नगरपालिकाले वडा कार्यालयलाई दिएको वजेटबाट वडाका नागरिकहरुलाई पानी राख्न सहज होस् भन्ने हेतुले हिलटेक ट्याङ्की बितरण गरिएको अध्यक्ष कार्कीले बताए ।
वडा कार्यालयले शुरुवात गरेको यो अभियान चालु आर्थिक वर्षमा पनि जारी रहने छ । यस चालु आर्थिक वर्षमा वादी, लामागाउँ र लामाटोलमा सबै घरधुरीलाई वितरण गरिने योजना रहेको वडा नं ८ वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले वितरण गरेको ट्याङ्कीले खानेपानी जम्मा गर्न सहज हुने र वढी भएको पानीले हिउँदमा तरकारी खेती र घरमा पालिएका चौपायालाई समेत पानी खुवाउन सहज हुने रामेछाप नगरपालिका वडा नं ८ वावियार्खकका कृष्णवहादुर भुजेलले जानकारी दिए ।