हिलटेक ट्याङकी उपभोक्तालाई बरदान साबित

रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरले खानेपानीको चरम समस्यामा झेल्दै आएका नागरिकहरुलाई बितरण गरेको हिलटेक ट्याङ्की बरदान सावित भएको छ । स्थानिय नागरिकहरुले खानेपानीको समस्या झेल्दै आएपछि रामेछाप नगरपालिका सुकाजोर वडा कार्यालयले वडा भित्रका नागरिकहरुलाई एक घर एक हिलटेक ट्याङ्की बितरण गरेको हो । घर पिच्छै पानी संकलनको लागि ट्याङ्की बिरण गर्दा आकाशबाट पर्ने आकाशे पानीलाई छानावाट संकलन गरेर ड्रममा जम्मा गरेर उपभोग गर्न सकिन्छ भन्ने उद्धेश्यले नयाँ योजना वडा कार्यालयले सारेको रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले जानकारी दिए ।
उनले भने– वडामा वार्षिक रुपमा आएको रकमले वडा भित्रका नागरिकहलाई पालो मिलाएर खानेपानी जम्मा गर्ने हिलटेक ट्याङ्की बिरतण गरिएको छ । वजेट अभावका कारण एकै पटक सवै वडाबासिहरुलाई ट्याङ्की पुर्याउन सकिएको छैन् । गएको दुई वर्ष अघिवाट शुरुवात गरिएको यो अभियान यसवर्ष समाप्त हुने र सवै नागरिकहरुको घरमा एक हिलटेक ट्याङ्की पुग्ने अध्यक्ष कार्कीले बताए ।
खानेपानी अभाव भएको ठाउँमा वडा कार्यालयले अघि सारेको यो अभियान निकै राम्रो भएको र यसवाट आफुले धेरै राहातको महसुस गरेको रामेछाप नगरपालिका वडा नं–६ की जमुना कार्कीले जानकारी दिइन । उनले भनिन्– गाउँमा खानेपानीको समस्या छ, घर नजिकै धारा त छ । पानी भनेको समयमा आउँदैन । घरमा पालिएका वस्तुभाउँ छन्, तिनीहरुलाई पेटभरी पानी दिन समेत पाइदैन् । घर नजिकै पुरानो पधेँरोका पानी पनि गएको ७२ सालको भकम्पले सुकायो । वर्षातको आकाशे पानी वडा कार्यालयले दिएको ट्याङ्कीमा जम्मा गरेर हिउँदमा उक्त पानी वस्तुभाउँ, भाडाकुडा र कपडा धुन प्रयोग गर्ने गरेका छौं कार्कीले बताइन ।
रामेछापको दक्षिणी भेगमा पर्ने रामेछाप नगरपालिका भित्रका गोठगाउँ, साँघुटार, हिमगंगा, रामपुर, ओख्रेनी, सुकाजोर रामेछाप लगाएतका स्थानमा वर्षातको समयमा समेत पानी कम पर्ने गर्दछ । त्यस क्षेत्रमा बर्षौदेखी खानेपानीको मुल समेत फुट्न सकेको छैन् । परम्परागत रुपमा भएका खानेपानीको मुल समेत एकपछि अर्को गर्दै सुक्दै गएपछि सुकाजोर गाउँमा यतिखेर खानेपानीको चरम समस्या रहेको छ ।
पालिकाभित्र पहिलो पटक सुकाजोर वडा कार्यालयले चलाएको यो अभियान अहिले पालिकाको अन्य वडा कार्यालयहरुमा समेत विस्तार गर्न लागेका छन् । वडामा आएको वजेटवाट ठूला योजनाहरु संचालन गर्न नसकिएपछि वडा कार्यालयले नागरिकहरुलाई केही सहज होस् भन्दै भएको रकमवाट यस्तो सानो योजना अघि बढाएका हुन् । खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुलाई सुनकोशी नदी, सुकाजोर खोलावाट लिफ्ट प्रणालीवाट पानी वितरण गर्ने, बोरिङ्ग बाट भूमिगत पानी निकालेर वितरण गर्ने लगाएतका ठूलो योजना समेत हाल संचालनमा रहेका छन् ।
रामेछाप नगरपालिका भित्र खानेपानीको समस्या झेल्दै आएका नागरिकहरुलाई चाडो भन्दा चाडो पानी घरघरमा पुर्याउनको लागि लिफ्ट प्रणालीका योजनाहरुको काम भइरहेकाले आगामी दुई वर्षभित्र सवै वस्तीमा खानेपानी पुग्ने रामेछाप नगरपालिकाका उपमेयर सिर्जन खड्काले जानकारी दिइन ।