सांसदलाई कोरोना बिरुद्धको खोप

काठमाण्डौं । सरकारले सञ्चालन गरेको कोरोनाबिरुद्धको खोप आज सांसदहरुले समेत लगाउँदैछन् । सांसदहरुलाई बिहान १० वजेदेखी दिउँसो ४ वजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
सो सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारीहरु, दुवै सदनका सांसदहरुलाई समेत खोप लगाइने भएको छ । त्यस्तै आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई समेत कोरोना विरुद्धको खोप लगाइने भएको हो ।
त्यसैगरी बिहिवार संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिव लगाएतका सबै कर्मचारी, ट्राफिक प्रहरी, बम डिस्पोजल टोली, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी गरिएको छ । त्यस्तै शुक्रवार अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारीलाई समेत खोप लगाइने तयारी भएको संसद सचिवालय श्रोतले जनाएको छ ।