सरकारी कर्मचारी काम बिहिन– हाजिर गर्दै भाग्दै

रामेछाप । रामेछापका केही सरकारी कार्यालय र तिनका कर्मचारी काम बिहिन जस्तै भएका छन् । कार्यालयमा काम नभएपछि कर्मचारीहरु कार्यालय समयमा पुगेर हाजिर गर्ने र भाग्दे क्रम बढ्दो छ ।
स्थानिय निकायलाई काम गर्ने सम्पूर्ण अधिकार दिएसँगै कार्यालयहरुमा सेवाग्राहीहरुको चाप ह्वात्तै घटेपछि कार्यालय र कर्मचारीहरु काम बिहिन जतिकै भएका हुन् । यसअघि जिल्लामा ३० वटा सरकारी कार्यालय रहेको र गाउँवाट आउने सेवाग्राहीहरुको कुनै न कुनै काम सरकारी कार्यालयमा पर्ने र सदरमुकाम आउने गर्दथे । अहिले सबै जसो काम गाउँमै हुनेभएपछि सेवाग्राही घट्दै गएका हुन् ।
गाउँ–गाउँमा स्थानिय तह गठन भएसँगै हाल २ नगरपालिका र ६ वटा गाउँपालिका मार्फत सरकारले सेवा आरम्भ गरेको छ । जसकाकारण सदरमुकामका सरकारी कार्यालयहरुमा आउने सेवाग्राहीको संख्या ह्वातै घटेको स्थानियहरुले वताएका छन् । अधिकासं नागरिकहरुको काम स्थानिय निकायवाटै हुन थालेपछि शिक्षा बिकास तथा समन्वय इकाई, जिल्ला समन्वय समिति, जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी काम विहिन जतिकै बनेका छन् ।
स्थानिय निकायको निर्वाचन अघि गुम्देल देखी गौश्वारासम्मका नागरिकहरु सेवा लिनको लागि सदरमुकाममा धाउनु पर्दा ती कार्यालयका कर्मचारीहरुलाई काम तामेलीमा भ्याईनभ्याई हुने गरेको थियो । यसअघि शिक्षा कार्यालयवाट प्रबाह हुने सवै काम स्थानिय निकायवाट हुन थालेपछि मन्थलीमा अवस्थीत सरकारी कार्यालयका कर्मचारीहरुको काम निकै घटेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख भरतवहादुर भट्टराईले जानकारी दिए ।
ती कार्यालयहरुमा कामको चाँप घटेसँगै भुकम्प पिडीतहरुको सेवाका लागि संचालनमा ल्याइएका कोषतथा लेखा नियन्त्रक कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इर्का (भवन) अन्तर्गतका प्रशासनिक र प्राविधिक क्षेत्र हेर्ने कार्यालयका काममा पनि चाँप घटेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य वैंक लगाएतका जिल्ला सदरमुकाममा रहेका करिब एकदर्जन वैंकहरुमा पनि यतिवेला सेवाग्राहीहरुको चाँप घटेकोे छ । अहिले स्थानिय निकायमा नैं बैंकहरु खुलेपछि सदरमुकाममा रहेका बैंकहरुको चाप घटेको हो ।
विगत वर्षको तुलनामा सेवाग्राहीहरु थोरै मात्रामा आउने गरेको र भुकम्पको किस्ता लिने वेलामा पनि मानिसको चहलपहल घटेको छ । बाँकी रहेका कार्यालयहरु मध्ये पुनर्निमार्ण, जग्गाको कित्ताकाट र जग्गाको नापी समेत गर्नको लागि प्राविधिकहरु नै आवश्यक पर्ने हुँदा नापी कार्यालयमा भने तुलनात्मक रुपमा सेवाग्राहीको चाँप वढेको छ । त्यसैगरी मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय लगाएतका तालुके कार्यालयमा गएको वर्षको तुलनामा सेवाग्राहीको चाँप यसवर्ष बढेको दखिएको नागरिक समाजका अगुवा रामचन्द्र शर्माले वताए ।
जिल्लामा रहेका सकारी कार्यालयका कर्मचारीहरुको उपस्थिती नियमित नहुने गरेको जिल्ला प्रशासन कार्यालयले पटक–पटकको अनुगमनमा समेत फेला पर्ने गरेको छ । प्रशासनको अनुगमन पछि केही कर्मचारीहरुलाई स्पष्टिकरण सोध्ने काम समेत भयो । तर कर्मचारीहरु भने पहिलाको बानी छोडेनन् । कार्यालयमा काम नभएको भन्दै सरकारी कर्मचारी कार्यालय समयमा समेत बस्ने गरेका छैनन् । कार्यालयमा १० वजे पुगेका कर्मचारी पनि हाजिर गराएर दिनभरी हराउने गरेका छन् ।
सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरु अनिवार्य रुपमा कार्यालय समयसम्म बस्नु पर्ने हुन्छ । यदी त्यसरी कर्मचारीहरु कार्यालयमा हाजिर गरेर मात्रै भाग्ने र कार्यालयमा नबस्ने भेटिएमा तत्काल कारवाही गरिने प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी    दिए ।

Facebook Comments Box