रामेछापको मन्थलीमा रहेको लक्ष्मीप्रसाद देवकोटाको सालिकको बारेमा धेरै चर्चा चलिरहेको रहेछ । भिम उपाध्यायले ८ लाखमा निर्माण भएको सालिक भनेर सामाजिक संजाल फेसबुकमा राखेपछि एकाएक यो सालिकको चर्चा चुलियो । यति मात्र हैन, रुप विग्रेका अन्यत्रका सालिक र मुर्ति पनि धमाधम सामाजिक सञ्जालमा आएका छन् ।
अन्यत्र के होला थाहा भएन । रामेछापमा रहेको लक्ष्मी प्रसाद देवकोटाको सालिकको विषयमा म मैले जाने सम्मको स्पष्ट पार्न चाहन्छु । यसमा अन्यथा केहि भए मेरा समितिका साथिले केहि थपघट गर्नु हुनेनै छ ।
संभवत २०५९ सालमा रामेछापको प्रमुख जिल्ला अधिकारी चुडामणी वस्याल हुनुहुन्थ्यो । लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ति मनाउने सिलसिलामा तामाकोशी पुस्तकालयमा एक कार्यक्रममा हामी भेला भयौं । तिहारको बेलामा धेरै सहभागिता थिएन । अहिले तामाकोशी अस्पतालको शल्यक्रियाकक्ष भएको स्थानमा पुस्तकालय थियो ।
कार्यक्रममा देवकोटाले नेपाली साहित्यीक क्षेत्रमा गरेको योगदानको चर्चा मात्र भएन, कविता र मुक्तक बाचन समेत गरिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले देवकोटाको सालिक राख्न पाए हुन्थ्यो भन्ने प्रश्ताव त्यहि कार्यक्रममा ल्याउनु भएको हो । सालिक त राख्ने तर कताबाट पैसा जुटाउने ? भन्ने कुराको छलफल भयो । वस्यालले भर्खरै निर्माण भएको भैसेश्वरको बृद्धाश्रममा स्थानीय कलाकार गजेन्द्र थापाले कुदेको चन्द्रशेखर महादेव र अन्य मुर्ति हेरेर आएकोले थापालाईनै फोटो दिएर ढुंगाको मुर्ति कुदेर राख्दा धेरै खर्च नलाग्ने वताउनु भयो । त्यसका लागि त्यहि दिन स्थानको तय भयो , अहिलेको देवकोटोचोक ।
देवकोटा चोक त्यतिवेला धेरै कठिन भू बनोटमा थियो । भिरालो जग्गा थियो । धेरै माटो र ढुंगा भरेर ग्यावियन लगाउने काम गरेपछि उकासियो । उता गजेन्द्र दाई लाई प्रमुख जिल्ला अधिकारीले रोजेको लक्ष्मी प्रसाद देबकोटाको फोटो दिने काम भयो । देवकोटाको अहिलेको यो मूर्ति सेतो सल ओडेर हाँसेको देवकोटाको फोटो बाट उतारिएको हो ।
सालिक निर्माणका लागि समिति वन्यो । समाजसेवि तथा साहित्यकार रामचन्द्र वियोगीको संयोजकत्वमा बनेको समितिमा समाजका अगुवा राखियो । निर्माणका लागि आवश्यक पर्ने पैसाको जोहो गर्न चन्दा उठाउने र चन्दादाताको नाम सिलामा लेख्ने निर्णय भयो । सालिक वनाउने काम थालेपछि धमाधम पैसा जुटन थाल्यो । गजेन्द्र थापा दाईले मुर्ति तयार पारेपछि ल्याइयो । देवकोटाचोकमा राखियो । सडकको दुवै तिर गाडि घुम्ने गरी विचमा राखिएको सालिकको तल्लो भागमा वरिपरी चन्दादाताको नाम र सहयोग रकम लेखेर राखियो । काठमाण्डौंको तिनकुनेमा मार्वलमा नाम लेखाउने र जुनार एक्स्पे्रस बसमा २ सिट रिजर्भ गरेर जतनले ल्याउने काम मैलेनै गरेंको थिए । सालिक निर्माण पश्चात प्रजिअ वस्याललेनै सालिकको उद्घाटन गर्नुभएको थियो । त्यसमा लक्ष्मी प्रसाद देवकोटा स्मृति प्रतिष्ठान गठन गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरीएको थियो । प्रतिष्ठानका पधाधिकारी र सालिक निर्माण समितिमा रहेका व्यक्तिको नाम समेत राखियो ।
सालिक निर्माणमा स्थानीय मुर्तिकार गजेन्द्र थापाले ठुलो मेहनत गर्नुभयो । खोलाको ढुंगालाई मुर्तिको आकारमा कुद्न महिनौं श्रम खर्चेका थापाले त्यसको भाउ त्यस बेला ४० हजार तोक्नुभयो । तर उहाँले आधा पैसा चन्दाकै रुपमा छोड्ने वताउनु भएर आधा अर्थात २० हजार मात्र पारिश्रमिक लिनुभएको छ । उहाँ अझै सक्रिय अवस्थामानै भएकाले उहाँ बाट यो कुरा बुझ्न सकिन्छ । उहाँले चन्दाको रुपमा छोडेको २० हजार रुपैयाँ हामीले उहाँको नाम चन्दादाताको रुपमा उल्लेख गरी २० हजार रुपैयाँ चन्दा उपलव्ध गराएको मार्वलमै लेखेर राखेका थियौं । त्यसकारण भिम उपाध्यायले भनेको जस्तो ८ लाख खर्चेको पनि हैन र निशूल्क पनि हैन । यसलाई यसरी वुझौं ।
सालिक बनेपछि हरेक बर्ष लक्ष्मीपूजाको दिन अर्थात देवकोटा जयन्तिका दिन सालिकमा माल्यार्पण गर्ने र साहित्यिक कार्यक्रम गर्न थालियो । कविता वाचन र देवकोटाको व्यक्तित्व तथा कृतित्व बारेमा प्रवचनहरु हुन थाले । हरेक तिहारमा सालिकमा सरसफाई गर्ने र रग्यांउने काम स्थानीय युवाहरुबाट स्वतःस्फुर्त रुपमा हुन थाल्यो र अहिले सम्म पनि निरन्तर हुदै आएको छ ।
बाँकी रह्यो अहिलेको सन्दर्भ । मन्थलीमा देवकोटा चोक नामाकरण यहि सालिकका कारणले भयो । त्यसैले अहिले व्यवस्थित ढलौटको सालिक राख्ने कुरा केहि बर्ष अघि मात्र रामेछापमा प्रमुख जिल्ला अधिकारी भएर आउनु भएका प्रकाश अधिकारी बाट अग्रसरता भयो । अधिकारीले जिल्ला प्रशासन कार्यालयमा बैठक राखेर ढलौटको सालिक राख्ने विषयमा छलफल भयो र खर्चको व्यवस्थापनको कुरा उठ्यो । विभिन्न संघ संस्था र व्यक्तिको सहयोगमा उक्त ढुंगाको सालिकको साटो अर्धकदको ढलौटको सालिक राख्ने कुरा भयो । त्यसका लागि पैसा पनि जोहो भएपछि अहिलेको सालिक ललितपुरबाट खरिद गरेर ल्याइएको हो । पहिलेको भन्दा केहि सानो आकारको जग्गामा अहिलेको सालिक राखेर पहिलेको ढुंगाको सालिक निकालिएको हो । सालिक निकाल्दा चन्दा दाताको नाम र पदाधिकारीको नाम समेत हटाइयो ।
निकालिएको सालिक त्यसै फालिने भएकाले मन्थली माविको आकर्षक पार्कमा लगेर संरक्षण गरी राख्ने काम केहि साहित्य र शिक्षामा रुचि राख्ने साथिहरुबाट भयो । त्यसपछि त्यहिबाट वितिटार लगेर साथिहरुले संरक्षण गरेर राख्नु भएको छ । त्यसमा स्थानीय कला छ, हाम्रो श्रम र पसिना छ, अनि माया पनि छ । यो एउटा ईतिहास पनि हो । त्यसैले कसैले नराम्रो भनोस या खिल्ली उडायोस यसमा सरकारी पैसा केहि पनि नपरेकोले कोहि तर्सिनु पर्ने या डराईहाल्नु पर्ने केहि छैन् । हामी हाम्रो कलालाई सम्मान गर्छौं । जस्तो जान्यौ त्यस्तै राख्यौं । कसैको टाउको नदुखोस ।
लेखक ः टीकाप्रसाद भट्ट