रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ बाबियाखर्कबाट किसानको बारिकान्लाको रुख घाँस चोरेर भाग्दै गर्दा थानापति बाख्रापालन कृषक समुहका संचालक बिकासराज गिरीलाई स्थानियले नियन्त्रणमा लिएका छन् ।
स्थानियले गिरी सँगै डालेघाँस बोक्न प्रयोग गरिएको अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीको बा. ५ ख २०५ नम्वरको ट्रकसमेत नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका हुन् । थानापति बाख्रा पालन कृषक समुहद्धारा मन्थली नगरपालिका वडा नं–८ गाइखुरामा संचालित बाख्राफर्मको लागि रामेछापको बाबियाँखर्कका किसानहरुको डाले घाँस चोरेर ल्याउने क्रममा स्थानीयले गाडी र थानापति कृषक समुहका गिरीलाई नियन्त्रणमा लिएका थिए ।
गिरी आइतवार बिहान झिसमिसेमा स्थानियहरु नउठ्दै गाडी लिएर बाबियाखर्क पुगेका थिए । उनले किसानको बारी डिलमा रहेको डालेघाँस चोरेर ट्रकमा राखेर मन्थलीमा रहेको बाख्रा फर्ममा ल्याउने क्रममा उनी स्थानियको फन्दामा परेका थिए । यसअघि पनि पटक–पटक बाबियाखर्कका किसानहरुको बारी कान्लाबाट डालेघाँस चोरी भएपछि उनीहरुले चोर पत्ता लगाउन निगरानी राखेका थिए । सोही निगरानिको क्रममा सोमवार गिरीलाई स्थानिय किसानहरुले पक्राउ गरे ।
बारीकान्लाको चोरी गरेको घाँस ट्रकमा राखेर हिडेको देखेपछि किसानहरु गाडीको पिछा गर्दै सदरमुकाम मन्थलीसम्म आएका थिए । उनीहरुले चोेरेर ल्याएको घाँस थानापति बाख्रापालक कृषक समूहले बाख्रा पालन ब्यवसाय गरेकोे मन्थली स्थित गाइखुरामा रहेको फार्म नजिक पु¥याएपछि घाँस बोकेको ट्रक समेत नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
बाख्रा फार्म संचालक गिरीले यसपटक बाबियाखर्कका तीनजना किसानको डालेघाँस ल्याएका थिए । गाउँमा रुखघाँस पटक–पटक चोरी भएपछि निगरानी बढाएका थियौं । यसपटक भने घाँस चोर पत्ता लगाएरै छाड्यौं रामेछाप नगरपालिका वडा नं–८ बाबियाखर्कका गोबिन्दबहादुर कार्कीले जानकारी दिए ।
गाउँमा घाँस चोरि भएको हल्ला सुने, मेरो त चोरी भएको छैन होला भनेर बारिमा गएर हेर्दा मेरो पनि पटमिरो र इपिलको घाँस चोरी भएको रहेछ । त्यसपछि घाँस चोरि गरेर हिडेको गाडीको पछि लागेको प्रकाश घिमिरेले बताए । उनले भने– थानापति बाख्रा पालन फार्मका सञ्चालक गिरीले आफ्नो तर्फवाट गल्ती भएको भन्दै अब उप्रान्त यस्तो गल्ती नगर्ने शर्तमा प्रहरीको रोहबरमा बिबाद मिलेको जानकारी दिए ।