रामेछाप –काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान
नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले रक्तदान तथा नयाँ वर्षको क्यालेण्डर बितरण गरेको छ । नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन राजा ज्ञानेन्द्र शाह भन्दा तानाशाही बाटोमा अघि बढेको आरोप लगाए । उनले विकास, पूर्वाधार काम गर्ने भन्दा पनि ओली सरकार बजेट र तयारीबिनै शिलान्यास गर्दै हिँडेको बताए । रिजालले कांग्रेस नेता तथा कार्यकर्ता एकजुट भए मात्र पार्टी बलियो र सांगठानिक रूपमा सशक्त हुने बताए ।
कार्यक्रममा रामेछाप कांग्रेस पार्टी सभापति लवश्री न्यौपाने, पूर्वसभापति रामचन्द्र खड्का, उपसभापति जितेन्द्रकुमार मोक्तान लगायत जिल्ला कार्यसमितिदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । साथै सम्पर्क समितिका पदाधिकारीहरू तथा भातृसंस्थाका पदाधिकारीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । म्याकडोनल क्याफे मध्येबारनेश्वरमा शनिबार नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एक सय ८ प्रिन्ट रगत संकलन भएको सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको सभापति श्रेष्ठले बताए । सो क्रममा कार्यक्रम उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सम्पर्क समितिले गरेको कार्य सराहनीय रहेको बताए ।
कार्यक्रममा रक्तदाताहरूलाई प्रशंसापत्र तथा क्यालेण्डर र अन्य सहभागी सबैलाई नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले निकालेको नयाँ वर्ष २०७८ सालको क्यालेण्डर बितरण गरिएको समितिका सचिव सुकदेव खड्काले जानकारी दिए । सम्पर्क समितिले लकडाउनको अवसरका जिल्लाभर स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै अन्य विभिन्न सामाजिक कार्यकमा सक्रियता देखाउँदे आएको छ ।