रामेछापमा ४० प्रतिशतले धान उत्पादन घट्यो, किसान मारमा

रामेछाप । जिल्लामा गत वर्षको तुलनामा यसवर्ष धान उत्पादनमा ४० प्रतिशतले गिरावट आएको छ । धान उत्पादनमा कमी आएसँगै किसानहरु मारमा परेका छन् ।


किसानहरुले धानको ब्याड राख्ने समयमा कृषि ज्ञान केन्द्र रामेछापले किसानहरुलाई सिफारिस गरेको धान वीउँ गलत भएको कारण यसवर्ष उत्पादनमा कमी आएको हो । रामेछापमा हाइब्रीट (एक्ले धान) सावित्री, शान्ति, मकबानपुरे र ३१२ तराइको क्षेत्रमा हुने धानको वीउँ मध्यपहाडमा र मध्यपहाडको लागि सिफारिस गरिएको धान बीउँ बेसी भु–भागमा लगाउनाले धान उत्पादनमा धेरै कमी आएको कृषी ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ्गले जानकारी दिइन ।

उनले भनिन्– यसवर्ष रामेछापमा ८ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाइएको धान बेमौसमी वर्षाका कारण ३ सय हेक्टर क्षेत्रफलमा क्षती पुर्याएको छ । बाँकी रहेको धानमा मरुवा रोग, कालोपोके र डडुवा रोग जस्ता धेरै प्रकारका रोगहरु लागेका कारण ४० प्रतिशत धान उत्पादनमा गिरावट आएको प्रमुख गुरुङ्गले बताइन ।


धानको ब्याड राख्ने समयमा कृषि ज्ञान केन्द्रसँग परामर्श लिएर धान खरिद गरेर ब्याड राखेका किसानहरुले कृषि प्राविधिकले भनेजती उत्पादन नभएपछि चिन्तित वनेका छन् । यसअघिका वर्षमा बर्षभरी खानपुग्ने धान यो वर्ष घटेपछि कसरी जिविका चलाउने भन्ने चिन्ताले आफुलाई सताएको मन्थली नगरपालिका वडा नं १ का किसान कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने– खेतमा लगाइको धानको विरुवा हेर्दा राम्रो सलसलाउँदो छ । बाला लामा र ठूलो लागेको देखिदा धान निकै फलेको अनुमान गरिएको थियो । तर धान काटेर चुट्दा बाला भित्र दाना नै नलागेको भेटियो । केही वालामा दाना लागेपनि खोस्टा जस्तो मात्रै भएकाले आफ्नो खेतमा गएको वर्षको तुलनमा आधा मात्रै धान उत्पादन भएको श्रेष्ठले बताए ।


रामेछापमा मुख्य गरि धान उत्पादनमा अब्बल मानिएको मन्थली नगरपालिकाको मन्थली फाँट, खाँडादेवी गाउँपालिकाको माडिमुहान फाँट, दोरम्वा गाउँपालिकाको टोकरपुरमा रहेको रजमानटार, लिखुतामाकोशी गाउँपालिकाको खिम्तीवेसी र रामेछाप नगरपालिकाको साँघुटार फाँटमा यसवर्ष धान उत्पादनमा गिरावट आएसँगै किसानहरु मारमा परेका हुन् ।

यसवर्ष खेतमा लगाएको धान उत्पादनमा गिरावट आएपछि कसरी खाद्यान्न पुर्याउने भन्ने चिन्ताले किसानहरुलाई पिरोल्न थालेको किसानहरु बताउँछन् । बिगत वर्षमा खेतमा लगाइको धानले जिवीका चलाउँदै आएका रामेछापका किसानहरु यसवर्ष बच्नको लागि बनीबुत्तो गर्न जानुपर्ने वाध्यता आएको अर्का किसान गोरे माझी बताउँछन् ।


गएको वर्ष रामेछापमा ८ हजार ८ सय १९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २६ हजार ९ सय ८६ मेक्ट्रिक्टन धान उत्पादन भएको थियो । गएको वर्षको अनुपातमा यसवर्ष धेरै धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Facebook Comments Box