रामेछापमा सिटामोलको अभाव

हिमाल ढुंगेल
रामेछाप । ज्वरोका लागि अत्यावश्यक मानिएको औषधि सिटामोल रामेछाप जिल्लामा अभाव हुन थालेको छ । काठमाण्डौं लगायतका शहरमा नै सिटामोल पाइन छाडेकाले जिल्लामा अभाव हुन शुरु गरेको औषधि व्यबसायीहरुले बताएका छन् । जिल्ला भित्र भएका औषधि पसलमा रहेको सिटामोल सकिन लागेको र बाहिरबाट ल्याउन नसकिएकाले अभाव हुन लागेको दिल श्री मेडिकल हल मन्थलीका संचालक मोहोन श्रेष्ठले बताउनु भयो ।
आफ्नो पसलमा सिटामोल किन्न आउने ग्राहकहरुलाई दिन नसकिएको मन्थलीमा औषधि पसल संचालन गर्दै आएका बसन्त सापकोटाले बताउनु भयो । उहाँले मन्थलीका अधिकांश पसलमा अहिले सिटामोल सकिएकाले यस्तो समस्या श्रृजना भएको जानकारी दिनुभयो । रामेछापका गाउँ गाउँमा पनि अहिले सिटामोल अभाव भएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा ज्वरोका विरामी बढेसंगै सिटामोल पाउन छाडेपछि सर्वसाधारणमा त्रास बढेको छ ।
रामेछाप जिल्लामा अधिकांश औषधिहरु काठमाण्डौंबाट ल्याइने गरिएको छ । जिल्लाको थोक औषधि विक्रेता मोहोन श्रेष्ठ आफुहरुले औषधि ल्याउने ठाउँमा नै सिटामोल सकिन लागेको भन्दै औषधि पठाउन छाडेपछि जिल्लामा सिटामोलको अभाव हुन थालेको बताउनु हुन्छ । यता तामाकोसी अस्पतालले भने आफ्नो अस्पतालमा आएका विरामीहरुलाई अहिले सम्म सिटामोल दिन सकिएको भएपनि बजारमा भने अभाव भएकोले अब भने अस्पताललाई पनि समस्या पर्ने अस्पतालको फार्मेशिमा कार्यरत मिना थापाले बताउनु भयो ।

Facebook Comments Box