रामेछाप । जिल्लामा पहिलो पटक जिल्ला स्तरीय साहसिक एवं पर्यटकीय खेल “टग अफ वार” (तान डोरी) प्रतियोगीता हुने भएको छ ।
सो कुराको जानकारी जिल्ला खेलकुद विकास समिति रामेछापले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जनाएको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समितिको आयोजनामा यहीँ फागुन २९ गते शनिवार सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितिको खेलमैदानमा उक्त प्रतियोगीता हुने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।
उनले भने– जिल्लाको लागि एकदमै नयाँ र नौलो यो गेम पहिलो पटक संचालन गर्दै छौं । यो खेल एकदमै साहसिक र पर्यटकीय खेलभित्र पर्ने भएकाले बागमती प्रदेश खेलकुद विकास समितिले रामेछापलाई प्रदान गरेको १ लाख ३५ हजार रुपैयाँ बजेटवाट यो खेलकुद प्रतियोगीताको आयोजना गरिएको हो । खेलकुद प्रतियोगीतामा जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी आठवटा टिमको सहभागीता हुने समितिका अध्यक्ष श्रेष्ठले बताए ।
जिल्लामा पहिलो पटक हुने उक्त खेलुकद प्रतियोगीतामा उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी ख्क रामेछाप उद्योग वाणिज्य संघ बिच टग अफ वारको मैत्रीपूर्ण प्रर्दशन खेलको व्यवस्थापन गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति रामेछापका प्रमुख केशब कटेलले जानकारी दिए ।
जिल्ला समन्वय समितिको खेलमैदानमा शनिवार हुने तान डोरी प्रतियोगीताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला खेलकुद विकास समिति रामेछापकी सदस्य सिता केसीले जानकारी दिइन । उनले भनिन्– प्रतियोगीतामा सहभागी हुने विजेता र उप–बिजेता टिमले शिल्ड, मेडल, प्रमाण–पत्र र नगद पुरस्कारको समेत व्यवस्थापन गरिएको छ ।
जिल्लामा हुने ऐतिहासिक र नयाँ खेल तान डोरी प्रतियोगीतामा सहभागी भएर खेलकुदको मनोरञ्जन लिनुहुन सबै जिल्लावासी, खेलकुद प्रेमीहरुलाई जिल्ला खेलकुद विकास समिति रामेछापले अनुरोध समेत गरेको छ । जिल्ला खेलकुद विकास समितिले विश्वभर फैलिएको कोरोना महामारीका कारण कुनै खेलकुद प्रतियोगीता गर्न सकेको थिएन । हाल नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या घट्दै गएको र कोरोना विरुद्धको खोप अभियान समेत जिल्लामा संचालन भएपछि खेलकुद विकास समितिले खेलकुद प्रतियोयीताहरु संचालन गर्न लागेको हो ।