रामेछापमा अब कडाइको साथ नियमित बजार अनुगमन
रामेछाप । रामेछापमा अब नियमित बजार अनुगमन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जिल्लामा रहेका सबै साना तथा ठुला बजारहरुको अनुगमन गर्ने भएको हो । बिहिबार बसेको जिल्ला अनुगमन समितिको बैठकले जिल्लामा रहेको सबै बजार क्षेत्रको अनुगमन कडाइको साथ गर्ने निर्णय गरेको हो । सदरमुकाममा रहेको मन्थली बजार सहित तिन दर्जन भन्दा बढी बजारहरुको कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, सम्बन्धीत स्थानिय तह, करदाता सेवा कार्यालय, नेपाल पत्रकार महासंघ, उद्योग बाणिज्य संघ र उपभोक्ता संरक्षण मञ्च सहित जिल्ला प्रशासन कार्यलय रामेछाप र घरेलु तथा साना उद्योग कार्यालय रामेछापले बजार अनुगमन गर्न लागेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले जानकारी दिए । सदरमुकाम मन्थली सहित मन्थली नगरपालिकाको सबै वडामा रहेको साना तथा ठुला बजारमा समितिले हार्डवयर,खाद्यन्न तथा किराना, कस्मेटिक तथा इलेक्ट्रोनिकस, फेन्सी तथा कपडा, होटल तथा खाजाघर र स्टेशनरी तथा वर्कशप साथै सुन पसलहरु निरन्तर तथा आवश्यकता अनुसार बजार अनुगमन गर्ने छ । जिल्लाको रामेछाप नगरपालिकामा रहेको रामेछाप, ओख्रेनी, साँघुटार र रामपुर, लगाएत बजारको आर्थिक वर्ष २०७८÷०७९ भित्र कम्तिमा २ पटक र आवश्यक्ता अनुसार जुनसुकै समय अनुगमन गर्ने बताएको छ ।
त्यस्तै गरी गोकुलगंगा गाउँपालिका अन्तगत रहेको नमाडी, बेताली, रस्नालु, ठोसे, सिवालय बजार लिखुतामाकोशी गाउँपालिकामा रहेको धोवी,ढाडे सिरिसे, खिम्ति,बजार खाँडादेवी गाउँपालिकामा रहेको गाल्पा, सित्खा,माडीमुहान,गोगनपानी,बजार दोरम्बा गाउँपालिका अन्र्तगत रहेको दोरम्बा, टोकरपुर बजार सुनापतीमा रहेको लुभुघाट, साधीडाडा बजार र उमाकुण्ड गाउँपालिकामा रहेको बाम्ती, प्रिती च्यादलु देउराली,लगाएत सबै बजारहरु भने एक पटक अनिवार्य रुपमा अनुगमन गर्ने जनाएको छ । दशै तिहार जस्ता पर्व नजिकिएकोले म्याद गुर्जेका समानहरु बिक्रि बितरण गर्ने र उपभोक्ताहरु समस्यामा पर्ने भएकोले अनुगमन गर्ने निर्णय गरिएको बताएको छ । साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनु पर्ने सुरक्षा मापदण्ड पालना भए नभएको विषयमा कडाईका साथ अनुगमन गर्न समेत बैठकले निर्देशन गरेको छ ।