मोबाइलले खोल्दा मुना कार्कीको हत्या रहस्य ?

काठमाडौं । केहि महिना अघि आफ्नै घरेलु सहयोगीबाट पूर्वसचिव अर्जुन कार्कीको श्रीमति मुना कार्की अधिकारीको हत्या भएको थियो । ललितपुर सानेपास्थित निवासमा आफ्नै घरेलु सहयोगीबाट भएको भनियको घटना रहस्य बन्दै गएको छ ।
अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरू घटनास्थलमा मुना र विजय चौधरी बाहेक तेस्रो व्यक्तिको प्रवेश नभएकोमा विश्वस्त छन् । घटनाको समयमा घरमा पालेको जर्मन सेर्फड जातको कुकुर पनि घर परिसरमै डुलिरहेको थियो । विजयले मुनाको हत्या गरेर आफूले आत्महत्या गरेकोमा कुनै शंका छैन’, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राई भन्छन्, ‘तर विजयले किन यसो गरे, कारणको खोजीमा हामी जुटेका छौं ।’
उनले घटनास्थलबाट बरामद सबुत प्रमाणहरूको प्राविधिक अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको बताए । अहिले प्रहरीले मुना र विजय दुवैको मोबाइल फोन परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । ‘यसबाट थप तथ्य खुल्न सक्ने हाम्रो आशा छ’, राई भन्छन् । एसएसपी राईका अनुसार विजयको मृत्यु श्वासप्रश्वास बन्द भएकाले र मुनाको मृत्यु गम्भीर चोटका कारण भएको हो । यद्यपि बिहीबारसम्म पाटन अस्पतालले दुवैको पोष्टमार्टम रिपोर्ट भने प्रहरीलाई दिएको छैन । प्रहरीका अनुसार, २०४८ सालमा अर्जुन र मुनाको विवाह भएको हो । दुवैका तीन सन्तान छन् । दुई छोरी विदेशमा बस्छन् । छोरा भने उनीहरूसँगै थिए ।
घटना अघि विजयको मनस्थिति
घटना भएको दिन पूर्वसचिव अर्जुन कार्की बिहान पशुपतिनाथको दर्शनका लागि गए । छोरा स्कूल गएपछि घरमा घरेलु सहयोगी विजय र मुना मात्र थिए । प्रहरीले कार्कीको घरमा रहेका चार थान क्लोज सर्किट क्यामेरामा कैद दृष्यको विश्लेषणमा त्यो दिन विजयमा केही छटपटी भएको निष्कर्ष निकालेको छ । कार्कीको घरको भान्सा कोठा बाहिर राखिएको क्यामेराले भान्सा कोठाको एउटा भागको दृष्य कैद भएको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार क्यामेरामा कैद भिडियोका अनुसार १० बजेर ८ मिनेटमा मुना किचनमा काम गरिरहेको देखिन्छ । यही समयमा विजय धेरै पटक उनको नजिक ओहोरदोहोर गरेको देखिन्छ । त्यसको केही समयमा मुना झ्यालतर्फ विपरीत दिशामा फर्किएको बेला पछाडिबाट विजयले डोरीले घाँटीमा बाँधेर मुनालाई भुईंमा लडाएको देखिन्छ ।
त्यसपछि भान्सामै रहेको पिर्काले उनलाई अन्धाधुन्ध प्रहार गरे ।

त्यसपछिको १० मिनेटको भिडियोमा केही देखिंदैन । दुवै भुईंमा रहेकाले सीसीटीभीले यसपछि दृश्य कैद गर्न नसकेको हो । ‘विजयको मनमा केही योजना भएको उसको हाउभाउले देखाउँछ’, परिसरका अपराध अनुसन्धान शाखा प्रमुख डीएसपी सन्तोष तामाङ भन्छन्, ‘मुना भान्सामा छिरेपछि पनि ऊ वरिपरी घुमिरहेको दृष्यमा देखिन्छ ।’ पूर्वसचिव कार्की ११ बजेर २० मिनेटमा घर फर्कंदा विजय लडिरहेका थिए । उनको वरिपरी रगतले बनाएका पाइतालाका डोबहरू थिए । श्रीमती मुना भान्सा कोठामा रगताम्य थिइन् ।
कार्की प्रसादको पोका त्यहीँ फ्याँकेर चिच्याउँदै बाहिर आए । हारगुहार गर्दा केही सेकेण्डमै छरछिमेक भेला भए। कसैले प्रहरीलाई खबर गरे । एकैछिनमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुग्यो । चिकित्सक सहितको टोली लिएर प्रहरी घटनास्थल पुग्दा मुना गम्भीर घाइते थिइन् । उनलाई तत्काल एम्बुलेन्स मगाएर नजिकैको स्टार अस्पताल पठाएर प्रहरी घटनास्थलको मुचुल्का बनाउन थाल्यो । प्रहरीले मुना लडिरहेको स्थानमा टुक्राटुक्रा भएका प्लाष्टिकको पिर्का र नाइलनको डोरीको गुजुल्टो फेला पा¥यो । डाइनिङ हलको टेबलमा केही पैसा, दुई वटा कैंची, एउटा डोरीको सानो टुक्रा लगायत सामग्री पनि फेला परेका थिए । भान्सामा रगतका टाटाहरू यत्रतत्र देखिए ।
प्रहरीले विजयको शव मुचुल्कामा उनको घाँटीमा चुँडिएको नाइलनको डोरी फेला पार्यो । यस्तै उनको शरीरका अन्य भागमा कुनै चोट पटक थिएन, दुवै घुँडामा बजारिएको जस्तो घाउ र कट्टुमा वीर्य चुहिएको भेटियो । यस्तै मुनाको टाउकोमा धेरै ठाउँमा घाउ र बायाँ स्तनमा धेरै पटक प्रहार गरे जस्तो चोट देखिएको थियो । ‘विजयको भित्री बस्त्रमा वीर्य भेटिएको हो’, एसएसपी राईले भने, ‘तर, आत्महत्याको अधिकांश घटनामा वीर्य भेटिन्छ ।’
हिमाल खबर पत्रिकाबाट

Facebook Comments Box