माझी समुदाय आन्दोलित

रामेछाप । रामेछाप र छिमेकी जिल्ला सिन्धुलीको संडम स्थलमा निमार्ण हुन लागेको सुनकोशी मरिन डाइभर्सन आयोजनाले जग्गा अधिग्रहण र मुआब्जाको बिषयलाई टुङ्गो नलगाई काम शुरु गर्न लागेको भन्दै प्रभावित क्षेत्रका माझी समुदाय आन्दोलित भएका छन् ।
निमार्णाधिन सुनकोशी मरिन डाइभर्सन आयोजनाले प्रभावित हुने स्थानीय नागरिकहरुसँग कुनै पनि समन्वय र सहकार्य नै नगरी एकलौटी ढङ्गले आयोजनाको काम शुरुवात गरेको भन्दै स्थानिय माझी समुदायहरु आन्दोलित भएका हुन् । माझी समुदायले प्रभाबित क्षेत्रमा पर्ने रामेछाप र छिमेकी जिल्ला सिन्धुलीका नागरिकहरुले आफ्नो हक र रक्षा गरिदिन शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका छन् ।
रामेछापका माझी समुदाय स्थानिय आदिवासीको धार्मिक र सांस्कृतिक पक्षलाई बेवास्ता गर्दै आयोजना निमार्णको कामलाई अघि वढाएको भन्दै आन्दोलित भएका हुन् । माझी समुदायले आयोजना कार्यान्वयन गर्न अन्तराष्ट्रिय श्रम संगठनको महासन्धि १ सय ६९ अनुसार आदिबासी जनजाती हितसम्बद्ध अन्तराष्ट्रिय सम्झौता पालना गरि काम गर्न आग्रह गरेका छन् ।