माझी समुदायको महानपर्व नदी (लदी) पूजा शुरु

रामेछाप । माझी समुदायको महानपर्ब नदी (लदी) पूजा मंगलवार बाट शुरु भएको छ । माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो (साहिली) मंगलवार बिशेष पर्बको रुपमा लिई यो पर्ब मनाउने गरेका छन् ।
रामेछापको तामाकोशी नदी किनार, सुनकोशी नदी किनारमा बसोवास गर्ने माझी समुदायले आज छिनारी (मसान) को नाममा पाठी, कुखुराको वली दिएर यो पर्व मनाएका हुन् । मन्थली नगरपालिका वडा नं–८ गाईखुराका माझी समुदायले तामाकोशी नदी छेउमा रहेको मंगलादेवी र जलदेवीका नाममा पाठी र कुखुराको वली चढाएर नदीको पूजा गरेका छन् ।
माझी जातीको नदीसँग मामा भान्जाको नाता भएकाले बर्षेनी नदीलाई पूजा गर्नुपर्ने उनीहरुको बिशेषता रहि आएको छ । माझी समुदायको मुख्य पेशा भनेकै नदीमा ढुङगा तार्ने, माछा मार्ने रहदै आएको छ । नदीमा सधै माछा मार्न जानु पर्ने र डुङ्गा तार्दा नबगाओस् भन्ने हेतुले बर्षेनी माझी समुदायले कोशीको पूजाआजा गर्दै आएको मन्थली नगरपालिका वडा नं–८ गाईखुराका बालकृष्ण माझीले जानकारी दिए ।
उनले भने– माझी समुदायले पुस्तौदेखी मनाउँदै आएको कोशी पुजा अहिलेको युवा पुस्ताले पनि निरन्तरता दिनु पर्छ भन्ने हेतुले अहिलेको युवा पुस्ताहरु पनि यो पेशालाई जोगाउन लागि परेको बताए । माझी समुदायले यस पर्बलाई महानपर्वको रुपमा मनाउँदै आएकोमा राज्यले पनि कोशी पूजाको दिन सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गरे ।
वर्षेनी नदीले विभिन्न स्थानमा मानविय, भौतिक र आर्थिक क्षती पुर्याउँदै आएकोमा त्यस्ता खालका मानविय क्षती नहोस् भन्ने हेतुले पनि बर्षेनी कोशी पूजा गरिदै आएको मन्थली नगरपालिका वडा नं–८ गाईखुराका माझी समुदायका पूजारी सेते माझीले जानकारी दिए । उनले भने– माझीहरु रातदिन नदीमा नै भरपर्नु पर्ने भएकाले रातको समयमा मसानले दुःख नदिओस् र दिनमा माछा मार्दा वा डुङ्गा तार्दा मान्छेलाई नबगाओेस् भन्दै नदीलाई पूजा गर्ने गरिएको पूजारी माझीले बताए ।
रामेछापको सुनापती गाउँपालिका, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका, मन्थली नगरपालिका, लिखुतामाकोशी गाउँपालिकाको कोशी किनारमा पुस्तौ देखी माझी समुदायको बसोबास रहदै आएको छ । माझी समुदायले आज विभिन्न क्षेत्रमा छुट्टा–छुट्टै आयोजना गरि कोशी पूजा गरेका छन् ।
नदीको पूजा गर्दा माझी समुदायले जाँड र पूजा गरेको कुखुरा पाठीको मासु खाएर रातभर नाचगान गर्ने र भोलीपल्ट (वुधवार) बाधा फुकाएर विधिवत् रुपमा विर्सजन गर्ने चलन रहेको छ । ७७ जिल्लाहरु मध्ये ६८ जिल्लामा माझी समुदायको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालभर माझी समुदायको जनसंख्या ८३ हजार ७ सय २७ रहेको छ । जसमध्ये रामेछापमा मात्रै माझी समुदायको संख्या ६ हजार ४२ रहेको छ । सरकारले माझी समुदायको नदी पूजाको दिन माझी समुदायलाई सार्वजनिक बिदा दिएको छ ।