माझी समुदायको आयआर्जनको लागी स्वीटर बनाउने तालीम

रामेछाप । रामेछाप नगरपालिकाले सिमान्तकृत माझी समुदायका नागरीकहरुको आयआर्जनको बृद्धी गराउने उदेश्यले स्वीटर बनाउने तालीम शुरु गरेको छ । रामेछाप नगरपालिकाको आर्थिक सहयोगमा ग्रामिण विजनेश प्रमोशन प्रालिले रामेछाप नगरपालिका वडा नं ५ रामपुरको कोलोञ्जोरघाटमा तालीम शुरु गरेको हो ।
तालिमको शुक्रबार उद्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले माझी जातीको धेरै बसोबास रहेको रामपुरको कोलोञ्जोरघाटका माझीहरुको आयआर्जनमा सहयोग पुग्ने गरी स्वीटर बनाउने (मेसिन होजियारी) र माछा पालनको लागि आवश्यक पर्ने सीप विकास तालिम संचालन भइरहेकाले दुबै तालिममा सक्रिय सहभागी भएर आफ्नो सीप बढाउन आग्रह गरेका छन् ।
प्रमुख थापामगरले रामेछाप नगरपालिकामा रहेका सिमान्तकृत माझी जाति, लोपउन्मुख हायु जाति र पिछाडी पारिएका विभिन्न समुदायको लागि नगरपालिकाले सीप सिकाउने देखि व्यवसाय मार्फत आयआर्जनको लागि समेत सहयोग गर्दै आएकाले त्यसले पनि व्यवसाय गर्न इच्छा हुने नागरिकहरुलाई सहयोग पुग्ने बताए ।
रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष भिम बहादुर तामाङले स्वीटर बनाउने (मेसिन होजियारी) तालिम सिकेर गाउँमै स्वीटर उत्पादन गर्न सके त्यस्ता सामग्री वडा कार्यालयले बजार सम्म लैजन सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा रामेछाप नगरपालिकाको उद्योग शाखाका प्रमुख हरीभगत श्रेष्ठ,ग्रामिण विजनेश प्रमोशन प्रालिका कार्यक्रम संयोजक युवराज सुवेदी, उद्यम विकास सहजकर्ता मनिसा सुवेदी,पत्रकार लगायतको उपस्थिती रहेको थियो । रामेछाप नगरपालिकाले यस वर्ष गरिवी निवारणका लागि लघु उद्यम कार्यक्रम मार्फत वडा नं ७ को विर्तामा ४२ जना र वडा नं ५ कोलोञ्जोर घाटमा ३८ जना नयाँ उद्यमी उत्पादन गर्ने गरि दुई वडा छनौट गरेर काम गरीरहेको छ ।