प्रेसर हर्न बजाए ठाउँकाठाउँ कारबाही

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जिल्लाको सदरमुकाम मन्थली बजार क्षेत्रलाई प्रेसर हर्न निषेध गरेको छ ।
मन्थली नगरपालिकाको वडा नं–१ भैसेश्वर चोक देखी देवकोटाचोक हुँदै आकाशेको पुलसम्म प्रेसर हर्न बजाउन निषेध गरिएको छ । सवारी तथा ढुवानीका साधनले बजाउने प्रेसर हर्नबाट हुने ध्वनी प्रदुषणले सम्वेदनशिल विद्यालय, स्वास्थ्य संस्था लगायत व्यस्त बजार क्षेत्रमा पनि असर गर्ने भएकाले बजार क्षेत्रभित्र सवारी साधनलाई प्रेसर हर्न बजाउन निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले जानकारी दिए ।
ट्राफिक प्रहरीले करिब दुई साता अघिदेखि सवारी चालकहरुलाई बजार क्षेत्रमा प्रेसर हर्न नबजाउन सुझाव दिँदै आएपनि सवारी चालकहरुले अटेर गरेपछि सोमबार बाट कडाईका साथ बजार क्षेत्र भित्र सवारी साधनहरुलाई प्रेसर हर्न बजाउन निषेध गरिएको हो । अब पहिलाको जस्तै गरि ट्याट्या र टुईटुई पार्दै कुदने ट्रक, ट्रिपर, बस र ट्याक्टर लगायतका सवारी साधनहरुले बजार क्षेत्रभित्र प्रेसर हर्न बजाउन पाउने छैनन् ।
चालकहरुले नियम मिचेर निषेधित क्षेत्रमा प्रेसर हर्न बजाएमा जरिवाना बापत ५ सय देखी १ हजार ५ सय रुपैयाँसम्म जरिवाना ठाउँकोठाउँ तिर्नु पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।