मन्थली नगरपालिकाले लोकसेवा तयारी कक्षा संचालन गर्दै

रामेछाप । मन्थली नगरपालिकाले १५ दिने निःशुल्क लोकसेवा तयारी कक्षा संञ्चालन गर्ने भएको छ । लोकसेवाद्धारा लिइने प्रश्नावली समेटेर नगरपालिकाले नायव सुब्बा र खरिदारको लागि तयारी कक्षा सञ्चालन गर्न लागेको हो । पालिकाले सञ्चालन गर्न लागेको तयारी कक्षाको लागि आफ्नो पालिका भित्र रहेका युवायुवतीले उक्त कक्षामा सहभागी हुन पाउने गरि सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
नगरपालिकाले संचालन गर्न लागेको लोकसेवा तयारी कक्षामा महिला, आदिवासी, जनजाती र दलित समुदायका नागरिकहरुले सहभागीता जनाउन पाउने भएका छन् । तयारी कक्षामा सहभागीता जनाउन इच्छा हुनेले मन्थली नगरपालिकामा निवेदन दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ । नगरपालिका भित्र रहेका १४ वटै वडाका नागरिकहरुले तयारी कक्षाको लागि सहभागीता जनाउन पाउने भएता पनि निवेदन परेका व्यक्तिहरु बिच प्रतिस्पर्धा गराई सहभागि छनौट गराएर मात्रै तयारी कक्षा संचालन गरिने मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए ।


यसैगरी रामेछाप नगरपालिकाले पनि १५ दिने निःशुल्क तयारी कक्षा सञ्चालन गर्दै आएको छ । पछिल्लो समय युवायुवतीहरु स्थायी जागिरको लागि लोकसेवामा प्रतिस्पर्धा गर्ने संख्यामा बृद्धि भएसँगै नगरपालिकाहरुले पालिका भित्र रहेका युवायुवतीलाई लोकसेवाको तयारीको लागि निःशुल्क कक्षा सञ्चालन गराएर परिक्षा दिन पठाउँदै आएको छ ।
अघिल्लो वर्षहरुमा पनि यसैगरी स्थानिय तहहरुले लोकसेवाको तयारी कक्षामा संचालन गर्दै आएका थिए । तयारी कक्षामा सहभागीता जनाएर परिक्षा दिन जाने धेरै युवायुवतीहरुले लोकसेवा आयोगमा नाम निकालेर स्थायी रुपमा जागिर खान थालेका छन् । पछिल्लो समय रामेछापका युवायुवतीहरुमा स्थायी जागिरप्रति आकर्षण बढ्दो छ ।

Facebook Comments Box