मन्त्रीले उद्घाटन गरेको ल्याब एक महिनापछि संचालनमा

रामेछाप । बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवाल (क्षेत्री)ले उद्घाटन गरेर छाडेको जिल्ला अस्पताल रामेछापको पिसिआर ल्याव एक महिनापछि मंगलवारबाट संचालनमा आएको छ ।
प्रदेश सरकारले गएको साउन महिनामा उपलव्ध गराएको उक्त पिसिआर ल्याव संचालनमा नआउँदै मन्त्री कटुवालले कार्तिक ६ गते रामेछाप आएर हतारहतारमा रिबन काटेर उद्घाटन गरेर फर्किएका थिए । मन्त्रीले जिल्ला अस्पतालमा पिसिआर ल्यावको उद्घाटन गरेपनि संचालन गर्ने दक्ष जनशक्ति नहुँदा उक्त पिसिआर ल्याब एक महिनादेखी थन्किएर बसेको थियो ।
मन्त्रीले ल्याब उद्घाटन गरेको एक महिनापछि प्रदेश सरकारले जनस्वास्थ्य प्रयोगशाला बाट २ जना दक्ष जनशक्ति पठाएपछि उक्त ल्याब संचालनमा आएको हो । पिसिआर ल्याबमा हरेक पटक ९६वटा गरि दैनिक १२ पटकसम्म परिक्षण गर्न मिल्ने क्षमताको मेसिन जडान गरिएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
रामेछापमा कोरोना बिरामीको संख्यामा बृद्धिभएसँगै स्वाब परिक्षणका छिमेकी जिल्ला वा राजधानी पठाउनुपर्दा रिर्पोट आउन धेरै दिन लाग्ने नागरिकहरुले हैरानी व्यहोर्दै आएपछि प्रदेश सरकारले जिल्ला अस्पताल रामेछापलाई गत असोज महिनामा पिसिआर ल्याव परिक्षण जिल्लामा हुने गरि पिसिआर ल्याब उपकरण प्रदान गरेको थियो ।
पिसिआर ल्याबको सबै उपकरण जिल्लामा आएर जडान हुँदा समेत संचालनमा आउन नसक्दा कोरोना लागेका वा कोरोनाको मिल्दोजुल्दो शंका लागेका रामेछापका नागरिकहरुको स्वाब परिक्षणका लागि स्वास्थ्यकर्मीहरुले छिमेकी जिल्ला काभ्रे, दोलखा, सिन्धुली कित राजधानी नै पठाउँदै आएका थिए ।
जिल्लामा ल्याब भएर पनि दक्ष जनशक्तिको अभावमा संचालनमा नआउँदा धेरै नागरिकहरले दुःख पाएको बिषयलाई लिएर पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दा बल्ल दक्ष जनशक्ती प्राप्त भएकाले ल्याब संचालनमा ल्याइएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रीनले जानकारी दिए ।
उनले भने– पहिला जिल्लामा कोरोना महामारी बढेसँगै पिसिआर परिक्षण गर्न बाह्य जिल्लाको भर पर्नुपर्ने वाध्यता थियो । जिल्लावाट पिसिआर गरेर संकलन गरिएको स्वाबको रिर्पोट आउन तीनदिन देखी एक हप्तासम्म बिरामीले कुर्नुपर्ने वाध्यता थियो । ढिलै भएपनि प्रदेश सरकारले दक्ष जनशक्ती पठाएर ल्याब संचालनमा ल्याएका छौं । कोरोना शंका लागेका नागरिकहरुले अब जिल्लामा नै पिसिआर ल्याबको रिर्पोट ५ देखी ६ घण्टाभित्रै प्राप्त गर्न सकिने अध्यक्ष पाख्रीनले बताए ।
जिल्लामा नै पहिलो पटक कोरोना बिरामीहरुको स्वाब परिक्षणको लागि ल्याब संचालनमा आउँनु सुखद कुरा हो । अब नागरिकहरुले पहिलाको जस्तो दुःख पाउन बाट मुक्ती मिलेको नागरिक समाजका अगुवा एंब तामाकोशी अस्पतालका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए ।
उनले भने– जिल्लामा पिसिआर ल्याब संचालन नहुँदा कोरोना लागेका र शंका भएका व्यक्तिको स्वाब संकलन गरेर पठाएको रिर्पोट कुर्दाकुुर्दै बिरामीले ज्यान नै गुमाउनुपर्ने अवस्था समेत सिर्जना भएको थियो । ढिलै भएपनि जिल्लामा ल्याब संचालन भएपछि आम रामेछापबासीमा खुशियाली छाएको अध्यक्ष घिमिरेले बताए ।