भूमिगत रहेका विप्लव सार्वजनिक, उच्च सुरक्षाका साथ काठमाण्डौं आउँदै

रामेछाप । २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएपछि भूमिगत रुपमा रहेका नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् ।
सरकारले प्रतिवन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द नवलपरासि (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्बजनिक भएका हुन् । बिहिवार सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हन् ।
विप्लव नवलपरासिको पहाडी क्षेत्रवाट आज बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेर सार्वजनिक भएका हुन् । देवचुलीमा सार्वजनिक भएसँगै उनले शहीद परिवारसँग भेटघाट गरेका थिए । शहीद परिवारसँग भेटघाटपछि चन्द प्रहरीको उच्च सुरक्षाका साथ काठमाण्डौं प्रस्थान गरेको प्रहरीले जनाएको छ ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिच वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उनी नवलपुरको दलदलेबाट काठमाण्डौं प्रस्थान गरेका हुन् ।