भूमिगत खानेपानी उद्घाटन

रामेछाप । रामेछाप नगरपालिका वडा नं–७ सुकाजोरमा निमार्ण सम्पन्न भएको भूमिगत खानेपानी आयोजनाको बुधवार एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ । उक्त भूमिगत खानेपानी आयोजनाको कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख नरवहादुर थापामगरले उद्घाटन गरेका हुन् । परम्परादेखी नै कालिकुवाको पानी उपभोग गर्दै आएका सुकाजोरका नागरिकहरुले २०७२ सालको विकासकारी भुकम्पका कारण उक्त कुवाको पानीको मुल सुकेपछि खानेपानीको अभाव झेल्दै आएका थिए । खानेपानी अभाव झेल्दै आएका त्यस गाउँका उपभोक्ताहरुलाई पिउने पानीको प्रवन्ध मिलाउन नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ बाट उक्त आयोजना संचालन गरेको थियो ।
कालिकुवा पधेँराका पानी सुकेपछि अन्यत्र खानेपानीको मुल नहुँदा त्यस गाउँका नागरिकहरु खानेपानीको हैरानी खेप्न विवश थिए । त्यस गाउँमा खानेपानीको मुहान नभएपछि जमीनमा दबिएको पानी २ सय ५९ मिटर तलवाट विद्युतीय माध्यमवाट तानेर पानी जमीन माथि निकालीको छ । उक्त योजना संचालनको लागि रामेछाप नगरपालिकाले १ करोड १२ लाख ५६ हजार ७ सय २६ रुपैयाँको लागतमा योजना सम्पन्न गरेको हो ।
खानेपानी आयोजना संचालन गरेको लामो समयसम्म वजेट अभावमा अलपत्र परेको उक्त योजनालाई रामेछाप नगरपालिकाले क्रमागत रुपमा रकम विनियोजन गरेर योजना सम्पन्न गरेको छ । जमीन मुनीको पानी जमीन माथि निकालेर विद्युतीय माध्यम मार्फत भालुखोप डाँडामा निमार्ण गरिएको रिर्जभ ट्याङ्कीमा पानी जम्मा गरेर सुकाजोरका करिव ७ सय घरधुरी उपभोक्ताहरुलाई पानी वितरण गरिने भएको छ ।
उक्त खानेपानी योजनाको उद्घाटन कार्यक्रम कालि कुवा डिप वोरिङ्ग लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीवहादुर कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रामेछाप नगरपालिकाकी उप–प्रमुख सिर्जना खड्का, नेपाल पत्रकार महासंघ राष्ट्रिय सभा सदस्य टीकाप्रसाद भट्ट, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएतका वक्ताहरुले आआफ्नो धारणा राखेका थिए ।
गाउँका खानेपानीको चरम समस्या झेल्दै आएका उपभोक्ताहरुलाई धेरै दुःख कष्टका साथ खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको रामेछाप नगरपापालिका वडा नं–७ सुकाजोरका वडा अध्यक्ष समिर कार्कीले बताए ।

Facebook Comments Box